
मैले सम्मान गर्ने नेपाली कम्युनिस्ट अगुवामध्ये तपाईंको नाम पनि आउँछ । देश र जनताको परिवर्तनका निम्ति तपाईंले गरेको संघर्ष मैले जति नै बयान गरे पनि अपूरो हुन्छ र मेरो वशको कुरा पनि हो जस्तो लाग्दैन ।
त्याग र बलिदानको कुरा सायद तपाईं जति अरु कसैलाई पनि थाहा छैन होला, त्यसैले सिधै विषय प्रवेश गर्ने अनुमति चाहन्छु ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
झण्डै ६ महिना अघिदेखि देश कोरोना कहरमा बिरामी भएको छ । कोरोना ग्राफ उकालो लागेको लाग्यै छ । उद्योग, कलकारखाना, शैक्षिक संस्था, होटल तथा यातायात सबै बन्द छन् । लाखौं बालबालिका शिक्षा पाउनबाट वञ्चित छन् ।
बन्दाबन्दीले लगभग सबै क्षेत्रको स्थिति कहालीलाग्दो अवस्थामा पुगेको कुरा सर्वविदितै छ । देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । जनता घरमै बन्दी भएर बस्नुपर्दा दिनचर्या साह्रै कष्टकर बनेको छ । हुनेखानेहरू त जसोतसो जोहो गरेर गुजारा चलाउँदै होलान् । तर यो देशमा भुइँमान्छेको दिनचर्या विकराल बन्दैछ ।
भलै भोकले कोही मरेको खबर सुनिएको छैन । तर अभावले मान्छेलाई भित्रभित्रै रित्याउँदै लगेको छ । म आफैं सहभागी भएका विभिन्न आन्दोलनमा फ्युडियालिजम, क्यपिटालिजम, नेपोटिजम र फेवोरोटिजमका कुनै पनि अवशेष बाँकी रहँदैनन् र राखिँदैन भनियो । देश विकासको मूल शत्रु भ्रष्टाचार जरैदेखि उखेलेर फाल्ने कुरा त कति हो कति कर्णप्रिय लाग्थ्यो । धेरै नेपाली आमाका छोराछोरीले आफ्नो सहादतको पर्वाह सायद यिनैका निम्ति गरेनन् ।
देशमा ठूलाठूला आन्दोलन सुशासन र आमुल परिवर्तनका निम्ति भए । राजतन्त्रको अन्त्य भयो, गणतन्त्र आयो । हामी आमनेपाली जनता निकै खुशी भइयो । झन् भुइँमान्छेको त खुशीले भूइँमा खुट्टा रहेनन् । देशमा रहेको असमानता हट्ने भयो सबैलाई समानता र समावेशी बनाइने भयो भन्दै खुशीले गद्गद् भई बसें । हामीजस्ता आमजनता आशावादी हुँदै देशमा भएको परिवर्तनको आत्मासात गरियो ।
भुइँमान्छेका पनि दिन धपक्कै बल्ने भए, दिनचर्या सहज हुने भयो २ छाक टार्न अब समस्या नपर्ने भयो भन्दै बसियो । सायद जनताले नेकपालाई यसैकारण सत्तारोहरण गराए । भोकानांगा गरीब जनता सबैले साथ दिए ।
म जस्ता धेरै जनताले भोट हालेको सुशासन, समानता, र समृद्धिको सपना देखाउने वामपन्थीको सरकार त्यो पनि झण्डै दुईतिहाइको बहुमतले अहिले सत्तामा छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीले बागडोर सम्हाल्नुभएको हेर्दाहेर्दै साढे २ वर्ष बितिसकेछ । तपाईंले भारतले लगाएको नाकाबन्दी ताका देखाउनुभएको हिम्मतको सबैले खुलेर प्रशंसा गरेको सुन्दा तपाईं पनि म जस्तै पुलकित हुनुहुन्छ होला हगि ?
झन् भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर सार्वजनिक गरिएको नक्साले त हामी सबै नेपालीको कद झन् उचो बनाएको छ । तपाईंका राम्रा कामको इतिहासले उच्च मूल्यांकन गर्नुपर्छ र गर्ने पनि छ । तर अहिले देश निकै गम्भीर मोडमा छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
तपाईंलाई भोट हाल्ने आम मान्छेको अहिलेको अवस्था तपाईंलाई जगजाहेर नै होला । दैनिक ज्यालादारी गरेर खाने हजारौं मजदुरहरू एकछाक खानलाई पानी र घाम नभनी खुलामञ्चमा लामबद्ध भएर बसेको देख्दा तपाईंलाई पनि मलाई जस्तै च्वास्स मन पोल्छ होला हगि ?
