०९ साउन २०८३, शनिबार

नेपाली कांग्रेसमा महाधिवेशनको राप, नयाँ पुस्ताले दिन सक्ला हाँक ?

देउवालाई टक्कर दिने कोइराला परिवारको तयारी
नेपाली कांग्रेसमा महाधिवेशनको राप, नयाँ पुस्ताले दिन सक्ला हाँक ?

नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको तर इतिहासकै कमजोर अवस्थामा रहेको नेपाली कांग्रेसमा १४ औं महाधिवेशनको रापताप शुरू हुन लागेको छ ।

सभापति शेरबहादुर देउवासँग महाधिवेशन ६ महिना पछि धकेल्ने अस्त्र बाँकी रहे पनि फागुन ७ गतेदेखि महाधिवेशन गर्ने केन्द्रीय समितिले निर्णय गरिसकेको छ । 

तोकिएको मिति अर्थात् फागुन ७ गते नै महाधिवेशन होला भन्नेमा देउवाइतर समूहले आशंका व्यक्त गरिरहेको छ । विधानमा रहेको व्यवस्थालाई टेकेर देउवाले महाधिवेशन पछि सार्छन् भन्ने आशंका छ । कोरोना संकटलाई बहाना बनाएर महाधिवेशन पर सर्छ भन्नेमा पौडेलइतर समूह पनि सशंकित छ ।

केन्द्रीय समितिले पारित गरेको कार्यतालिका अनुसार साउनभरिमा क्रियाशील सदस्यता नवीकरण, पुस महिनामा नगर अधिवेशन तोकिएको छ । महाधिवेशनको मिति नतोक्दैदेखि कांग्रेसभित्र महाधिवेशनको सरगर्मी शुरू भइसकेको छ ।

सभापति शेरबहादुर देउवा कार्यकाल दोहोर्‍याउने दाउमा छन् भने देउवा इतर समूह कुनै पनि हालतमा उनलाई दोहोरिन नदिने रणनीतिमा छ । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको लज्जाजनक पराजयपछि कांग्रेसमा विशेष महाधिवेशन वा अर्ली महाधिवेशनको बहस चल्यो । गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल लगायतका युवाले नेतृत्व परिवर्तनका लागि दबाब सिर्जना गरे तर कांग्रेस नेतृत्व परिवर्तन भएन, बरु ८ भाइ परिवर्तन भए । 

बीपी कोइरालासँग राजनीति गरेको पुरातन सोच राख्ने पुरानो पुस्ता (ब्ल्याक एण्ड ह्वाइट) अहिले पनि कांग्रेसभित्र निर्णायक अवस्थामा छ । बीपी कोइराला ४१ वर्षको उमेरमा प्रधानमन्त्री र पार्टी सभापति बनेका थिए तर अहिले नेविसंघको अध्यक्ष नै ५० वर्षको उमेर हाराहारीका छन् । 

नेपाली कांग्रेसमा युवा नेतृत्वको कुरा समय कटाउने बहस मात्र बनेको छ । २१ औं शताब्दीको युगमा पनि उही ‘ब्ल्याक एण्ड ह्वाइट’ सोच राख्ने नेताहरू नेतृत्वमा रहन मरिहत्ते गरिरहेका छन् ।

‘अहिले देशको आवश्यकता र युवाको चाहना हजुरबा पुस्ताका नेताले बुझ्न सकेनन्, फलस्वरुप कांग्रेस निरन्तर पराजय र क्षयीकरणको दिशामा गइरहेको छ,’ एक केन्द्रीय सदस्य भन्छन् ।

बाहिर देउवा र पौडेल समूह भनेर चित्रित गरिएपनि कांग्रेसमा ७ थरि विचार र गुटको अस्तित्व कायम छ । महाधिवेशन नजिकिँदै गर्दा ती समूह र गुटले आफ्नो सक्रियता बढाइरहेका छन् ।

देउवा खेमा 

नेपाली कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा खेमा नै शक्तिशाली छ । पटक–पटक प्रधानमन्त्री बनेका, सत्ताको स्वाद र लाभ लिएका नेताहरू यो समूहमा गोलबद्ध छन् । संस्थापन भएको हिसाबले स्रोतसाधनसहित यो समूह बलियो छ तर देशलाई निकास दिन र कांग्रेसलाई भविष्य देखाउने योजना यो समूहसँग छैन ।

