
विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसको त्रास बढेपछि सरकारले गरेको लकडाउनले वैशाख ११ गतेयता देश नै ठप्प छ तर धनगढीका ४ जना नववैज्ञानिक भने रातदिन गरेर नयाँ–नयाँ सिर्जनामा जुटेका छन् ।
वर्तमान विषम परिस्थितिलाई सुरक्षित, सहज र प्रभावकारी बनाउन धनगढीका नववैज्ञानिकको टोली अहोरात्र खटिएको छ ।
स्कूले जीवनदेखि नयाँ–नयाँ आविष्कार गरेर दुनियालाई चकित पार्दै आएका धनगढीको नववैज्ञानिकको टीमले आजभोलि लकडाउनको समय उपयोग गरी आधा दर्जन बढी सुरक्षा सामग्री बनाउनमा लागेको छ ।
रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) सुदूरपश्चिम तथा युनिक कन्ट्राइभ प्रालिमा आवद्ध अनिल पाण्डे (२५), तनमय चौधरी (२०), दिपक बिष्ट (२६), सुवाश चौधरी (२६) को टीम कोरोना भाइरसबाट जोगिन बहुउपयोगी यन्त्र उपकरण बनाउनमा जुटेको छ । र्यानका सुदूरपश्चिम संयोजक समेत रहेका नववैज्ञानिक अनिल पाण्डेका अनुसार नववैज्ञानिकको टीमले तयार पारेको ‘कोरोना सेफ्टी बुथ’ निर्माण गरेर चैत २४ गते सेती प्रादेशिक अस्पताल धनगढीलाई हस्तान्तरण गरिसकेको छ ।
डा. महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक सहयोग तथा काइचो ग्रूपको सहकार्यमा सो टीमले बुथ निर्माण गरेको थियो । दक्षिण कोरियामा चिकित्सक सुरक्षित रहेर कोभिड–१९ संक्रमित वा आशंकित बिरामी जाँच्न यस्तो सुरक्षित बुथ निर्माण गरिएको थियो । त्यही डिजाइन हेरी बुथ निर्माण गरिएको र्यानका सुदूरपश्चिम संयोजक पाण्डे बताउँछन् ।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले र्यानको उत्पादन उपयोगी रहेको बताए । ‘हामीलाई सुरक्षा सामग्री अभाव भइरहेका बेला धनगढीमै उत्पादन भएका सुरक्षा सामग्री उपयोगी छन्,’ उनले भने ।
के हो कोरोना सेफ्टी बुथ ?
‘कोरोना सेफ्टी बुथ’को उपयोगिताबारे उल्लेख गर्दै संयोजक पाण्डे भन्छन्, ‘यो चिकित्सक बस्ने बुथ हो । ३ मिटरभन्दा परबाट बुथमा स्वच्छ हावा भित्र्याउने र चिकित्सकले पन्जा सहितको हात बाहिर निकालेर बिरामी जाँच गर्ने गरी बुथ निर्माण गरिएको हो । यो एक कोरोना भाइरस टेस्टिङ बुथ हो, जुन सर्वप्रथम दक्षिण कोरियाले विकास गरेको थियो । हामीले स्थानीय स्रोतसाधन प्रयोग गरेर यहाँको अस्पताल र स्वास्थ्यकर्मीलाई सहज हुने गरी नयाँ प्रारुपमा विकास गरेका हौं ।’
टीमले त्यो बुथ ३ दिनमा तयार पारेको थियो । संयोजक पाण्डेका अनुसार बुथमा स्वास्थ्यकर्मीलाई अक्सिजनको कमी न होस् भनेर एक्जिस्टिङ पंखा, रातिको समयमा बिरामी जाँच गर्न मिल्ने गरी नाइट लाइट, अगाडिको सिसा भित्रबाट नै सफा गर्न मिल्ने गरी म्याग्नेटिक ग्लास क्लिनर, स्वास्थ्यकर्मीले बिरामीसँग संवाद गर्न मिल्ने अडियो सिस्टम, बिरामीको ज्वरो जाँच गर्न मिल्ने गरी थर्मल गनलाई झुण्ड्याउने ह्यांगर सहितको सुविधा रहेको बताइएको छ । जसबाट पीपीईको खपतलाई कम गर्ने, बुथको सहायताले स्वास्थ्यकर्मीले बिरामीको प्रत्यक्ष सम्पर्कमा नआएर पनि जाँच गर्न सक्ने सुविधा रहेको छ ।
पहिलो सफलतापछि टीम थप ३ वटा परिष्कृत कोरोना सेफ्टी बुथ निर्माणमा कस्सिएको छ । टोलीले कैलाली जिल्लाको चौमाला र मसुरियास्थित स्वास्थ्य चौकीको लागि यूभी लाइट (अल्टाभाइलेट लाइट) सहितको कोरोना सेफ्टी बुथ निर्माण जारी राखेको छ । जुन यूभी लाइटले भाइरस मार्ने काम गर्ने संयोजक पाण्डे बताउँछन् ।
वैज्ञानिकको टीम एउटै आविष्कारमा केन्द्रित छैन । उनीहरू ‘डिसइन्फेक्सन टनेल’, विभिन्न प्रकृतिका ड्रोन, अत्याधुनिक क्वारेन्टाइन कक्ष समेत निर्माण थालेको छ ।

