
गण्डकी प्रदेशको स्याङ्जा र नवलपुरमा थप कोरोना संक्रमित देखा परेका छन् ।
वालिङ ठेगाना भई पालिकाको क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षका २ जना पुरुष र ३९ वर्षका १ जना महिला समेत गरी ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
संक्रमित तीनै जनालाई सदरमुकाम पुतलीबजारस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङ्जामै २ दिनअघि अन्य २ जनालाई कोरोना भेटिएको थियो । उनीहरू वालिङ–७ का २० र २९ वर्षका हुन् ।
गण्डकी प्रदेशकै नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्लाको देबचुली–१ घर भई पालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । उनी जेठ १० गते भारतबाट आएका थिए । उनलाई भरतपुरस्थित कोरोना अस्पतालमा लगिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । बुधवार मात्रै बागलुङमा ६ जनामा कोरोना भेटिएको थियो ।
