
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला असामञ्जस्यमा परेका छन् । उपसभापतिसमेत रहेका आफ्नै विश्वासपात्र विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी थालेपछि देउवाको राजनीतिक भविष्यमाथि चुनौती थपिएको छ ।
उमेरका हिसाबले हेर्ने हो भने देउवा ७४ वर्षका भए भने निधि बल्ल ६४ वर्षका भएका छन् । नेपाली कांग्रेसमा युवा पुस्ता आक्रामक ढंगले अगाडि आएकाले आफूले अर्को महाधिवेशन कुर्न नसक्ने जनाउ निधिले सभापति देउवालाई दिइसकेका छन् ।
देउवानिवास बूढानीलकण्ठ नै पुगेर निधिले १४ औं महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव राख्दा देउवा अक्क न बक्क परेका थिए ।
राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षीका रूपमा दह्रो गरी उभ्याउन नसकेको आरोप लागेका देउवाले चाहिँ यसपालि आफैं उठ्ने र अर्को महाधिवेशनमा निधिलाई सहयोग गर्ने प्रतिक्रियात्मक प्रस्ताव गरे, तर निधिले मानेनन् ।
देउवाको दाहिने हात - निधि !
कांग्रेसमा निधिलाई देउवाको दाहिने हातका रूपमा लिइन्छ । २०५९ सालमा पार्टी फुटेयता निधिले देउवालाई शसक्त रूपमा साथ दिएका थिए । यी दुई नेताबीच कहिलेकाहीँ सामान्य विषयमा मतभेद हुने भएपनि आधारभूत रूपमा देउवा र निधि दुवैले अहिलेसम्म कांग्रेसको एउटा ध्रुवको नेतृत्व गरिरहेका छन् ।
देउवाको नेतृत्वमा प्रजातान्त्रिक कांग्रेस बनेपछि देउवालाई कृष्णप्रसाद भट्टराईले साथ दिएका थिए । कृष्णप्रसाद भट्टराई र विमलेन्द्र निधिका बाबु महेन्द्रनारायण निधि दुवैलाई नेपालमा गान्धीवादी नेता भनेर चिनिन्छ । भट्टराईसँग आफ्नो बुवाको गहिरो दोस्ती भएकैले निधि देउवानिकट भए ।
तर विद्यार्थी राजनीतिमा भने विमलेन्द्र निधि र शेरबहादुर देउवाबीच लुकामारी भएको कांग्रेसका युवा नेता रामहरि खतिवडा सम्झन्छन् । 'विद्यार्थी राजनीति गर्दा दुवै एकै ठाउँमा थिएनन्,' खतिवडाले लोकान्तरसँग भने, 'उहाँहरू (देउवा र निधि)को दोस्ती पार्टी विभाजनपछि बलियो भएको हो ।'
२०६२/६३ को आन्दोलनपछि महन्थ ठाकुर, विजयकुमार गच्छदारलगायत धेरै नेताले कांग्रेस छाडेर मधेशवादी पार्टी गठनतिर लाग्दा पनि निधि त्यता लागेनन् । १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन पनि निधिको उल्लेख्य भूमिका रहेको थियो ।
पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवाबीच चुलिँदो संवादहीनतालाई कम गर्न निधिले नै मध्यस्थता गरेका थिए ।
![जनकपुरमा देउवालाई स्वागत गर्दै निधि [फाइल तस्वीर]](https://lktcdn.prixacdn.net/media/Bimalendra_Nidi_1_WJsshizqCQ.jpg)
यसरी टुट्यो देउवाको भ्रम
देउवाले आफू निकटसमक्ष भन्ने गरेका थिए, 'पौडेल समूहमा रहेका नेताहरूको व्यवस्थापन गर्न झन्झट छ, त्यहाँ कहीँ न कहीँ फाटो आइहाल्छ । मेरो समूहमा मलाई कसैले च्यालेञ्ज गर्न सक्दैन, अबको एक कार्यकाल कांग्रेस चलाउने मै हो ।'
