
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधवार काठमाडौंमा शुरू स्थायी कमिटी बैठकका लागि ७ वटा एजेन्डा तय भएका छन् ।
अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार तय गरेर बुधवारको बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेका ५ एजेण्डामा २ वटा थपिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको स्थायी कमिटी बैठकले ७ वटा एजेण्डा तय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
सदस्यहरूको सुझावका आधारमा २ वटा एजेण्डा थपिएको उनले बताए ।
पश्चिम रुकुममा भएको जातीय नरसंहारको घटना र नागरिकता विधेयकको विषय पनि नेकपाको बैठकका एजेण्डा बनेका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार पहिलो कार्यसूचीमा अध्यक्षद्वारा अहिलेको समसामयिक अवस्थाबारे बैठकको प्रारम्भमै मन्तव्य राख्ने र दोस्रोमा कोभिड– १९ रोकथाम नियन्त्रण र उपचारका लागि भइरहेका पहलबारे छलफल गर्ने छ ।
तेस्रोमा नेपालको सीमा समस्या समाधान, चौथोमा सरकारको कामको समग्र समीक्षा, पाँचौं पार्टीको कामको समीक्षा र संगठनको बाँकी काम तथा छैटौंमा एमसीसीबारे छलफल गर्नेगरी स्थायी कमिटी बैठकका एजेण्डा तय भएको छ ।
सातौं नम्बरमा विविध भनेर रुकुम घटनाका सन्दर्भ, नागरिकता विधेयक र कोभिड– १९ का कारण कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरेको सन्दर्भमा संघीय सांसद र प्रदेश सांसदले पनि बैठक भत्ता नलिने गरी छलफल गर्ने निर्णय भएको श्रेष्ठले बताए ।
एजेण्डा तय भएपछि बैठकमा मन्तव्य राख्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी, सरकारको कार्यभारबारे सकारात्मक सुझाव दिनेगरी स्वच्छ, आलोचनात्मक र जिम्मेवारीपूर्वक छलफल गर्न आग्रह गरेका थिए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनको आदर्शलाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक छलफल गर्न तथा कमजोरीको समीक्षा गरी आत्मआलोचना गर्न आग्रह गरे ।
स्थायी कमिटीको अर्को बैठक पर्सि १२ गते बस्ने श्रेष्ठले बताए ।