०३ साउन २०८३, आइतबार

कक्षा चारदेखि नै विद्यार्थीलाई व्यवसायी बनाउँदै जनज्योती मावि

असोज १८, २०७७
कक्षा चारदेखि नै विद्यार्थीलाई व्यवसायी बनाउँदै जनज्योती मावि

बराहताल गाउँपालिका वडा नं. पाँच बड्डीचौरमा रहेको जनज्योती माध्यमिक विद्यालयले कक्षा चारमा अध्ययन गर्ने विद्यार्थीहरुलाई व्यावसायिक बनाउन उत्प्रेरित गर्दै आएको छ । 

सानै उमेरबाट नै व्यवसायमा बालबालिकालाई लगाउन सकेको खण्डमा त्यसले भविष्यमा राम्रो सफलता प्राप्त गर्ने अपेक्षाका साथ उक्त कार्यक्रम लागू गरिएको हो । 

लकडाउनको अवधीमा विद्यालय बन्द भएको र विद्यार्थीहरु खाली बस्ने अवस्था भएको भन्दै कक्षा चार देखि माथिका विद्यार्थीहरुलाई समूहमा विभाजन गरी विभिन्न व्यवसायमा लगाइएको हो ।

बराहताल वडा नं. ८ का शेरबहादुर पौडेल सोही विद्यालयमा कक्षा चारमा अध्ययनरत छन् । लकडाउनका कारण विद्यालय बन्द भएपछि उनले विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलसँग ऋण माग गरे । विद्यालयले उनलाई कुखुराको चल्ला खरिद गर्नका लागि भन्दै साढे सात हजार रुपैंया दियो । 

त्यो सबै पैसाबाट उनले कुखुराका चल्ला खरिद गरे । लेयर्स जातका कुखुरा अहिले ठूला भइसकेका छन् । अहिले कुखुराले अण्डा पारिरहेका छन् भने उनले दुइ कुखुरा र अण्डा विक्री गरेर पाँच हजार भन्दा बढि आम्दानी गरिसकेका छन् । अहिले उनीसँग ८ वटा माउ कुखुरा बाँकी छन् ।

मलाई खाली समय बसेर के गरौं भएको थियो । विद्यालयले ऋण दिएका कारण मैले कुखुरा पालें । कापी कलम, झोला खरिद गर्नका लागि थोरै भएपनि राहत भयो । उनले भने, 'अब म सधैं कुखुरा पालन नै गर्छु । धेरै कुरा सरहरुले सिकाउनु भएको छ ।'

वडा नं. पाँचका दिपेश मिजार कक्षा पाँच मा पढ्छन् । उनको कक्षाका २४ जना विद्यार्थीहरुको एक समूह छ । उक्त समुहले च्याउ खेती पनि गरिसकेको छ । दिपेश आफैले ब्रोइलर कुखुरा पाली सकेका छन् । उनले ब्रोइलर कुखुराबाट २० हजार आम्दानी गरे । त्यो आम्दानीबाट साइकल खरिद गर्न उनी सफल भए ।

अध्ययन गर्ने विद्यार्थी व्यवसायमा संलग्न हुँदै

कक्षा चार देखि नै व्यवसायी बनाउन खोजिरहेको विद्यालयमा भेटेरिनरी शिक्षा अध्यापन हुन्छ । यहाँ बराहताल गाउँपालिकाको ८ कुनाथरीकि गरिमा थापा तीन वर्षे भेटेरिनरी शिक्षाका लागि विद्यालयमा भनाई भएकी छिन् । लकडाउनको अवधीमा विद्यालयमा अध्ययन सुरु नभएपछि उनी गाउँमा नै बाख्रा र कुखुरा पालनमा व्यस्त छिन् । 

३५ वटा बाख्रा तथा ६५ वटा कुखुरा उनले पालिरहेकी छिन् । 'म कृषि पेशा नै अँगाल्न भनेर यो विषय पढन आएकी हुँ,' उनले भनिन्, पढ्दै, काम गर्दै सिक्दै अघि बढ्छु । त्यस्तो गरेको खण्डमा कस्तो सफल नभइएला र ?'

