०८ असार २०८३, सोमबार

घोडाघोडी ताल फुट्ने खतरा

भदौ ४, २०७७
घोडाघोडी ताल फुट्ने खतरा

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल र त्यसको तल्लो भेगमा रहेका मानव बस्ती उच्च जोखिममा परेको छ ।

निरन्तरको वर्षापछि सो तालमा पानीको सतह बढ्दै गएको छ । तर सो तालको पानी निकासद्वार जीर्ण हुनुका साथै वरिपरिको जमिन वर्षातको समयमा भाँसिदै गई कमजोर हुँदै गएपछि ताल फुट्ने उच्च जोखिम बढेको हो ।

ताल क्षेत्र घुम्न गएकी गोरखापत्र दैनिकमा कार्यरत पत्रकार चाँदनी आचार्यले माटो भाँसिएको तस्वीर पोस्ट गर्दै सचेत गराइन्, ‘तालको मुुख्य आउटलेट (निकासद्वार) धरासायी बन्दै गएको छ । वर्षाका कारण तालमा पानीको सतह बढ्नुका साथै तालको संरक्षणमा बनेका कमजोर संरचनाले कुनै क्षति वा विपत्ति नआउला भन्न सकिन्न । समयमै सम्बन्धित निकायको ध्यान जाओस् ।’ 

करीब २५ वर्ष पहिले साविक जिल्ला विकास समिति कैलालीले निर्माण गरेकोे आउटलेट सहितको बाँध भाँचिएर तालको पानी निरन्तर बग्दै गएको छ । निरन्तर बग्ने पानीको बहाबले बाँधमुनिको माटो बगेर बाँध नै बग्ने जोखिम बढेको छ ।

पंक्षी संरक्षण नेपालका हिरुलाल डगौराले बाँधसहित आउटलेट फुट्ने खतराले सिमसारको अस्तित्व र मानव बस्ती जोखिममा परेको चिन्ता व्यक्त गरे ।

उनले भने, ‘तालको पानी निकासद्वार उसै पनि जीर्ण छ । हालैको वर्षाले ठाउँठाउँमा माटो भाँसिन थालेको छ । समयमा रोकथामको कदम नचाले जतिबेला पनि ताल फुट्न सक्छ ।’ उनका अनुसार ताल फुटेमा जैविक विधिधतामा असर पर्नुका साथै तालको तल्लो क्षेत्रको मानव बस्ती डुबानमा परी भयावह अवस्था सिर्जना हुनेछ ।

ताल क्षेत्र गोही, रैथाने माछा, चरालगायत विभिन्न प्रजातिका जलीय जीवको बासस्थान तथा प्रजनन केन्द्र हो । संरक्षणकर्मी डंगौराले सो सिमसार क्षेत्रमा २९९ प्रजातिका पंक्षी, ६४ वटा मगर गोही, ११ किसिमका शंखेकिरा, घस्रने जीव लगायतको प्रमुख आश्रयस्थल तथा प्रजनन केन्द्र रहेको बताए । सिमसार क्षेत्रमा ४५० प्रजातिको वनस्पति समेत पाइने गरिएको बताइन्छ ।

बेलैमा नयाँ संरचना निर्माणमा ध्यान नदिए त्यहाँको जैविक विविधता मात्रै होइन, मानव वस्ती समेत जोखिममा पर्न सक्ने भन्दै सचेत गराउँदै उनले अगाडि थपे, ‘बाँध भत्केमा तालभन्दा तल्लो क्षेत्रमा रहेका नारायणपुर, डोरा, भालुफाँटा, घोडाघोडी, कौंहुवा लगायत आधा दर्जन मानव बस्ती डुबानमा परी हजारौं घर प्रभावित हुन सक्छ ।’

घोडाघोडी ताल तथा सिमसार क्षेत्र हेर्दै आएको घोडाघोडी नगरपालिका मार्फतको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीले आफूहरू सो बाँध निर्माणप्रति निकै संवेदनशील भएको तर वातावरणीय प्रभाव परीक्षण (ईआईए) हुन नसक्दा काम गर्न नसकेको बताए । 

हालै भाँसिएको जमिन पुरिसकेको बताउँदै उनले हालसम्म पुरानै संरचनालाई मर्मत सम्भारको काम मात्रै गरिरहेको जानकारी दिए ।

औसत ४ मिटरभन्दा बढी गहिराइ र २ हजार ७२६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्र तराईको सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । जुन सन् २००३ अगस्त १३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको थियो । ऐतिहासिक, जैविक, धार्मिक महत्वले भरिपूर्ण घोडाघोडी सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटन गन्तव्यको रुपमा चिनिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्