
कोरोनाभाइरस (कोभिड १९) नियन्त्रणमा सरकार असफल भएको भन्दै बुटवल शुक्रबार विरोध प्रदर्शन भएको छ ।
लकडाउनको कुनै प्रवाह नगरी युवाहरू बुटवलको पुष्पलाल बसपार्क ट्राफिक चोकको सडकको दायाँबाट उभिएर स्वतस्फूर्त रूपमा युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।
बिहीवार काठमाडौं, पोखरा र जनकपुरमा भएजस्तै प्रदर्शन बुटवलमा पनि भएको हो । उनीहरू बिहान १० बजेदेखि प्रदर्शन उत्रिएका थिए ।

प्रदर्शनमा व्यापक सुरक्षाकर्मी परिचालित थिए । प्रदर्शनकारीले ‘दश अर्ब झोलामा, न्याय बग्यो भेरी खोलामा’, कोरोना जाँच गर्दा शतप्रतिशत पीसीआरको व्यवस्था गर, तीन करोड नेपालीलाई हेप्नी !, दश अर्बको हिसाब देऊजस्ता प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा सहभागी अनुमान सैजुले सरकारविरुद्ध जनता स्वतस्फूर्त रूपमा सडकमा निस्किएको बताए ।
‘प्रदर्शन शान्तिपूर्ण र हरेक नेपालीको आवाज हो । जनताले प्रश्न गर्न खोजेको हो । प्रदर्शन कुनै दलको होइन । सामाजिक दूरी कायम गरी प्रदर्शनमा आएका हौं,' उनले भने ।





