०३ असार २०८३, बुधबार

अछाममा बाढीको बितण्डा : १७ जनालाई बगायो, ६ शव फेला

भदौ ३, २०७७
अछाममा बाढीको बितण्डा : १७ जनालाई बगायो, ६ शव फेला

अछाम जिल्लाको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा आएको बाढीले १७ जनालाई बगाएको छ ।

बगेकामध्ये ६ जनाको शव फेला परेको रेडियो रामारोशनका पत्रकार कमल रावलले लोकान्तरलाई जानकारी दिए । 

मंगलवार राति परेको अविरल वर्षाले कैलाश खोलामा बाढी आएको हो । बाढीले रामारोशन गाउँपालिका–५ सैनीबजारबाट १७ जनालाई बगाएको छ ।

बगाएकामध्ये ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देबेन्द्र थापाले बताए । २ जनाको शव मंगलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानीय प्रकाश कुँवरले बताए ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय उद्धारकर्मीको टोली सैनीबजारमा गइसकेको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकरबहादुर साउँदले जानकारी दिए । घटनास्थल पुग्न मंगलसेनबाट ७ घण्टा लाग्ने भएका कारण घटनाको थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।

उद्धार कार्यका लागि केन्द्रसँग हेलिकप्टर माग गरिएको र हेलिकप्टर आएलगत्तै त्यसतर्फ थप जनशक्ति पठाउने तयारी भइरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्