
गएको अक्टोबर २ मा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत हङकङ पुगेका ५ जना यात्रुमा कोरोना संक्रमण पुष्टि भयो । त्यसको १७ दिनपछि अक्टोबर १९ का दिन नियमित उडानमार्फत नै हङकङ पुगेका थप ९ जनामा पनि कोरोना संक्रमण पुष्टि भयो । नेपालका विभिन्न कोभिड परीक्षण गर्ने निजी ल्याबबाट ‘कोरोना नेगेटिभ’ भएको रिपोर्ट देखाएर हङकङ उडेका उनीहरुमा त्यहाँ पुनः परीक्षण गर्दा भने ‘कोरोना पोजेटिभ’ देखिएको हो ।
यसरी नेपाल एयरलाइन्सबाट हङकङ पुगेका १४ यात्रुमा कोराना संक्रमण पुष्टि भएपछि एयरलाइन्सलाई हङकङ उडानमा लामो प्रतिबन्ध लागेको छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार हङकङले नेपाल एयरलाइन्सलाई पहिलो पटक अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगायो भने दोस्रो पटक फेरि २२ अक्टोबरदेखि नोभेम्बर ४ सम्म र तेस्रो पटक लगाएको प्रतिबन्ध अहिले पनि जारी छ । नोभेम्बर १२ देखि लागेको तेस्रो पटकको प्रतिबन्ध नोभेम्बर २५ सम्म जारी रहनेछ ।
यसैगरी निगमकै काठमाडौं–दुबई नियमित उडानमार्फत युएई पुगेका यात्रुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गत कात्तिक २८ गते दुबई पुगेका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी नेपालमा नेगेटिभ रिपोर्ट आउने र विदेशमा हुने परीक्षणमा भने पोजेटिभ रिपोर्ट आएपछि निगमलाई युएईको डाइरेक्टर जनरल अफ सिभिल एभिएसनले ध्यानाकर्षण गराएको छ । यसो त युएईको उजुरीको आधारमा नेपाल वायुसेवा निगमलाई अन्तररष्ट्रिय नागरिक उड्ययन प्राधिकरणले समेत स्पष्टीकरण सोध्ने तयारी गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
स्रोतका अनुसार निगमको काठमाडौं–नारिता उडानमार्फत जापान जाने हरेक २ देखि १० जनामा कोरोना पोजेटिभ देखिने गरेको छ ।
निजी ल्याबमा नक्कली रिपोर्ट बन्ने गरेको आशंका
विदेश जानेहरुका लागि निजी ल्याबहरुले नक्कली रिपोर्ट तयार गर्ने गरेको आशंका गरिएको छ । निजी ल्याबले व्यापारका लागि रिपोर्टमा मनपरी गरेको बताइएको छ । स्रोतका अनुसार कात्तिक २८ गते हिमालय एयरलाइन्सको नियमित उडानमार्फत साउदी अरब गएका यात्रुमध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुले सूर्य हेल्थ केयर र कान्तिपुर हस्पिटलमा रहेको कोभिड ल्याबमा कोरोना परीक्षण गराएको खुल्न आएको छ । साउदी अरबस्थित नेपाली दूतावासले सोही ल्याबमा कोरोना परीक्षण गराउन भन्दै आएकाले चलखेको आंशका गरिएको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
कात्तिक २८ गते नै फ्लाई दुबईबाट युनाइटेड अरब इमिरेट्स (युएई) गएकाहरु मध्ये २२ जनामा त्यहाँ गरिएको पुनः परीक्षणममा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुले स्टार हस्पिटल, यूर्य हेल्थ केयर र डिकोड ल्याबको कोरोना नेगेटिभको रिपोर्ट देखाएर युएई पुगेका थिए ।
निजी अस्पतालले दिने रिपोर्टको आधारमा यात्रा गरेका यात्रुमा विदेश पुगेपछि कोरोना पोजेटिभ देखिएपछि विश्वमा नै नकारात्मक सन्देश जान थालेको भन्दै पर्यटन मन्त्रालयले गम्भीरता देखाएको छ ।
यसो त ल्याबको विश्वसनीयता र गुणस्तरीयतामाथि पनि गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र कोभिड–१९ संकट व्यवस्थापन केन्द (सीसीएमसी)लाई यसबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको छ । मन्त्रालयका इलेक्ट्रोक्सि इन्जिनियर नशिव आचार्यको हस्ताक्षरित पत्रमा विदेशमा हुने उडानमा यात्रुहरुको पीसीआर रिपोर्टमा एकपछि अर्को गर्दै प्रश्न उठेकाले गम्भीरतापूर्वक आवश्यक छानबिन गर्न अनुरोध गरिएको छ ।
‘...यस्तो परिस्थित बारम्बार सिर्जना भएमा नेपालभित्र हुने गरेको कोभिड–१९ परीक्षणको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने, फलस्वरुप राष्ट्रिय छवि समेत धुमिल हुन सक्ने तथा नियमित उडानहरुमा समेत असर पर्न सक्ने हुनाले यसलाई न्यूनीकरण गर्नका लागि आवश्यक छानबिन तथा आवश्यक कारबाहीका लागि नेपाल एयरलाइन्सबाट प्राप्त भएका यात्रुहरुको विवरणसहितको पत्र यसैसाथ संलग्न गरी तहाँ पठाइएको व्यहोरा नेपाल सरकार (सचिवस्तर) को मिति २०७७–७–२८ को निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।
मन्त्रालयले विभिन्न प्रयोगशालाहरुले स्वाब कलेक्सन नै नगरी नक्कली रिपोर्ट दिने गरेको, स्वाब कलेक्सन पश्चात पनि रिपोर्ट म्यानिपुलेशन गरी पोजेटिभ दिने गरेको, क्वाब कलेक्सन प्रश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा त्यसो नगरेको जस्ता विषयमा गम्भीर छानबिन तथा आवश्यक कारबाही गर्न अनुरोध गरेको छ । साथै पीसीआर परीक्षणलाई थप विश्वसनीय बनाउनेतर्फ आवश्यक कदम चाल्न पनि ध्यानाकर्षण गराइएको छ ।