
पोखरा महानगरपालिका–९ मा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ ।
वडा ९ कार्यालयले सोमवार सूचना जारी गरी अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन वडावासीमा आग्रह गरेको छ ।
वडाध्यक्ष रामराज लामिछाने र वडा सचिव लोकदर्शन कोइरालाले संयुक्त हस्ताक्षर गरी जारी गरेको सूचनामा वडामा संक्रमण देखिएकाले वडावासीलाई भेला हुने गरी कुनै पनि कार्यक्रम नगर्न, अतिआवश्यक कामबाहेक बाहिर ननिस्कन, निस्कनै परे मास्क प्रयोग गर्न, व्यापार व्यवसाय सञ्चालन गर्नुपरे सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ ।
पोखरा–९ मा नयाँबजार, पृथ्वीचोक, बसपार्क लगायत पोखराका मुख्य बजार क्षेत्र पर्छन् । यसअघि पोखरा–१६ र १९ मा पनि सम्बन्धित वडाहरूले सूचना जारी गरी सोही प्रकृतिको आग्रह गरेका थिए ।
पोखरामा शनिवार राति मात्रै कोभिड–१९ का कारण ६२ वर्षीय पुरुषको ज्यान गएको थियो । उनी पोखरा १९ निवासी थिए ।
गण्डकीमा हालसम्म १ हजार ६१२ जना संक्रमित छन् । तीमध्ये १ हजार ४६३ निको भएका छन् । मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
