०६ असार २०८३, शनिबार

कोरोना विरुद्धको औषधि भन्दै गाउँगाउँमा वितरण, प्रशासनद्वारा रोक

भदौ २, २०७७
कोरोना विरुद्धको औषधि भन्दै गाउँगाउँमा वितरण, प्रशासनद्वारा रोक

कैलाली जिल्लाको ग्रामीण भेगमा कोरोना विरुद्धको भन्दै होमियोप्याथिक औषधि वितरण गरेको पाइएको छ ।

जिल्लाको कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र भजनी नगरपालिकाका ग्रामीण क्षेत्रमा कोरोना भाइरस रोगसँग जुध्न सक्ने रोग प्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमियोप्याथिक औषधि भन्दै वितरण गरेको पाइएको हो ।

औषधिमा उल्लेख भएको विवरण अनुसार मारवाडी सेवा संघ नेपाल नामक संस्थाले औषधि वितरण गरेको छ । कैलारी गाउँपालिका–८ का वडा सचिव तुलसी चौधरीले वडा कार्यालयमा सो औषधि वितरणबारे जानकारी नआएको बताए । तर गाउँघरमा मारवाडी सेवा संघ नेपाल संस्थाले वितरण गरेको खबर आफूहरूले पनि पाएको वडा सचिव चौधरीले स्पष्ट पारे ।

सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. जगदिश जोशीले हालसम्म कोरोना विरुद्धको औषधि पत्ता नलागेको अवस्थामा अनाधिकृत रुपमा वितरण हुने कुनै पनि औषधि सेवन नगर्न तथा नगराउन सल्लाह दिए । रोग प्रतिरोधी भन्दै आयुर्वेदिक औषधि खुवाएको भन्ने आए पनि सरकारबाट अधिकारिकता प्रमाणित भएमा मात्रै सेवन गर्नुपर्ने डाक्टर जोशीले बताए ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुपम शमशेर राणाले वितरण गरिरहेको सूचना पाउने वित्तिकै सो औषधि वितरणमा रोक लगाएको जानकारी दिए । वितरकले अनाधिकृत रूपमा औषधि वितरण गरेकाले मंगलवारदेखि वितरणमा रोक लगाएको बताए । 

तर अनाधिकृत रुपमा ग्रामीण भेग औषधि वितरण गर्नेलाई प्रहरीले नियन्त्रण भने लिन सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्