२३ असार २०८३, मंगलबार
संकटमा राष्ट्रसेवकको भूमिका

कोरोना संक्रमणको यो महामारीमा राष्ट्रसेवक कर्मचारीले गर्नैपर्ने १० काम

बैशाख ५, २०७७
कोरोना संक्रमणको यो महामारीमा राष्ट्रसेवक कर्मचारीले गर्नैपर्ने १० काम

कोरोनाभाइरसको संक्रमणले विश्वव्यापी त्रास निम्त्याएको छ । नेपालमा लकडाउन जारी भएको पनि हप्तौं भैसक्यो । यस अवधिमा राष्ट्रसेवक चिकित्सक र स्वाथ्यकर्मीले अस्पतालमा र प्रहरीले सडक लगायतमा खटिएर जनताको सेवा गरिरहेका छन् । यस्तो सेवाको चौतर्फी तारिफ पनि भएको छ । अन्य राष्ट्रसेवक कर्मचारी पनि नीति निर्माण, कामको व्यस्थापन र सहयोगीको भूमिकामा रहेका छन् ।

संघीय मन्त्रालयका सचिव तथा विभागका महानिर्देशक लगायतका केन्द्रका कर्मचारी कोरोना संक्रमण नियन्त्रणको नीति निर्माण, औषधि लगायतका उपकरण व्यवस्थापन र आपूर्ति व्यवस्थापन गर्न तथा बाह्य सहयोग जुटाउन मन्त्रीहरूलाई सघाइरहेका छन् । यसैगरी प्रदेश सरकार र स्थानीय सरकारमा रहेका कर्मचारीले पनि संक्रमण नियन्त्रणको कार्यक्रम सञ्चालन गर्ने, क्वारेन्टाइनको व्यवस्थापन गर्ने जस्ता काममा संलग्न रही आएका छन् । यसैगरी प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लास्तरीय कर्मचारी पनि जनताको सेवामा दत्तचित्त छन् । उनीहरूले जनप्रतिनिधिहरूलाई आ–आप्mनो क्षेत्रबाट सघाइरहेका छन् । 

यस विषय परिस्थितिमा निजामती, सेना, प्रहरी, शिक्षक लगायतका समस्त राष्ट्रसेवक कर्मचारीहरूले उच्च मनोबलका साथ मन, वचन र कर्मले मुलुक र मुलुकवासीको सेवामा आप्mनो ज्यानको बाजी लगाएर अनवरत सेवामा जुट्न केही उत्प्रेरणाका टिप्स प्रस्तुत गर्न चाहन्छु ।

१. स्वउत्प्रेरित हुने 

शिक्षा मनोविद् रुसोका अनुसार मानिसले अनुभवबाट सिक्छ । यसैगरी प्याभलकका अनुसार मानिसले गल्तीबाट पनि सिक्छ । साथै, किम्बलका अनुसार अन्तरदृष्टिबाट र यङका अनुसार प्रेरणाबाट सिक्छ । यस अतिरिक्त एलिस क्रोका अनुसार मानिस स्वयं जागरुक भएर सिक्छ । नेपालमा कहिल्यै अनुभव नगरिएको कोरोनाको त्रास विरुद्ध पनि आम राष्ट्रसेवक कर्मचारी स्वउत्प्रेरित भै यस कामका सफल हुनुपर्छ । 

२. थ्री एचको सिद्धान्त प्रयोग गर्ने 

थ्री एचको अर्थ हेड, हार्ट र हायण्ड हो । यसर्थ आम कर्मचारीले कोरोनाबाट आम जनतालाई बचाउन राम्ररी दिमाग खियाएर काम गर्नुपर्छ । कोरोनाजस्तो शक्तिशाली शत्रुलाई कम आँक्नु हुँदैन । नेपालीमा एउटा भनाइ छ, स्यालको सिकारका लागि बाघको सिकार गर्ने सरहको तयारी गर्नु । आम कर्मचारीको हृदय कोमल हुनुपर्छ । ती दयावान हुनुपर्छ । दीनदुःखी र असक्त जनतालाई तिनले न्याय दिनुपर्छ । यस अतिरिक्त आम राष्ट्रसेवक कर्मचारीको मुख चलेझै हात पनि चल्नु पर्छ । ती काममा दत्तचित्त हुनुपर्छ । कर्म नै महान् सेवा हो । यसैकारण मन, वचन र कर्मले सेवा गर्नुपर्छ भनिएको हो ।

३. रोलमोडलबाट सिक्ने 

विश्वमा प्लेग रोग फैलिएका बखत डा. हेनी गायनले अतुलनीय भूमिका निर्वाहगरी आम मानिसको ज्यान बचाउनुभएको थियो । यसर्थ उहाँले मृत्युपर्यन्त आपूmलाई जीवन्त राख्नु भएको छ । आपूm फाटेको सिरक ओढेर काँप्दै सुत्ने चाणक्यले आम गरीबलाई बाक्ला नयाँ सिरक वितरण गरेर तिनलाई बचाएका थिए । यसर्थ राष्ट्रसेवक कर्मचारीले आपूm बाँच्ने र जनतालाई पनि बचाउने ध्येय लिनुपर्छ ।

४. सधैँ राष्ट्र र जनताको सेवामा रहने

भात्रृहरिले मानिसलाई ४ वर्गमा वर्गिकरण गर्नुभएको छ । उहाँका अनुसार उच्चकोटीका मानिस सदैव राष्ट्र र जनताको सेवामा समर्पित हुन्छन् । सामान्यकोटीका मानिस आप्mनो उन्नति र प्रगतिमा दत्तचित्त रहन्छन् । निचकोटीका मानिस अर्काको कुभलो चिदाउँदै दिन बिताउँछन् । दुष्टकोटीका मानिसहरू नत आप्mनो हित, नत राष्ट्रको हित, जताततै भताभुंग होस् भनी विनासका लागि अग्रसर हुन्छन् । यसर्थ राष्ट्रसेवक कर्मचारीहरू निशन्देह उच्चकोटीका मानिसमा पर्नुपर्छ । 

५. घामले जस्तो न्यानोपना दिने 

मानिसले घाम ताप्छन्, न्यानोपनाका लागि । यसर्थ पोल्ने घाम भन्दा न्यानो घाम नै सबैका लागि प्रिय हुन्छ । भनिन्छ, एउटा सलाइको काँटीले अँध्यारो कोठामा दियो बालेर पूरै कोठालाई उज्यालो बनाइदिन्छ । यस्तै अर्को सलाइको काँटीले पूरै वनमा डढेलो लगाएर वन नै सखाप तुल्याइदिन्छ । यसर्थ, राष्ट्रसेवक कर्मचारीले कोरोनाको कहरमा आम जनतालाई आशाको दियो बालेर आश्वस्त तुल्याउनुपर्छ । 

६. जनमैत्री काम गर्ने

एउटा सत्य भनाइ छ, सबै फूल फुल्दैमा बास्ना चल्दैन । जाइ र चमेली फूल्दा बास्ना चल्छ, तर उन्युँ र खर फुल्दा बास्ना चल्दैन । यसबाट बुझिन्छ, कर्मचारीले गर्ने सबै कामबाट जनता प्रसन्न हुन सक्तैनन् । यसर्थ जनतासँग मिलेर काम गर्नुपर्छ । आदर चाहनेले पहिला अरूलाई आदर गर्नुपर्छ ।

गान्धीले भन्नु भएको छ, तिम्रा दूईवटा कान छन्, धैरै सुन । दूईवटा आँखा छन्, पहिला राम्ररी हेर । यकिन गर । एउटामात्रै मुख भएकाले तौलिएर कम बोल । गल्ती नबोल । तर, नबिराउनु, नडराउनु भने झैं जनताको सूचनाको हकको उच्च सम्मान गर । सत्य बोल । यही नै कर्मचारीतन्त्रको धर्म हो । यही नै सेवाको मर्म पनि हो । 

