
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।
मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिका ‘डिजिटल दुव्र्यसनी’मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे। उनले त्यसका लागि आवश्यक ऐन, कानुन र निर्देशिका बनाउन सरकार प्रतिवद्ध रहेका उल्लेख गर्दै आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे।
५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले शनिबार आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकलाई आग्रह गरे।
मन्त्री गुरुङले कोभिड-१९ को बहानामा विद्यार्थीहरुको एउटा शैक्षिक सत्र खेर जान दिन नहुनेतर्फ समेत सचेत गराए। उनले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरकार कसैले पनि कोभिडको बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताए।