
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयले विद्यालय र संघसंस्थाका कर्मचारीलाई विना धितो कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले ५ लाखदेखि १५ लाख रुपैयाँसम्म विद्यालय र संघसंस्थाका कर्मचारीलाई विना धितो कर्जा प्रवाह गर्ने जनाएको छ ।
कार्यक्रमअनुसार कर्जा प्रवाह गर्दा मासिक वा त्रैमासिक रूपमा रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको बैंकको शाखाका प्रबन्धक बाबुराम खरेलले बताए ।
‘कर्जा माग्ने कर्मचारी ३ वर्षको स्थायी हुनुपर्ने र सेवानिवृत्त हुन ५ वर्षको अवधि बाँकी भएमा कर्जा प्रवाह गर्न सकिने छ,’ शाखा प्रबन्धक खरेलले भने, ‘स्थायी कर्मचारीको ४ वर्षको तलब स्केलअनुसार बैंकले न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्नेछ ।’
विना धितो कर्जाका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित धर्मजनता माध्यमिक विद्यालयसँग बैंकले सम्झौता समेत गरेको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई कर्जा प्रवाहका लागि बैंकले सम्झौता गरेको हो । बैंकले हाल सुन कर्जा, पेन्सन बुझ्ने खाता, राजस्व बुझाउने सुविधा, सञ्चय कोष, नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने सुविधा, डिमेट सुविधा, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क एटिएम कार्डलगायतका सेवा ग्राहकलाई दिँदै आएको छ ।