
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ८८ पुगेको छ। शनिबार राति पुनः ३४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
शनिबार नै बिहान ३२ र साँझ १६ जनामा कोरोना पुष्टि भएको थियो। तीमध्ये पोखराका ५ महिला छन्। गएको २४ घण्टामा ८२ नयाँ संक्रमित थपिएका हुन्।
नयाँ संक्रमितमध्ये बागलुङका २७, तनहुँका ६ र पर्वतका १ जना छन् । उनीहरु सबैको नमुना परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको थियो ।
बागलुङको बडिगाड गाउँपालिकाका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ। उनीहरुको उमेर समूह वर्ष १८ देखि ४७ सम्म छ ।
बागलुङ नगरपालिकाका थप १७ जना पुरुष पनि संक्रमित भएका छन्। उनीहरु २० देखि ७० वर्षसम्मका छन् । काठेखोला गाउँपालिकाका २ महिला र २ पुरुष संक्रमित छन् । जसमा २७ र ३६ का पुरुष तथा २० र २३ वर्षका महिला छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका वर्ष २३ र ३० का महिला, भानु नगरपालिकाका वर्ष ३२, ५३ र ६१ का पुरुष र व्यास नगरपालिकाकी १४ वर्षीया किशोरीमा पनि कोरोना भाइरस संक्रमण देखिएको हो ।
त्यस्तै, पर्वत सदरमुकाम कुष्मा नगरपालिकाका ५३ वर्षीय पुरुष संक्रमित भएका छन् ।
पोखरामै भएको नमुना परीक्षणमा सल्यान जिल्ला बागचौर नगरपालिकाका २६ वर्षका पुरुषमा पनि कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए ।
गण्डकीमा कुल संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने १ सय २१ निको भई डिस्चार्ज भएका छन् ।
