प्रदेश ५ को राजधानी दाङ तोक्ने प्रस्ताव फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभामा नाराबाजी गरेको छ ।
कांग्रेसको नाराबाजीका कारण प्रदेश सभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
राजधानी सार्ने प्रस्ताव फिर्ताको माग गर्दै कांग्रेसले नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक २ बजेसम्मका लागि स्थगित गरेका छन् ।
प्रदेश सभामा राजधानीको प्रस्तावमाथि छलफल गर्ने तयारी थियो ।
सोमवार बसेको प्रदेश सभा बैठकको शुरूमा सभामुखसँग समय लिएर नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले कोरोना महामारीका कारण मानिस भोकले छट्पटाउने अवस्था रहेको अवस्थामा अहिले राजधानीको विवाद निकाल्नुको औचित्य पुष्टि गर्न भनेका थिए ।
सरकारले शुक्रवार प्रदेशको राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको थियो ।