७. सकारात्मक सोच राख्ने

आनीले गीत गाउनु भएको छ, फूलको आँखामा पूmलकै संसार, काँडाको आँखामा काँडै संसार भनेझै आपूm अनुकूल परिस्थिति बन्छ । यसर्थ राष्ट्रसेवक कर्मचारी सबैले मैले के पाएँ भन्दा पनि मैले राष्ट्र र जनतालाई के दिन सकेँ भनेर आफैंलाई प्रतिप्रश्न गर्नुपर्छ ।  यसैगरी यो गरेर के फाइदाको सट्टा यो गरेर के बेफाइदा भनी प्रश्न गर्नुपर्छ । साथै यस्तो विषम परिस्थितिमा अहिले नगरे कहिले गर्ने र मैले नगरे कसले गर्ने भन्ने सोचका साथ अघि बढ्नुपर्छ । 

८. सफलता हात पार्न अग्रसर हुनुपर्छ

रवीन्द्रनाथ टेगोरले भन्नुभएको छ, किनारामा उभिएर र पानीमा हेरेर मात्र समुन्द्र पार गर्न सकिन्न । यसर्थ हिम्मतका साथ पानीमा हेलिनुपर्छ । यर्थाथमा पोखरीमा हामफाल्ने सबै मानिस मर्दैनन्, पौडन नजान्ने मात्रै मृत्युको मुखमा पुग्छन् भन्ने भनाइलाई आत्मसात् गरी कर्मचारीतन्त्र कोरोना विरुद्धको मोर्चामा खडा हुनुपर्छ ।

यसबाट कर्मचारीतन्त्रको जित हुने र कोरोनाको पराजय हुने पक्का छ । 

९. परिवर्तनउन्मुख सोच राख्ने

रुखले जसरी बर्सेनि पात फेर्छ, सोही रितले हामीले आफूलाई समयानुकूल बदल्नुपर्छ । कर्मचारीतन्त्र परिवर्तनको बाहक हो । हालको विषम परिस्थितिमा राष्ट्रसेवक कर्मचारीहरूले आफैँले सही दिशा पहिचान गरी अघि बढ्नुपर्छ । एउटा सत्य भनाई छ, हिमालबाट शुरु भएको खोला बाटो नसोधी हिँड्दा पनि समुन्द्रमा पुग्छ । सोही रितले कर्मचारीतन्त्र पनि आप्mनो गन्तव्यमा पुग्ने निश्चित छ ।

१०. कर्मचारीको साख बढाउनु पर्छ

क्रियाशीलताले नै पहिचान बन्ने हो । ३ ओटा अलग–अलग भाँडामा एक साथ आलु, अण्डा र कफीको गेडालाई राखेर उमालियो । केही क्षण पछि हेर्दा साह्रो आलु पूर्णतः गलित भएछ । भित्र तरल पदार्थ भएको अण्डा पुनः तरल हुन नसक्ने गरी साह्रो भएछ । कफीको गेडा फुटेर पुरै पानीलाई सुगन्धित बनाइदिएछ । पहिलेको पानी हाल कफी भएछ । यसर्थ हामी आलु, अण्डा वा कफी के बन्ने हाम्रै हातमा छ । 

नेपालका राष्ट्रसेवक कर्मचारीहरू, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती, शिक्षक लगायत सबैले यस संकटको घडीमा मुलुक र जनताको सेवा गरी कर्मचारीतन्त्रको साख उज्ज्वल तुल्याउनु हुनेछ भन्ने विश्वासका साथ सफलताको कामना गर्दछु ।

salt training

कमेन्ट गर्नुहोस्