
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राम ‘भीआईपी’ क्षेत्र हो ।
त्यो क्षेत्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निवास छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, पर्यटन मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी लगायत भीआईपीका गाडीहरू साँझबिहान इत्राम भएरै ओहोरदोहोर गर्छन् ।
इत्राममै ६७ वर्षीया इन्द्रकला अधिकारी सडक छेउमा च्यातिएर धुजाधुजा भएको पालभित्र गिट्टी कुटिरहेकी हुन्छिन् । असोज महिनाको टन्टलापुर घाममा १ बोरा गिट्टी कुट्न उनलाई कम्तिमा ४ घण्टा लाग्छ । राम्ररी आँखा नदेख्ने भए पनि गाँसको जोहो गर्न उनले गिट्टी कुटिरहनुपर्छ ।
वृद्धा इन्द्रकला गिट्टी कुट्ने पाल नजिकै प्रदेशसभा भवन छ । प्रदेशसभा चलिरहेका बेला सांसदहरू सोही बाटो ओहोरदोहोर गर्छन् । तर वृद्धावस्थामा कडा परिश्रम गरिरहेकी वृद्धातिर कसैको नजर पुगेको छैन ।
‘शुरूशुरूमा कसैले वास्ता गर्छन् कि भनेर मैले नमस्कार गर्ने गरेकी थिएँ । कोही नहेर्ने भएपछि आजकल मैले पनि वास्ता गर्न छोडेकी छु,’ उनले भनिन्, ‘कोरोना महामारीका बेला सरकारले हामी जस्ता बुढाबुढीको दुःखसुख हेरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।’
रेडियोमा समाचार बज्दा सरकारले यति जनालाई राहत दियो भनेर सुन्ने गरेकी अधिकारीले आफ्ना लागि सरकार नभएको गुनासो गरिन् । ‘सबै हुनेखानेका पछि दौडिने रहेछन् । मेरा लागि त सरकार भने पनि ढुंगा नै हो, आफन्त भने पनि ढुंगा नै हो,’ उनले भनिन् ।
उनले सुर्खेतमा गिट्टी कुटेर गुजारा चलाउन थालेको ३५ वर्ष भएको छ । त्यसअघि उनी पतिसहित ज्यालादारी गर्न बजारमा जाने गर्थिन् । हाल उनका पति अस्वस्थ छन् । २०३५ सालतिर सरकारले उनलाई अस्थायी बसोबासका लागि थोरै जग्गा दिएको थियो । त्यो जग्गामा ऋण कर्जा गर्दै, ढुंगागिट्टी कुट्दै कच्ची घर बनाएका छन् । त्यही घरको आश्रयमा बस्ने र गिट्टी कुटेर गाँसको जोहो गर्ने इन्द्रकलाको दिनचर्या हो ।
‘दुधे बालकलाई काखमा च्यापेर उतिबेलैदेखि गिट्टी कुटथें । त्यही गिट्टी कुटेर मैले छोरालाई ८ कक्षा र छोरीलाई ६ कक्षासम्म पढाएँ । अहिले छोराबाट २ नातिनातिना छन् । छोराको परिवार पनि रोजगारीका लागि भारत बसेको छ । बुढाबुढी सुर्खेतमा छौं,’ उनले भनिन्, ‘छोराले भारतमा कमाएको पैसाले आफ्नै छोराछोरी पाल्न पुग्दैन, हामीलाई कसरी पालोस् ?’
एक बोरा गिट्टी कुट्दा १०० रुपैयाँ मात्रै कमाइ हुने बताउँदै उनले भनिन्, ‘म ३ दिनमा २ बोरा गिट्टी मात्रै कुट्न सक्छु । यो कमाइले श्रीमानलाई के खुवाउने ? आफू के खाने ? काम नगरी पनि नहुने भोकै मर्न पनि भएन ।’
विगतमा पतिले पनि गिट्टी कुट्न सघाउने गरे पनि अहिले अस्वस्थ छन् । पतिको उपचार खर्च र आफ्नो गाँसको जोहो गर्ने जिम्मेवारी इन्द्रकलाकै काँधमा छ । ‘हामी जस्ता गरीबको उपचार कसले गरिदिन्थ्यो र ? न सम्पत्ति छ, न शरीरमा तागत नै,’ उनले भनिन् ।
वृद्धभत्तामा विभेद !
पति बिरामी र आफू समेत राम्ररी आँखा नदेख्ने भएपछि सरकारले वृद्धभत्ता दिए हुन्थ्यो भन्ने आश गर्छिन् इन्द्रकला । तर उनलाई ७० वर्ष पुगेको छैन । सरकारले ७० वर्ष नपुगी वृद्धभत्ता दिँदैन ।
‘दलित समुदायका महिलालाई ६५ वर्षमै वृद्धभत्ता मिल्दो रहेछ, बाहुन भनेर सरकारले म जस्तो गरीबलाई हेर्न चाहेन,’ उनले गुनासो गरिन्, ‘म गरीब हुँदाहुँदै पनि बाहुन हुनु मेरो दोष हो ?’