'निधिको सभापति बन्ने चाहनाले कांग्रेसभित्र तरंग त आउने नै भयो, यसले सबैभन्दा धेरै धक्का सभापति देउवालाई नै दिएको छ,' वरिष्ठ नेता पौडेलनिकट एक नेताले लोकान्तरसँग भने, 'निधि मधेशमा पनि चुनाव हारेर कमजोर भएको, पार्टीमा उपसभापति बनाउन आफूले नै मद्दत गरेको र आफ्नो सहयोगविना निधिले केही पनि गर्न नसक्ने भ्रम देउवामा थियो । अहिले त्यो टुटेको छ । अर्काको समूहमा समस्या देख्ने देउवाले आफ्नो घरैछेउ आएको विपत्तिको व्यवस्थापन कसरी गर्नुहुन्छ त्यो हामीले पनि हेर्छौं ।'
देउवाले आफ्नो समूहमा आफू नै सर्वमान्य नेता रहेको देखाएर आफूइतर पक्षलाई दबाबमा राख्दै आएका थिए । एकलौटी रूपमा विभागहरू गठन, महाधिवेशनको घोषणा भइसकेपछि विधानविपरीत नियुक्ति लगायतका कामहरू गरेर देउवाले पार्टीको आन्तरिक लोकतन्त्रलाई सिध्याउन खोजेको आरोप पौडेलपक्षले लगाउँदै आएको छ ।
निधिको गोप्य तयारी
आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नका लागि निधिले पहिल्यैदेखि गोप्य तयारी गरिरहेका थिए ।
निधिनिकट स्रोतले भन्यो, 'उहाँ केही महिनादेखि नै नेता कार्यकर्ता भेटघाटमा लाग्नुभएको थियो, तर यो कुरा बाहिर आएको थिएन । केही दिनअघि आफैंले सभापति देउवालाई सहयोग गर्न आग्रह गरेपछि यो कुरा बाहिर आएको हो ।'
निधि र देउवाबीच यसअघि एकाधपटक खटपट पनि भएको थियो । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा निधि गृहमन्त्री थिए । निधिले नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन खोजेका थिए, तर देउवाले जयबहादुर चन्दको नाम प्रचण्डलाई सिफारिस गरे ।
सर्वोच्च अदालतले आईजीपी नियुक्तिमा योग्यता र वरीयता मिचिएको भन्दै चन्दको नियुक्ति बदर गरिदिएको थियो । पछिल्लो समय कतिपय विभाग गठन र नियुक्तिमा पनि निधिले असन्तुष्टि राखेको स्रोतको दाबी छ । तर निधिले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा बाहिर ल्याएनन् ।
![उपसभापति बनेपछि बीपीको जन्मघरमा निधि [फाइल तस्वीर]](https://lktcdn.prixacdn.net/media/bimalendra_Nidi_Gi4jP0IiCe.jpg)
देउवा समूहमा विद्रोह हुने खतरा
देउवा सभापति बन्ने अडान कायमै राखे निधिले देउवा समूहबाट विद्रोह गर्न सक्ने खतरा कायमै छ । निधिले देउवा समूह छाडे भने देउवाइतरका नेताहरूले निधिलाई समर्थन र सहयोग गर्न सक्छन् ।
देउवानिकट मानिने अर्का नेता गोपालमान श्रेष्ठले निधिले सभापतिको उम्मेद्वारी दिने विषयमा आफूसँग सल्लाह नगरेको बताए ।
'उहाँले भेट्न त खोज्नुभएको थियो तर यो महामारीका कारण भेट भएको छैन,' श्रेष्ठले लोकान्तरसँग भने, 'देउवा नउठ्ने हो भने त्यसपछिको स्वाभाविक उम्मेदवार म पनि हो, तर देउवा नै सभापति हुन चाहेमा मैले आफ्नो दाबी प्रस्तुत गर्दिनँ ।'
श्रेष्ठले देउवाको समूहबाट जो उम्मेदवार भएपनि सहमतिबाटै हुने बताए ।
'हामीले अन्तिम निर्णय लिँदा छलफल र सहमतिकै आधारमा लिन्छौं, हाम्रो समूहबाट एकजनाको मात्र उम्मेदवारी जान्छ,' श्रेष्ठले भने ।
कांग्रेसमा अस्वीकृत हुँदै देउवाको नेतृत्व !
