
पोखरामा एकैपटक ४० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पोखरा–१५ स्थित वडा प्रहरी कार्यालय, रामबजारमा कार्यरत १ महिलासहित ३९ पुरुष गरी ४० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार दिउँसो विज्ञप्तिमार्फत् जनाएको हो ।
पोखरामा यसअघि एकै पटक यति ठूलो संख्यामा प्रहरीमा संक्रमण देखिएको थिएन । योसहित पोखरामा कुल ६६ जना संक्रमित थपिएका हुन् ।
लमजुङका ५ र तनहुँका ३ गरी पछिल्लो पटक ७४ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा कुल संक्रमित संख्या ३ हजार २ सय ८० पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयम अनुसार वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत् ३६ वर्षीया महिला प्रहरी सहित बाँकी ३९ जना पुरुष प्रहरीहरुको उमेर २० देखि ४८ वर्षसम्म छ ।
यति ठूलो संख्यामा सुरक्षाकर्मीमा कसरी संक्रमण देखियो भन्नेबारेमा खोजी सुरु भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए । गण्डकीमा यसअघि बिहीबार बिहान २८ जनामा संक्रमण देखिएको थियो ।
