
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाचौं स्थायी कमिटी बैठकको तेस्रो दिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली शुरूमा एकछिन बसेर निस्किएका छन् ।
तेस्रो दिनको बैठक शनिवार बिहान ११ बजेदेखि प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा जारी छ ।
‘उहाँ आएर एकछिन बसेर निस्किनुभो,’ एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई बताए ।
शुक्रवार बसेको दोस्रो बैठकमा ओली उपस्थित थिएनन् । ओली उपस्थित नभएपछि अष्टलक्ष्मी शाक्य, भीम रावल लगायतका स्थायी कमिटी सदस्यहरूले किन उपस्थित नभएको भन्दै प्रश्न गरेका थिए ।
उनीहरूले दैलोमै बसेको बैठकमा सहभागी नहुनु राम्रो नभएको भन्दै प्रतिवाद गरेका थिए । प्रधानमन्त्री सहभागी नहुने हो भने बैठक पार्टी कार्यालय धुम्बाराही सार्नुपर्ने उनीहरूको माग थियो ।
शुक्रवार ओली उपस्थित नहुनुको कारण बैठकमै माग गरिएपछि शनिवारको बैठकमा एकछिन मात्र मुख देखाउन आएका थिए ओली । ‘मुख देखाउन आउनुभएको रहेछ, फोटोग्राफरले फोटो खिचेपछि निस्किनुभयो,’ लोकान्तरलाई म्यासेजमार्फत् एक स्थायी कमिटी सदस्यले बताए ।
शनिवार (आज) जारी स्थायी कमिटी बैठकमा नेपाल-भारतबीचको सीमा विवाद समाधानका विषयमा सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । सीमाकै विषयमा शुक्रवार १८ जना स्थायी कमिटी सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् ।
सीमापछि कोभिड १९ को नियन्त्रण र रोकथामको एजेण्डामा स्थायी कमिटी बैठक प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
बुधवारदेखि शुरू भएको ५ औं स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो मन्तव्य राखेका थिए । त्यसपछिका बैठकहरूमा ओलीले खासै चासो देखाएका छैनन् ।
प्रेस सल्लाहकार सूर्य थापाले ओली बैठकमा सहभागी नभएपनि बैठकमा उठेका सबै कुराहरू सुन्ने व्यवस्था गरिएको बताउँछन् ।
शुक्रवार केही सञ्चारकर्मीहरूसँग उनले भनेका थिए, 'उहाँ आवश्यक ठान्नुभयो भने बैठकमा आउनुहुन्छ, नत्र किन आउनुपर्यो । स्थायी कमिटी बैठकमा उठेका कुराहरू उहाँले सुन्ने व्यवस्था मिलाइएको छ ।'
थापाले शुक्रवार अन्य मिटिङ रहेकाले प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन नसकेको दाबी गरेका थिए ।