शक्ति र स्रोतको बलमा यो समूहले फेरि पनि नेतृत्वमा बाजी मार्ने कोसिस गरिरहेको छ । यो समूहमा मूल नेतृत्वमा विवाद छैन, त्यसपछि दोस्रो तहका नेताको व्यवस्थापन यो समूहमा पनि समस्याको रुपमा रहिरहेको छ । विमलेन्द्र निधिले यो समूहको भावी नेताको रुपमा आफूलाई अगाडि बढाउन कोसिस गरिरहेका छन् भने देउवापछिको नेतृत्वलाई लिएर यो समूहमा भाँडभैलो नै छ ।

रामचन्द्र पौडेल समूह

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निधनपछि कांग्रेसको संस्थापन समूह आफूहरू भएको यो समूहको दावी रहँदै आएको छ । सुशीलको निधनपछि केही समय पौडेल कार्यबाहक सभापति बनेका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा यो समूहका नेता रामचन्द्र पौडेल पराजित भएपछि यो समूह केही रक्षात्मक अवस्थामा छ । चुनाव हारेका नेता (पौडेल) ले चुनाव जितेका नेता (देउवा) लाई पद छाड भन्न नमिल्ने भन्ने टिप्पणीले गर्दा देउवाको नेतृत्वको अयोग्यताबारे पौडेलले खुलेर बोल्न सकेनन् ।

तत्कालीन कोइराला नेतृत्वलाई सधै सघाएका पौडेलले एकपटक पार्टीको नेतृत्वमा पुग्ने आंकाक्षा राखेका छन् । पौडेको निष्ठामा प्रश्न नउठेपनि उनीसँग पनि कांग्रेसलाई दिशानिर्देश गर्ने र पुनर्जीवन दिने योजना नरहेको कांग्रेसका नेताहरू बताउँछन् । देउवाइतर समूहबाट सर्वसम्मत उम्मेदवार बनेपनि आफ्नो समूहका नेताको व्यवस्थापन पौडेलका लागि सकस बन्नेछ । 

कोइराला परिवार

नेपाली कांग्रेसको जबरजस्त तेस्रो धारको रुपमा कोइराला परिवारका ३ सदस्य जुर्मुराएका छन् । संस्थापक बीपी कोइरालाका पुत्र शशांक, डा. शेखर कोइराला र सुजाता कोइरालाले एक ठाउँ भेला भएर फोटो खिचाउँदा मात्र पनि कांग्रेसमा तरंग ल्याउने गर्छ । १४ औं महाधिवेशनमा कोइराला परिवारबाट उम्मेदवारी दिने भनेर उनीहरूले २ वर्षदेखि नै सहमति गरेका छन् ।

शशांक र शेखरप्रति कांग्रेस कार्यकर्ताको सहानुभूति देखिन्छ, गत महाधिवेशनमा देउवाले सभापति जित्दा शशांकले महामन्त्री जितेका थिए । यसपटक शेखरले नेतृत्वका लागि दाबी गर्ने सम्भावना छ । शेखरले गत वर्षदेखि नै जिल्लामा जाने र कार्यकर्तासँग भेट गरेर कांग्रेसलाई पुनर्जीवन दिने प्रयास गरिरहेका छन् । बीपी स्मृति दिवसको अवसरमा साउन ६ गते विराटनगरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय राजनीतिको राजधानी विराटनगर बनाउने भन्दै आफूले कांग्रेसको नेतृत्वमा दाबी पेश गरिसकेका छन् । देउवा इतरको पौडेल समूहबाट आफू उम्मेदवार बन्ने शेखरको प्रयास छ । 

सिटौला समूह

नेपाली कांग्रेसभित्र वैकल्पिक राजनीतिको धार स्थापना गर्न भन्दै कृष्णप्रसाद सिटौलाले समूह बनाए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेको र संविधान मस्यौदा समितिको सभापतिको रुपमा काम सम्पन्न गरेपछि सिटौलाले राजनीतिक उचाइ बनाएका हुन् ।

गत महाधिवेशनमा सिटौला निर्णायक बन्दा देउवा सभापति बनेका थिए । पहिलो चरणमा ३ नेताबीचको प्रतिस्पर्धामा कसैले बहुमत ल्याउन नसकेपछि देउवा र पौडेलबीच प्रतिष्पर्धा भयो । सिटौला समूहको साथ पाएपछि देउवा सभापति बने । सिटौलाले सभापतिमै दाबी गर्ने, नभए आफ्नो समूहका गगन थापा लगायतको समूहलाई पदाधिकारीमा जिताएर शक्ति आर्जनको दाउमा रहेको नेताहरू बताउँछन् ।

