०५ साउन २०८३, मंगलबार
जनस्वास्थ्यमा खेलबाड

प्रादेशिक अस्पतालमा सिटीस्क्यान मशिन खरिद नगर्न जालझेल, बजेट फ्रिज गरेर बिरामीलाई निजीमा रिफर !

मंसिर १६, २०७७
प्रादेशिक अस्पतालमा सिटीस्क्यान मशिन खरिद नगर्न जालझेल, बजेट फ्रिज गरेर बिरामीलाई निजीमा रिफर !

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान मशिन खरिद प्रक्रिया अझै शुरू हुन सकेको छैन । अस्पताल प्रशासनको चरम लापरवाहीका कारण मशिन खरिदका लागि गत आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित साढे ८ करोड बजेट फ्रिज भएको थियो । अस्पतालले आन्तरिक किचलोका कारण मशिन खरिदका लागि लामो समय टेन्डर समेत गर्न सकेन ।

गत आर्थिक वर्षका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान मशिन खरिद गर्न साढे ८ करोड र यसकै भवन निर्माणका लागि ६ करोड विनियोजन गरेको थियो । तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले भने आन्तरिक कारण देखाउँदै सिटीस्क्यान मशिन खरिद गर्न समस्या रहेको भनेर आलटाल गरे । उनले रकमान्तरका लागि मन्त्रालयमा परिपत्र समेत गरे ।

डा. पाण्डेले हाल अस्पतालमा उक्त मशिन खरिद गर्न नसकिने भन्दै मन्त्रालयमा रकमान्तरका लागि पत्र पठाएका थिए । अस्पताल विकास समितिसँग छलफलविना नै मेसु पाण्डेले रकमान्तरका लागि पत्र पठाएको भन्दै चर्को आलोचना पनि भयो । मेसु पाण्डेले त्यतिबेला अस्पतालमा तत्काल सिटीस्क्यान मशिन खरिद गरिए पनि यसलाई कसरी सञ्चालन गर्ने भन्ने संरचना अभाव देखिएकाले रकमान्तरका लागि पत्र पठाएको स्वीकार गरेका थिए ।

सामाजिक विकास मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अस्पताल प्रशासनको लापरवाहीका कारण गत आर्थिक वर्षको बजेट फ्रिज भएको जनाएको छ । अस्पताल प्रशासन र व्यवस्थापन समितिको आन्तरिक किचलोका कारण बजेट फ्रिज भएको मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।

चालु आर्थिक वर्षमा पनि ५० लाख थपेर मशिन खरिदका लागि ९ करोडको बजेट विनियोजन भएको उनले बताए । मन्त्रालयबाट मशिन खरिदका लागि झक्झक्याउने काम भइरहेको उनको भनाइ छ ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पाण्डेले गत वर्ष आन्तरिक कारणले खरिद प्रक्रिया शुरू हुन नसकेको स्वीकार गरे । उनले भने, ‘गत आर्थिक वर्षमै मशिन खरिदका लागि साढे ८ करोडको बजेट आएको थियो तर त्यसलाई कार्यान्वयन गर्न सकिएन । चालू आर्थिक वर्षमा पनि ५० लाख थप भएर ९ करोडको बजेट आएको छ । हामी यथाशीघ्र खरिद हुने गरी काम गर्दैछौं ।’

बिरामीलाई सास्ती, निजीमा चर्को शुल्क असुली

प्रदेशको एक मात्र रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा नहुँदा बिरामीहरू सास्ती खेप्न बाध्य छन् । उक्त सेवाका लागि अस्पताल पुग्ने बिरामीलाई अहिले निजी अस्पताहरूमा पठाउने गरिएको छ । त्यो पनि प्रभावकारी नभएको बिरामीको गुनासो छ ।

मन्त्रालयले मशिन खरिदका लागि बजेट विनियोजन गर्दा पनि अस्पताल प्रशासनले खरिद प्रक्रिया शुरू नगरेको भन्दै सेवाग्राहीहरूले आक्रोश पोखेका छन् । धनगढी उपमहानगरपालिका १० जुगेडाका भगीरथ रानाले अस्पतालमा तत्काल सिटीस्क्यान सेवा शुरू हुनुपर्ने माग गरे । उनले भने, ‘अहिले अस्पतालमा आउने बिरामीहरूलाई सिटीस्क्यानका लागि निजी अस्पतालहरूमा पठाइने गरेको छ, यो निकै खर्चिलो छ,’ उनले थपे, ‘हामी सेती प्रादेशिक अस्पतालबाट यो सेवा लिन चाहन्छौं, हामीलाई निकै सहज हुन्छ ।’

बिरामीहरू निजी क्षेत्रको सिटीस्क्यान मशिनबाट सामान्य सेवाको लागि ८ हजारदेखि १८ हजारसम्म तिर्न बाध्य छन् । जबकि सेती प्रादेशिक अस्पतालमै यो सेवा शुरू भए बिरामीले ४ हजारमै सेवा पाउनेछन् ।

सेवाग्राही यथाशीघ्र अस्पतालमा सिटीस्क्यान सेवा शुरू हुनुपर्ने बताउँछन् । अस्पतालमा रहेका डाक्टरहरूको निजी अस्पतालमा लगानी भएका कारण प्रादेशिक अस्पतालमा सिटीस्क्यान मशिन खरिद गर्न नखोजेको अर्का सेवाग्राही रूपबहादुर कुँवरको आरोप छ ।

उनले भने, ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा राजनीति मौलाउँदै गएको छ । यो गलत परम्परा हो । सबैले आवाज उठाएर यसको समाधान खोजिनुपर्छ, रेफरल अस्पतालका रूपमा रहेको यस अस्पतालमा बिरामीको निकै चाप छ, सिटीस्क्यान मशिन यथाशीघ्र खरिद गरिनुपर्छ ।’

कसैको व्यक्तिगत स्वार्थका कारण नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने उनको तर्क छ ।

मेसुमाथि यस्तो आरोप

​त्यसो त मेडिकल सुपरिटेन्डेन्ट पाण्डेको बाहिर रहेको सिटीस्क्यान मशिनमा लगानी रहेको आरोप लाग्दै आइरहेको छ । तर मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डे निजी क्षेत्रको सिटीस्क्यान मशिनमा आफ्नो लगानी नरहेको दाबी गर्छन् ।

उनले भने, ‘कसैले प्रमाणसहित आओस् त्यसको सजाय म भोग्छु, मैले कुनै नर्सिङ होम अथवा निजी अस्पतालको सिटीस्क्यान मशिनमा लगानी गरेको छैन,’ उनले थपे, ‘मेरो सामान्य क्लिनिक छ, म त्यसमा बिहान बेलुका बस्छु, अन्य समय म अस्पतालमै बिताउँछु । 

सिटीस्क्यान खरिद गर्न आफूबाट कुनै अवरोध नभएको जिकिर उनले गरे ।

दुई वर्षपछि बल्ल भयो ठेक्का सम्झौता

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान मशिन खरिदको चर्चा विगतमा पनि चर्चा नचलेको होइन । सरकारी तथा विभिन्न गैर–सरकारी निकायले मशिन खरिदका लागि सहयोगको तत्परता देखाएकै हुन् ।

गत वर्ष अस्पताल प्रशासनको आन्तरिक किचलोका कारण मशिन खरिदका लागि छुट्ट्याइएको साढे ८ करोड रकम फ्रिज भयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले मशिन खरिद नगर्न अनेक प्रपञ्च रच्न थालेको भन्दै स्थानीयस्तरमा निकै विरोध भयो । 

अस्पताल प्रशासनले आन्तरिक कारण देखाउँदै सिटीस्क्यान मशिन खरिद गर्न नसकिने भन्दै रकमान्तरका लागि उल्टै मन्त्रालयमा पत्र पठायो तर मन्त्रालयले भने रकमान्तर गर्न नसकिने भन्दै तत्काल सिटीस्क्यान मशिन खरिद गर्न निर्देशन दियो ।

अस्पताल प्रशासनको प्रस्ताव मन्त्रालयले अस्वीकार गरेपछि त्यसपछि सिटीस्क्यान मशिन खरिद गर्नैपर्ने दबाब अस्पतालका मेसुमाथि पर्‍यो।

त्यसपछि फेरि यस वर्ष मशिन खरिदका लागि ९ करोड बजेट विनियोजन भयो, र बल्ल मशिन खरिदका लागि ठेक्का सम्झौता पनि गरियो ।

एक वर्षसम्म कुनै प्रक्रिया अगाडि बढ्न नसकेको सिटीस्क्यान मशिन खरिदका लागि अहिले भने सेती प्रादेशिक अस्पताल र काठमाडौंको म्याक्स मेडिटेक सिस्टम प्रालिबीच ठेक्का सम्झौता भएको छ ।

‘गत कार्तिक २५ गते म्याक्स मेडिटेक प्रालिसँग ५ लाख ४९ हजार अमेरिकी डलर अर्थात् ६ करोड ४६ लाख ८८ हजार ६ सय ७० रुपैयाँमा सिटीस्क्यान मशिन खरिदका लागि ठेक्का भएको हो,’ अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने, ‘म्याक्सले ५ महिनाभित्र सिटीस्क्यान मशिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख गरेका छौं । यथाशीघ्र काम हुन्छ ।’ 

‘म्याक्सले सोही बजेटमा १ सय २८  स्लाइसको सिटीस्क्यान मशिन खरिद गरी आपूर्ति गर्नुपर्ने सम्झौतामा उल्लेख गरेका छाैं,’ सूचना अधिकारी श्रेष्ठले थपे, ‘मशिन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने भौतिक संरचना समेत निर्माण भइरहेको छ । मशिन खरिद भएर आएमा सेतीमै सिटीस्क्यान सेवा सुचारू हुन्छ, अनि यसले प्रदेशवासीलाई निकै सहज हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्