व्यवसायमा संलग्नमध्येका तीन विद्यार्थी
वीरेन्द्रनगरमा निता चन्दले पाँच सय भन्दा बढि ब्रोइलर कुखुरा पाल्दै आएकी छिन् । उनी पनि त्यहि विद्यालयकी पूर्व विद्यार्थी हुन । उनी जस्ता अधिकांश विद्यार्थीहरुलाई व्यवसायमा लाग्न प्रेरित गरिरहेको जनज्योती माविका कोअर्डिनेटर अशोक काफ्ले बताउँछन् । 

‘हाम्रो मुख्य चाहना भनेको विद्यार्थीलाई व्यवसायीक बनाउने नै हो,’ उनले भने, ‘त्यही अनुसारका विभिन्न कार्यक्रमहरु हामीले सञ्चालनमा ल्याइरहेका छौं । यहाँ अध्ययन गर्ने विद्यार्थीले विद्यालयको शुल्क मात्रै होइन, घरमा समेत घरखर्च पठाइरहेका छन् ।’

विद्यालयका प्रधानाध्यापक नारायण सिग्देल विद्यार्थीहरुलाई सानै उमेर देखि नै व्यवसायमा लाग्न प्रेरणा दिएको खण्डमा उनीहरु बीस बर्षको हुने बेलामा सफल व्यवसायी बन्न सक्ने बताए ।

‘हामीले अहिले सानो उमेरका विद्यार्थीलाई व्यवसाय गर्न प्रेरणा दिइरहेका छौं । हामीसँग विद्यार्थीहरुलाई ऋण लगानी गर्नका लागि सानो कोष छ । विद्यार्थीले चाहेको खण्डमा हामी ऋण दिने गर्छौं । विद्यार्थीले निर्व्याजी रुपमा ऋण प्रदान गर्दछन्,’ उनले भने, ‘उनीहरूको चाहना अनुसारको क्षेत्रमा लगानी गरेको खण्डमा उनीहरू सिक्दै जान्छन् र त्यसले भविष्यमा उनीहरुलाई काम प्रति थप लगाव बढेर जाने र वेरोजगारी बस्न नपर्ने हाम्रो ठम्याई छ ।’

उनले पछिल्लो समयमा नेपाली युवाले अध्ययन र अनुसन्धान बिनै ठूलो लगानी गर्ने र केहि समस्या भएको खण्डमा हतोत्साहित हुने गरेको बताए । 

सानै उमेरदेखि नै पेशा व्यवसाय गर्दा आउन सक्ने चुनौती, सामना गर्ने तरिकाको जानकारी भएको खण्डमा भविष्यमा यी बालबालिकालाई कुनै पनि समस्या हुँदैन । समस्या आएको खण्डमा आफै हल गर्न सक्छन् । 

उनी भन्छन्, ‘भर्यांगको एक दुई सिढीबाट खसेको खण्डमा थोरै चोट लाग्छ र त्यो निको हुन्छ तर सबैभन्दा माथिल्लो सिँढीबाट खसेको खण्डमा उसलाई धेरै चोट लाग्ने हुन्छ । अर्थात सानो व्यवसायबाट शुरू गर्दै लगानी बढाउन सकियो भने त्यस्तो व्यक्ति दुर्घटनामा पर्ने सम्भावना कम हुन्छ । त्यसले गर्दा सानै उमेर देखि नै व्यवसायमा लाग्न राज्यले नै बालबालिकालाई प्रेरणा दिएको खण्डमा राम्रो हुने र बेरोजगार भइ बस्नुपर्ने अवस्थाको अन्त हुने मेरो विश्वास छ ।’ 

कमेन्ट गर्नुहोस्