०७ साउन २०८३, बिहीबार

लकडाउनले ‘डाउन’ नभएको च्याउ उद्योग, प्रशोधन सँगसँगै बेमौसमी खेती

बैशाख २०, २०७७
लकडाउनले ‘डाउन’ नभएको च्याउ उद्योग, प्रशोधन सँगसँगै बेमौसमी खेती

कोरोनाको कहरबीच सुदूरपश्चिमकै ठूलो च्याउ प्रशोधन उद्योगले नेपालमै नौलो तथा बैमौसमी च्याउ खेती थालेको छ ।

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो धनगढी उपमहानगरपालिका–१२ जुगेडा बीगाउँस्थित ओम केदार च्याउ तथा तरकारी फर्मले कोरोनाको कहरसँग जुध्दै च्याउको प्रशोधन, बीउ उत्पादन र नयाँ–नयाँ प्रजाति तथा बैमौसमी च्याउको खेतीमा जुटेको छ ।

फर्मका सञ्चालक कमल घर्तिमगरले लकडाउनका कारण बजार पुग्न नसकेको काँचो च्याउलाई प्रशोधन गरी प्याकेजिङ थालेको बताए । केन्द्रले हालसम्म च्याउको अचार, सुकुटी र गोब्रे च्याउको क्यान तयार गरी भण्डारण गरेको छ । लकडाउनपछि बजार पुर्‍याउने समय कुरेर बसेको सञ्चालक घर्तिमगर बताउँछन् ।

‘कोरोना महामारी र लकडाउनले असर नपारेको क्षेत्र सायद नहोला । कोही अछुतो रहेन । कारोबारमा गिरावट आएपनि काम रोकेका छैनौं । सामाजिक दूरी कायम गरेर भएपनि काम जारी राखेका छौं,’ उनले भने, ‘संकटबीच सम्भावनाको खोजीमा छौं ।’

कन्ये, गोबे्र, ग्यानो डोर्म, मिल्की, पराले गरी ५ प्रजातिका च्याउको बिउ उत्पादन थालेको सो प्रशोधन केन्द्रले नेपालमै नयाँ मानिने ग्यानो डोर्म, मिल्की, पराले गरी ३ प्रजातिको च्याउको बिउ उत्पादनसँगै खेतीको थालनी गरेको छ ।

नेपालको तराई क्षेत्रमा मुख्यतः असोजदेखि चैत्र मसान्तसम्ममा कन्ये र गोब्रे प्रजातिको च्याउको खेती गर्ने गरिन्छ तर प्रशोधन केन्द्रले गर्मी समयमा उत्पादन हुने च्याउको खेती थालेको छ । गर्मी मौसममा खेती गरिने ग्यानो डोर्म, पराले र मिल्की प्रजातिको च्याउको खेती थालेको सञ्चालक घर्तिमगर बताउँछन् ।

‘सबै प्रजातिको च्याउको कल्चर गरी बिउ उत्पादनमा सफल भएका छौं । अब खेती शुरूआत गरेका छौं, नयाँ प्रजातिको च्याउबारे उल्लेख गर्दै उनले भने, ‘ग्यानो डोर्म प्रजातिको च्याउ खानयोग्य भएपनि विशेषगरी औषधि निर्माणमा प्रयोग हुन्छ । प्रतिकिलो ८ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । यो च्याउ काठको भुसामा तयार गरिन्छ ।’ गर्मी मौसममा उत्पादन हुने खानयोग्य पराले र मिल्की प्रजातिको च्याउ खेती पनि थालेको उनी बताउँछन् ।

मुलुककै नमूना च्याउ उद्योग

२०७१ सालमा २० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको फर्ममा हालसम्म साढे २ करोड बढी लगानी पुगेको बताइएको छ । ‘नेपालमा हालसम्म भारत र चीनबाट क्यानिङ गरिएको ग्रोबे च्याउ आयात हुँदै आएको छ ।

हालसम्म हाम्रो यहाँ बाहेक मुलुकको अन्य ठाउँमा च्याउको क्यानिङ र पाउडर बनाउने प्रविधि छैन । जुन कारणले हाम्रो प्रतिपस्र्धा भारत र चाइनासँग मात्रै हो,’ सञ्चालक घर्मिमगर भन्छन्, ‘हाल प्याकेजिङ गरिएका गोब्रे च्याउको क्यान अन्तर्राष्ट्रिय ब्राण्डको छ ।’

उद्योगमा प्रतिघण्टा साढे २ क्वीन्टल च्याउ सुकाउने र प्रतिघण्टा ५ क्वीन्टल गोब्रे च्याउ क्यानिङ गर्न सक्ने क्षमता रहेको बताइएको छ । फर्मले च्याउको बजार उत्साहजनक पाएको जनाएको छ ।

उद्योगले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लासहित नेपालगञ्ज बजारमा समेत च्याउ आपूर्ति गर्दै आएको छ । तर माग अनुसार अझैसम्म आपूर्ति गर्न नसकेको फर्मका व्यवस्थापक राजु पुनमगर बताउँछन् ।

२ विघा क्षेत्रफलमा फैलिएको उद्योगले चालू वर्ष १५ टन कन्ये र १० टन गोब्रे च्याउ उत्पादन गरेको छ । पछिल्लो समय च्याउ मानव स्वास्थ्यको लागि लाभदायक रहेको चेतनाको विकासले च्याउ पराखीको संख्या बढेको र च्याउको बजार फराकिलो बन्दै गएको सञ्चालक घर्तिमगरले अनुभव सुनाउँछन् ।

फर्मले असोजदेखि चैत्रसम्म बनाएको च्याउ टनेलको स्थानमा आजभोलि तरकारी खेती थालेको छ । जहाँ २० जना बढीले नियमित रोजगारी पाएका छन् । आजभोलि सामाजिक दूरी कायम गरी फर्ममा काम गर्दै आएको व्यवस्थापक घर्तिमगर बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्