
अति विपन्न मुक्तकमैया र बादी सामुदायले संरक्षण गरी जोगाएको सामुदायिक वनभित्र तोडफोड भएको छ ।
कैलालीको लम्की चुहा नगरपालिका–३ बलचौरस्थित मुक्तकमैया सामुदायिक वन उपभोक्ता समूहको सुरक्षार्थ गरिएको तारबार उखेलेर फाल्नुका साथै कामै नलाग्ने गरी तोडफोड गरिएको हो ।
समूहका कोषाध्यक्ष दिपु चौधरीका अनुसार तारबार काटेर फाल्नुका साथै गाडिएको १ हजार बढी सिमेन्टको पोल नष्ट गरिएको छ ।
२०६५ पहिले सो वन अतिक्रमणको चपेटामा पर्नुका साथै गौचरणको रुपमा परिणत भएको थियो । भने नजिकै रहेको चुरे क्षेत्रबाट वहुमूल्य काठ तस्करी र वन्यजन्तुको चोरी शिकार हुँदै आएको थियो ।
तर त्यहाँस्थित मुक्तकमैया र बादी समुदायले संरक्षणमा जुटेपछि सो वनको मुहार फेरिएर हराभरा मात्रै भएन, चोरी शिकार समेत नियन्त्रणमा आएको कोषाध्यक्ष चौधरी बताउँछन् ।
तर चोरी शिकार गर्न नपाएपछि वन जोगाउन गरिएको संरचनामा तोडफोड गरिएको हुन सक्ने उनको भनाइ छ ।
उनले भने–‘हामीले जोगाएको वन सबैभन्दा राम्रो हुँदै आएको छ । तर राम्रो देख्नै नचाहने व्यक्तिहरुले सुनियोजित ढंगले तोडफोड गरेका छन् । पूरै आधुनिक अतिहारसहित आएको समूहले नै तोडफोड गरेका हुन् । यो घटना हाम्रो पसिना माथिको प्रहार हो ।’
साउन २० गते राती सो संरचना भत्काइएको जनाइएको छ ।
त्यस्तै, वन सरक्षणकर्मी पुष्कल बमले वन जोगाउन तयार गरिएको संरचना तोडफोडलाई गैरमानवीय क्रियाकलाप रहेको बताएका छन् । घटनामा संलग्न पक्षलाई कारवाहीको लागि सम्बन्धित निकाय संग माग गरेको बलमे बताए ।
त्यहाँ बसोबास गर्दै आएका मुक्तकमैया र बादी समुदायले २०६५ देखि वनको संरक्षण गर्दै आएका हुन् । भने ४५६ दशमलव १९ हेक्टर क्षेत्रफलमा फैलिएको सो वन २०७२ मा समूहमा हस्तान्तरण भएको हो ।
सो वन ३५० घरधुरी मुक्तकमैया र बाँकी वादी समुदाय गरी साढे ४ सय घरधुरीले संरक्षण गर्दै आएका छन् ।