
गण्डकी प्रदेशमा आइतवार बिहान एकैपटक ३८ नयाँ कोरोना संक्रमित थपिएको खबर संचार भयो ।
अन्य प्रदेशमा ह्वात्तै कोरोना संक्रमित बढ्दा गण्डकी प्रदेशले भने अघिल्लो सातासम्म एक–दुईमात्र गन्दै आएको थियो । आइतवार पुष्टि भएका संक्रमितको संख्या पछिल्लो २४ घण्टामा सबैभन्दा उच्च हो । योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ सय १३ पुगेको छ ।
प्रदेशअन्तर्गत बागलुङमा गत १५ चैतमा पहिलोपटक कोरोना पुष्टि भएको थियो । त्यहाँका २ जना संक्रमित उपचारपछि डिस्चार्ज हुँदा प्रदेशलाई १३ बैशाखमा ‘ग्रिन जोन’ समेत घोषणा गरिएको थियो ।
लामो समयसम्म यहाँ कोरोना पुष्टि भएन । बैशाख मसान्तमात्र नवलपुरमा एक पुरुषमा कोरोना देखियो । जेठ महिना सुरु हुँदा प्रदेशमा मात्र ३ जना कोरोना संक्रमित थिए । यसरी नगण्य संख्यामा भेटिँदा प्रदेशलाई अन्यको तुलनामा सुरक्षित ठहरिएको भएपनि पछिल्ला दिनमा एकपछि अर्को संक्रमित बढ्दै गएका हुन् ।
हालसम्म प्रदेशका ११ मध्ये मनाङ र मुस्ताङ बाहेक ९ जिल्लामा कोरोना फैलिएको छ ।
गत १८ जेठमा प्रदेशमा संक्रमितको संख्या मात्र २४ थियो । क्रमशः २० गते ३७, २२ गते ५४, २४ गते ७५ हुँदै २५ गते १ सय १३ पुगेका हुन् । यसरी हेर्दा सातामै संक्रमित संख्या झण्डै सय अर्थात ८९ जना थपिएका हुन् । उनीहरू अधिकांश छिमेकी देश भारतमा रोजगारीका लागि गएर फर्किएकाहरू छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार संक्रमित पुष्टि भएकामध्ये स्याङ्जाका १४, गोरखाका १०, बागलुङका १० र नवलपुरका ४ जना छन् । १७ देखि ५२ वर्ष उमेर समूहका उनीहरू सबै पुरुष हुन् । सबैजना भारतबाट फर्किएर सम्बन्धित जिल्लाको पालिकामा निर्मित क्वारेन्टाइन बस्दै आएका थिए ।
स्याङ्जा वालिङ नगरपालिकाका १३, भीरकोट नगरपालिकाका १, बागलुङ बडिगार्डका ९, ढोरपाटनका १, गोरखा गण्डकी गाउँपालिकाका ९, पालुङटारका १ र नवलपुर हुप्सेकोटका ४ जनामा शनिबार पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण फेला परेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाए ।
प्रदेश राजधानी पोखरा रहेको कास्कीमा ४ संक्रमित छन् । शुक्रबार र शनिबार गरी कास्कीका ४ मध्ये १ जनाको काठमाडौंको एक निजी अस्पतालमा उपचार भइरहेको छ भने ३ को पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।