पछिल्लो समय कांग्रेसमा देउवाको नेतृत्व अस्वीकार्य बन्दै गइरहेको छ ।
कांग्रेसको विधानमा कुनै व्यक्ति लगातार दुईपटक सभापति बन्न सक्ने व्यवस्था छ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले लोकान्तरसँग भने, 'विधानतः सभापति देउवा अहिले सभापति लड्न सक्नुहुन्छ र मेरो विचारमा लड्नुहुन्छ पनि ।'
विधानले सभापति देउवालाई पुनः सभापति बन्ने छुट दिएको छ । तर देउवा पार्टी पंक्ति भित्रैबाट अस्वीकृत हुँदै गएका छन् ।
केही दिनअघि लोकान्तरसँग कुरा गर्दै केन्द्रीय सदस्य चन्द्र भण्डारीले भनेका थिए, 'आफ्नो पार्टीलाई विधानअनुसार हिँडाउने र वर्तमान सरकारलाई संविधान अनुसार हिँडाउने दायित्व उहाँमाथि छ तर उहाँ आफैंले आफैंलाई धोका दिनुभएको छ भन्ने मलाई लागेको छ ।'
देउवामाथि पार्टीभित्रको आन्तरिक लोकतन्त्रमाथि प्रहार गरेको आरोप लाग्ने गरेको छ । एकलौटी रूपमा विभागहरू गठन गर्ने, भ्रातृ संगठनमा जथाभावी नियुक्ति गर्ने जस्ता कामहरू देउवाले अर्को पक्षलाई नसोधी गर्ने गरेका छन् ।
देउवाकै नेतृत्वमा २०७४ सालको चुनाव लडेको कांग्रेसले इतिहासकै सम्भवतः कमजोर नतिजा ल्याएको थियो ।
प्रमुख प्रतिपक्षी दल भएर पनि संसदमा कांग्रेसको आवाज कमजोर हुनुमा नेपाली कांग्रेसका कतिपय नेताहरूले देउवालाई नै कारक ठान्छन् । त्यो बाहेक आफ्नो सीमित गुटमा रमाएको, समग्र कांग्रेसको नेता बन्न नसकेको जस्ता आरोपहरू उनीमाथि लाग्ने गरेका छन् ।
सभापति बन्ने पौडेलको आकांक्षामा पनि कुहिरो !
उमेरमा देउवाभन्दा २ वर्षले पाका वरिष्ठ नेता रामचन्द्र पौडेलको एकपटक कांग्रेसको सभापति हुने धोको छ । १४ औं महाधिवेशनमा पौडेल सभापतिका आकांक्षी पक्कै हुन् । तर यतिबेला पौडेल पक्षका धेरै नेताहरूले आफूलाई धमाधम सभापतिको उम्मेदवार बताउन थालेपछि पौडेलको चाहना चाहनामै सीमित हुने देखिन्छ ।
'पौडेलले नेतृत्व गरेको समूह नै छैन कांग्रेसमा,' एक केन्द्रीय सदस्यले भने, 'त्यो देउवाविरोधी गठबन्धन मात्र हो । आगामी महाधिवेशनमा देउवालाई सभापति हुन नदिने मनसायका साथ भएको गठजोडले पौडेललाई फाइदा गर्दैन, बरू सबै पदका आकांक्षी मात्र छन् ।'
उनले कांग्रेसमा कमसेकम देउवा र पौडेलको पुस्तालाई नै बिदाइ गर्नुपर्ने बताए । कांग्रेसमा सभापतिका आकांक्षीमध्ये उमेरका हिसाबले सबैभन्दा वृद्ध पौडेल हुन् । त्यसपछि देउवा हुन् । त्यसपछि ७१ वर्षमा सिटौला हिँडिरहेका छन् भने ७० मा शेखर । सभापतिका आकांक्षी अर्का नेता शशांक कोइराला जम्मा ६२ वर्षका भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि दुवैको उमेर ६४ वर्ष रहेको छ ।
देउवा या पौडेल कसैले पनि नेतृत्व लिएर नयाँ ढंगले अघि बढाउन नसक्ने धारणा कांग्रेसका कतिपय नेताहरूले राख्ने गरेका छन् ।