
मंगलबार रूपन्देहीको तिलोत्तमा १० मैनहियास्थित कृष्णबहादुर पुनको गंगादेवी कृषि फर्ममा भएको ५ जनाको हत्याका अभियु्क्तलाई बुधवार सार्वजनिक गरिएको छ ।
तिलोत्तमा १० मैनहियास्थित कृष्णबहादुर पुनको गंगादेवी कृषि फर्ममा कार्यरत ३ जना र स्थानीय २ जना गरी ५ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका झसेन्द्र सिंजालीलाई सार्वजनिक गरिएको हो ।
अभियुक्तलाई जिल्ला अदालत रुपन्देहीबाट कर्तव्य ज्यान मुद्दामा १ हप्ता म्याद थप गरिएको प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
अभियुत्तलाई फर्ममा काम गर्ने रूपन्देहीकै सैनामैना ५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने रमेश भन्ने पोषराज मुसहर, स्थानीय करण चौधरी र आशिष चौधरीको हत्या आरोपमा पक्राउ गरिएको हो ।
मृतकहरुले विगतदेखि नै आफूलाई व्यक्तिगत चरित्रमा आक्षेप लगाउने गरी चरित्र हत्या गरेको हुनाले र मानसिक रुपमा चोट पुगेकाले हत्या गरेको खुल्न आएको उनले बताए ।
हत्याको क्रममा पहिले लाठी प्रयोग गरी अचेत बनाएको र फरुवाले हानेर ज्यान गएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
साथै अभियुक्तले केही दिन अगाडी मुसा मार्ने विष समेत किनेको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले अनुसन्धान जारी राख्दै प्रहरी विधि बिज्ञान प्रयोगशालामा पठाउनको लागि मृतकको शरिरबाट रगत, फरुवा र लाठि पठाउन लागिएको जानकारी गराइएको छ ।
मृतकहरको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।