१९ असार २०८३, शुक्रबार

गुल्मीमा होम क्वारेन्टीनमा बसेका एक पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

असार ५, २०७७
गुल्मीमा होम क्वारेन्टीनमा बसेका एक पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

गुल्मीमा होम क्वारेन्टीनमा बसेका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर– ५ मैनडाँडा निवासी ६९ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।

गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टीनमा रहेका व्यक्तिको मृत्यु भएको हो ।

मृतक पुरुष प्यारालाइसिसको बिरामी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए ।

भारतमा उपचार गरेर घरमा ल्याइएका पुरुषको बिहीवार कोरोना परीक्षणका लागि आरडीटी पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

उनको गएराति मृत्यु भएको हो । मृतक पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रूपन्देहीमा पठाइएको आचार्यले बताए ।

मृतक पुरुषलाई भारतबाट हेरचाह गर्दै नेपाल ल्याएका अर्का एक जनाको आरडीटी परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

भारतबाट आएर क्वारेन्टीनमा बस्न नसक्ने भएपछि मृतकका छोरीज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टीनमा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पौडेलले बताए ।

मृतक पुरुषको शवलाई व्यवस्थापन गर्न नेपाली सेना घटनास्थल पुगेको छ ।

गुल्मीमा हालसम्म कोरोना संक्रमितको संख्या १०५ जना पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् ।

जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्