‘डिसइन्फेक्सन टनेल’ले कसरी काम गर्छ ?
निर्माणाधीन ‘डिसइन्फेक्सन टनेल’ एक विशेष प्रकृतिको गेट अथवा प्रवेशद्वार नै हो । अस्पताल जस्तै सार्वजनिक स्थलको प्रवेशद्वारमा डिसइन्सफेक्सन टनेल जडान गरिन्छ । जहाँ पसेपछि अटोमेटिक विषादी छर्ने यन्त्रको विकास गरिएको छ ।
६ लम्बाई, ८ फिट उचाई र ६ फिट चौडाई रहने ‘डिसइन्फेक्सन टनेल’ एक किसिमको स्यानिटाइजर जस्तै रहेको जानकारी दिँदै संयोजक पाण्डे भन्छन्, ‘‘डिसइन्फेक्सन टनेल’ गेटमै प्रयोग हुन्छ । हामीले बनाउन थालेको सेती प्रादेशिक अस्पतालकै लागि हो । योभित्र प्रवेश गर्ने बित्तिकै जडित मशिनले प्रवेश गर्ने व्यक्तिमा सोडियम हाइपोक्लोराइड रसायन छर्ने काम गर्दछ । जसले कोरोनाको भाइरस मार्ने गर्दछ । जसबाट सम्बन्धित स्थानलाई धेरै हदसम्म सुरक्षित बनाउन मद्दत गर्नेछ ।’
लामो समयदेखि विभिन्न प्रकारका वैज्ञानिक आविष्कारमा खटिएको टीमले लकडाउनको अवधिमा औषधिलगायत अत्यावश्यक सामग्री ओसार्न ड्रोन निर्माण गर्दै आएको छ । सीमा नाकामा निगरानी बढाउन, भीडभाडको निरीक्षण तथा आवश्यक निर्देशन दिन सकिने क्यामेरा जडित ड्रोनको आविष्कारमा जुटेको छ ।
औषधि बोक्ने ड्रोन प्रहरीको फन्दामा
संयोजक पाण्डेले भीमदत्त नगरपालिका र धनगढी उपमहानगरपालिकाको लागि ड्रोन निर्माणको प्रक्रियामा रहेको जानकारी दिए । यद्यपि टोलीले १ हप्ताअघि एउटा ड्रोन निर्माणपछि भएको प्रयोगमा ठूलो धक्का व्यहोर्न पुगेको छ ।
संयोजक पाण्डेका अनुसार कैलालीमै सामाजिक सेवामा क्रियाशील ‘बोलन्या थली’ संस्थाले ड्रोनको प्रयोग गर्दै जिल्लाका विभिन्न स्थानमा निःशुल्क औषधि ओसार्न थालेको थियो । पछि अनाधिकृत रुपमा ड्रोन सञ्चालनमा रहेको भन्दै प्रशासनले नियन्त्रणमा लिएको छ ।

बोलन्या थलीले सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय कैलालीसँग अनुमति मागेको थियो तर अनुमति पाउनुअगावै सञ्चालनमा ल्याएको र अनुमति समेत नपाएपछि नियन्त्रणमा लिइएको बताइएको छ । वैज्ञानिक टोलीले आफूहरूको तर्फबाट कमजोरी भएको स्वीकार पनि गरेको छ ।
वैज्ञानिक टीमले अत्याधुनिक क्वारेन्टाइन निर्माण पनि जारी राखेको बताएको छ । डिजाइनसँगै विकासको काम जारी रहेको बताउँदै पाण्डेले क्वारेन्टाइनमा शंकास्पद व्यक्तिले छोएको स्थानमा संक्रमण नहुने गरी विकास गरिरहेको दाबी गरे ।
वैज्ञानिकहरूले विभिन्न घरायसी उपकरण पनि निर्माण गरेका छन् । टोलीका सदस्य समेत रहेका अर्का वैज्ञानिक तनमय चौधरीले हातले नचाई अटोमेटिक पानी आउने धारा समेत विकास गरेका छन् । इजी कार्ट, ड्रोन, जेट इन्जिनसहित दर्जनौं यन्त्र उपकरण आविष्कार गरिसकेका चौधरीले कोरोना महामारीको बेला नल्काका हत्था छुन नपरोस् भनेर अटोमेटिक पानी आउने मशिन घरैमै विकास गरी घरकै नल्कामा जडान गरेको जानकारी दिएका छन् ।

कम्प्युटर तथा इलेक्ट्रोनिक एण्ड कम्युनिकेसन इन्जिनीयरिङ गरेका वैज्ञानिक भन्छन्, ‘मानव समुुदाय यतिबेला संकटमा छ । यो बेला हामी कसरी चैनको निन्द्रा सुत्न सक्छौं र ? राज्यले योभन्दा पहिले विज्ञान र प्रविधि क्षेत्रलाई बिल्कुुलै महत्त्व दिएको पाइन्न । यो बेलाको संकटलाई प्रविधिले नै जित्न सकिन्छ । हाम्रो आवश्यकता महसूस गरे योगदान दिन तयार छौं ।’