
बाग्लुङको तमानखोला र निसीखोला गाउँपालिकामा गएराति गएको पहिरोमा ३ जना बालबालिकाको मृत्यु भएको छ ।
अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार निरन्तर वर्षापछि खसेको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पानबहादुर विकको घर गएराति साढे १ बजे पुरेको हो । पहिरोमा उनका दुई छोराछोरीको मृत्यु भएको छ । वर्ष १२ की रीता बिक र वर्ष १३ का खिमबहादुर बिकको पहिरोमा परी मृत्यु भएको हो ।
राति घरमा सुतिरहेको अवस्था घर पहिरोले पुरेको हो । घटनामा पानबहादुरकी श्रीमती होमकुमारी बिक सामान्य घाइते छन् । पानबहादुर भने वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन् ।
घटनास्थल बाग्लुङ सदरमुकामबाट करिब ८० किलोमिटर पश्चिममा पर्दछ ।
उता, बाग्लुङकै निसीखोला गाउँपालिका–१ मा कमल परियारको घर गएराति पहिरोमा परेको हो । पहिरोले उनका ३ वर्षीय छोरा समीरको मृत्यु भएको हो । गएराति अन्दाजी २ बजेतिर गएको पहिरोमा उनकी आमा र दिदीको भने सकुशल रहेको प्रजिअ न्यौपानेले बताए । बाबु कमल विदेश छन् । घटनास्थल बाग्लुङ सदरमुकामदेखि अन्दाजी ७० किमी पश्चिममै पर्दछ ।
पहिरोले घर पुरेको जानकारीपछि बुर्तिवाङबाट प्रहरीको टोली घटनास्थल गएको थियो । त्यस्तै सशस्त्र प्रहरी पनि टोली समेत उद्धारमा खटिएको थियो ।