यो त एउटा प्रतिनिधि घटना हो । एकपटक सोच्नुस् त कति अप्ठ्यारो परेको छ होला नेपाल र नेपाली जनतालाई । मेरो त मन मात्रै पोल्ने हो मैले हेरेर विचरा भन्नुबाहेक अरु केही गर्न सक्दिनँ तर तपाईं त देशको प्रधानमन्त्री धेरै कुरा गर्न सक्ने हैसियतमा हुनुहुन्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
सुन्छु देशमा भ्रष्टाचार र दण्डहीनता मौलायो रे ! तपाईं सत्ता मोहले गर्दा होला आत्मरतिमा रमाउनु हुन्छ रे ! सीमित आसेपासेबाहेक अरुलाई त चिन्नु पनि हुन्न रे ! तपाईं हठी हुनुभयो रे ! अरुको कुरा सुन्नु नै हुन्न रे ! आफ्नै पार्टीमा विधि र पद्धतिको खिलाफ जानुहुन्छ रे !
तपाईंको धपक्कै बलेको अनुहारले तपाईंमा एपोलोको जस्तो कुटिलता र विवेकले भरिएको पूर्ण मानवको झल्को दिन्छ । तपाईं नार्सिसस जस्तो आत्मरतिमा रमाउने मान्छे कदाचित हैन आम नेपालीलाई थाहा छ । तपाईं जस्तो त्यागी देशप्रेमी जनमतको कदर गर्ने मान्छे यसो गर्नुहुन्छ, मलाई यो कुराको कुनै विश्वास नै लाग्दैन । सायद तपाईंलाई मन नपराउने जत्थाले तपाईंको बढ्दै गरेको उचाइको मानमर्दन गर्न खोजेका होलान् । मेरो मनले भन्छ, तपाईंलाई लागेका आरोपहरू सबै मिथ्या हुन् । म किमार्थ यी आरोपलाई तपाईंले जस्तै स्वीकार गर्न सक्दिनँ । किनकि म पनि तपाईंजस्तै असत्य कुरा मन पराउँदिनँ ।
राजनीति मेरो पेशा होइन । तर म एक सचेत नेपाली नागरिक हुँ । देशको प्रगति हुँदा मेरो पनि प्रगति हुन्छ भन्ने सोच बोकेको एक प्रगतिशील आम नागरिक । समावेशिता, समन्यायिकता, दलित, महिला, पिछडा वर्ग सबैको समुल उन्नति हुने वैचारिक धरातल मेरो नसा–नसामा दौडिन्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
आमनेपाली जनता वैचारिक विचलन नभएको एउटा सिंगो नेतृत्वले देश चलाएको हेर्न चाहन्छन् । हेर्नुस् त कति बेथिति छ ? तपाईहरुले बहस गर्ने जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादको बलिमा जनता पिल्सिनु हुँदैन । समय सान्दर्भिक निकास अवश्य निकाल्नुहुनेछ । अहिलेको जल्दोबल्दो आवश्यकता त म जस्ता तमाम नेपाली जनताको बिहान–बेलुकाको गर्जो टार्ने कुरा प्रधान हो ।
समय कालजयी छ र बलबान पनि । समय बितिसकेको छैन । बरु अब बाँकी रहेको तपाईंको समय जनताको दुःखेको मनलाई मल्हमपट्टि लगाउन खर्चिनुपर्छ र म जस्ता आम नागरिकका घरका भित्तामा हाम्रा परिवारको फोटो राख्ने ठाउँमा तपाईंको पनि एकथान फोटो एक आदर्श व्यक्तिको रूपमासँगै रहेको हेर्ने मेरो इच्छा तपाईंले पूरा गर्नुहुनेछ भन्ने मेरो भरोसा छ । सबै भ्रमलाई चिर्न जरुरी छ । तपाईंको हातमा अहिले सबैथोक छ । सायद मैले भन्न खोजेको आशय बुझिसक्नुभयो होला ।
आगामी दिनमा नेपाली जनताले कसैलाई पनि सराप्नु हुँदैन । जनताले सिसिफसको जस्तो दुःख भोग्नु नपरोस् । देशको मुहार फेर्नलाई खम्बा बन्न नसके पनि इँटा बन्न पाइयोस् ।
अन्त्यमा, तपाईंका पालामा देश समृद्ध नेपाल सुखी नेपालीको नारातर्फ उन्मुख भई भोकानांगाको दिन फर्किएको हेर्ने ठूलो रहर पूरा हुनेछ भन्ने दीर्घ आशा राखेको छु ।
तपाईंको सोच देश र जनताको निम्ति सदैव सकारात्मक बनिरहोस् र तपाईंले टेक्ने धर्ती नडगमगाओस् ।