१५ असार २०८३, सोमबार

पर्वतमा पहिरोको कहर : २ घर पुरिंदा ५ जनाको मृत्यु, ४ जना अझै बेपत्ता

जेठ ३२, २०७७
पर्वतमा पहिरोको कहर : २ घर पुरिंदा ५ जनाको मृत्यु, ४ जना अझै बेपत्ता
तस्वीर सौजन्य: कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको फेसबूकबाट

पर्वतको दुर्लुङमा गएराति गएको पहिरोमा पुरिएकाहरूको खोजीकार्य जारी छ ।

उद्धारमा स्थानीयसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली गएरातिदेखि नै खटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

सदरमुकाम कुस्मा नगरपालिका वडा ३, दुर्लुङमा शनिवार परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोमा स्थानीय तुलबहादुर थापा र कमला बिकको घर पुरेको हो । 

पहिरोमा परी तुलबहादुरका ६ जना र कमलाको ३ जना परिवार सदस्य पुरिएकोमा ३ जनाको शव फेला परेको छ । पहिरोमा ६० वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती नीमकुमारी र ८ वर्षीया नातिनी वीविषाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वत प्रमुख डीएसपी विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार तुलबहादुरको परिवारका अझै एक जना छोरी र २ जना नाती पहिरोमा पुरिएका छन् । 

यस्तै, छिमेकी कमला बिक सहित उनका २ जना छोरीहरू समेत पहिरोमा पुरिएका छन् । प्रहरीले कमलाको परिवारकामध्ये २ जनाको शव ‘लोकेट’ गरिसकेको र उद्धार भइरहेको डीएसपी पोखरेलले बताए । 

घटनास्थल पर्वत सदरमुकाम कुस्मादेखि उत्तरी दिशामा पर्छ । गाडी र पैदल यात्रासहित करिब १ घण्टामा पुग्न सकिन्छ । सो क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्