काठमाडौं, २८ वैशाख– सरकारले काठमाडौंको गौशालामा रहेको तिलगंगा आँखा अस्पललाई राष्ट्रिय गौरवको उद्योगका रुपमा विकास गर्ने भएको छ । आँखाका कृत्रिम लेन्स उत्पादन गरी निर्यायत गर्ने उद्देश्यसहित तिलगंगा आँखा अस्प्तालाई उद्योगका रुपमा विकास गर्न लागिएको हो ।
नेपाल आँखा कार्यक्रम अन्तर्गत हाल तिलगंगा प्रतिष्ठानले मातियाबिन्दु रोगको शल्यक्रिया गरी प्रत्यारोपण गरिने यस्तो कृतिम लेन्सको उत्पादन गर्छ ।
सरकारले आँखाको लेन्स उत्पादनलाई प्रवद्र्धन गर्दै राष्ट्रिय गौरवको उद्योग बनाउने लक्ष्य राखेको छ । तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै उद्योग मन्त्रालयले लेन्स निर्यातलाई तेब्बर परिमाणमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

मन्त्रालयको लक्ष्य अनुसार उद्योग विस्तार भए प्रतिवर्ष १५ लाख कृत्रिम आँखाका लेन्स निर्यात गरिने छ ।
लेन्स उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उत्पादन र प्रवद्र्धन तथा निर्यातका लागि मन्त्रालयले समेत सहयोग गर्ने गरी उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल र आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा। सन्दुक रुईतबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । सम्झौताको अवधि तीन वर्ष रहेको छ ।
उद्योगका लागि उत्पादन वृद्धि, प्रवर्द्धन तथा संरक्षणका लागि आवश्यक भौतीक, आर्थिक र नीतिगत सहयोगका लागि सरकारले सहयोग पुर्याउने सम्झौतापत्रमा उल्लेख छ ।
प्रतिष्ठानअन्तर्गत सञ्चालित उद्योगले हाल वार्षिक ५ लाख लेन्स उत्पादन गर्छ । सरकारको सहयोग रहे वार्षिक १५ लाखसम्म उत्पादन गर्न सकिने कार्यक्रमका प्रमुख रुईतले बताए ।
प्रतिष्ठानले २०५० सालदेखि हालसम्म करीव ४९ लाख लेन्स उत्पादन गरी वितरण गरेको जनाएको छ ।
उद्योग मन्त्री नविन्द्रराज जोशीले लेन्स उद्योगले नेपालको प्रतिष्ठा बढाएको भन्दै यसको अभिवृद्धिका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्दता जनाए । प्रतिष्ठान अन्तर्गत सञ्चालित लेन्स उद्योगलाई व्यापार नमूनाकै रुपमा अघि बढाउनुपर्ने बताए ।
प्रतिष्ठानले विश्वका ५० भन्दा बढी मुलुकमा यस्तो लेन्स निर्यात गर्छ । लेन्समा हाल नेपाल आत्मनिर्भर छ ।