कोरोना संकटका कारण लकडाउन शुरू हुनुभन्दा पहिले चैत्र ३ गते राजधानीमा भेला गरेर उनीहरूले आफूहरू एक रहेको सन्देश दिएका थिए । कहिले देउवा र पौडेलसँग मिलेर च्खाखे दाउमा लाग्ने गरेको आरोप सिटौला समूहमाथि लागेको छ ।

प्रकाशमान सिंह

नेपाली कांग्रेसका संस्थापक मध्येका एक गणेशमान सिंहको लिगेसी बोकेका प्रकाशमान पनि सभापतिका आकांक्षी हुन् । पौडेल समूहबाट आफूले सभापतिको उम्मेदवार बन्न पाउनुपर्ने उनको माग छ । देशको राजधानी काठमाडौं उपत्यकाबाट उनी लगातार चुनाव जितिरहेका छन् । केही कार्यकर्ताको साथ भए पनि प्रकाशमानसँग ठूलो गुट छैन । कांग्रेसभित्र बहुपक्षीय प्रतिस्पर्धा हुँदा प्रकाशमानको समर्थन पनि निर्णायक हुनसक्ने नेताहरूको विश्लेषण छ । 

असंगठित १२ भाइ

गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङ, कमला पन्त लगायतका नेपाली कांग्रेसका १२ केन्द्रीय सदस्य मिलेर छुट्टै धार स्थापना गरेका थिए । यो आफैंमा गुट भने होइन । नेपाली कांग्रेसको दोस्रो तहका आशालाग्दा नेताहरू यो धारमा समावेश छन् ।

गगन स्वयं सिटौला समूहका हस्ती हुन् भने अन्य नेताहरू पौडेल समूहसँग छन् । यो समूहलाई संगठित बन्न कार्यकर्ताले प्रोत्साहन गरिरहेका छन् तर समूहका नेताले हिम्मत गरेका छैनन् । 

कुलबहादुर 

नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने परम्परागत शक्ति (राजतन्त्र) लाई समेत ‘स्पेस’ दिइनुपर्छ भन्ने एउटा आवाज छ । जसको नेतृत्व कुलबहादुर गुरुङले गरिरहेका छन् । संघीयता र गणतन्त्रले देश कमजोर भएको निष्कर्ष निकाल्ने यो समूह पनि कांग्रेसमा क्रियाशील छ तर यो निर्णायक छैन । यो समूहले हिन्दूधर्म पुनःस्थापना अभियान घोषणा गरेको थियो । खुमबहादुर खड्काको निधन भएपछि त्यो अभियान अगाडि बढ्न सकेन ।

निष्क्रिय नरहरि

नेपाली कांग्रेसमा वैचारिक बहसको राजनीति गर्ने नरहरि आचार्य लगायतको समूह थियो । १२ औं महाधिवेशनमा आचार्य समूहले भीमबहादुर तामाङलाई सभापतिमा उठाएको थियो । तामाङको निधन भइसक्यो भने आचार्य अस्वस्थ भएर राजनीतिमा सक्रिय छैनन् । आचार्य बिरामी परेपछि यो समूहको अस्तित्व छैन । यसमा गगन थापाको पनि सहयोग थियो । 

नेतृत्वका लागि तयार छैन युवा नेतृत्व

नेपाली कांग्रेसलाई पुनर्जीवन दिनका लागि नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने बहस विगतदेखि नै चल्दै आएको हो तर कांग्रेसभित्र युवा पुस्ताको परिभाषा भिन्न छ । ६० वर्ष कटेको व्यक्तिलाई पनि कांग्रेसमा युवा पुस्ता भनेर सम्बोधन गर्ने गरिन्छ ।  

कांग्रेसमा युवामा नेतृत्वको बहस चलेको बेला एक नेताले दशकअघिको एउटा किस्सा सुनाए । ‘कांग्रेस बिग्रियो बुढाले, कम्युनिस्ट बिग्रिए कुरा र भुराले’ भनेर चर्चा हुने गरेको थियो ।

कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा कम्युनिस्ट अतिवादविरुद्ध लड्न सक्ने सशक्त नेतृत्व चाहिएको बताउँछन् ।

‘आम कार्यकर्ताको चाहाना कम्युनिस्ट अतिवादसँग जुद्ध सक्ने गरी कांग्रेस सशक्त बनोस् भन्ने छ,’ कांग्रेसका प्रभावशाली युवा नेता खतिवडा भन्छन् ‘तेरो मेरो नभनी सबैलाई समेटेर हिँड्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । युवाहरू पनि नेताको फेरो समातेर होइन, बलियो पार्टी बनाउने अभियानमा लाग्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्