
कोरोना महामारीका कारण ठप्प रहेको होटल व्यवसाय पुनः चलायमान हुन थालेका छन् । आन्तरिक पर्यटन क्षेत्र सक्रिय भएसँगै होटल क्षेत्रले पनि गतिशीलता पाएको हो ।
कोरोनाभाइरस (कोभिड– १९)को महामारी शुरू भएसँगै नेपालमा गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेको थियो ।
लकडाउनका बीचमा केही ठूला होटलहरूमा कोरोना संक्रमितहरूका लागि क्वारेन्टीन तथा आइसोलेसन सेन्टर बनाइएपनि अन्य साना तथा मझौला होटल व्यवसाय पूर्ण रूपमा ठप्प थियो ।
करीब ८ महिनादेखि ठप्प रहेको होटल व्यवसाय बिस्तारै चलायमान हुन थालेको हो ।
अहिले हेटौंडा, पोखरा, लुम्बिनीजस्ता पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकहरूको आउने क्रम बढेसँगै होटल क्षेत्र बिस्तारै पुनः सक्रिय हुन थालेको होटल व्यवसायीहरूले बताउन थालेका छन् ।
चाडबाड सकिएसँगै अहिले सौराहामा होटल क्षेत्रले विस्तारै गति लिन थालेको होटल व्यवसायीहरू बताउँछन् ।
होटल क्षेत्रमा अब अलिकति आशा लाग्न थालेको पार्क सफारी रिसोर्ट सौराहाका पर्यटन कर्मचारी फूलेन्द्र तामाङले बताए । कोरोना महामारीकै बीचमा पनि अहिले केही कारोबार हुन थालेको उनले बताए । उनका अनुसार, शुक्रवार र शनिवार विशेषगरी होटल क्षेत्रमा कारोबार बढी हुने गरेको छ ।
लोकान्तरसँग उनले भने, ‘विकेन्ड (शुक्रवार र शनिवार) होटलमा बढी भीड हुने गरेको छ, लकडाउनलाई हेरेर अहिले सास फेर्ने ठाउँ छ ।’
सौराहामा डिसेम्बरको सिजन भएको भन्दै अहिले बूकिङ पनि हुन थालेको बताए ।
उनले भने, ‘लकडाउनभन्दा अगाडिको अवस्थासँग तुलना गर्न त सकिँदैन, तर अहिले जुर्मुराउन थालेको छ ।’
‘कोरोनाको खोप आउन थालेको भन्ने समाचारका कारण पनि अहिले मानिसहरू कोरोनासँग डराएको जस्तो देखिँदैन,’ उनी भन्छन्, ‘त्यसै कारण पनि अब विस्तारै होटल क्षेत्र चल्न थालेको छ ।’
उनले अहिले लकडाउनअघिको कारोवारको तुलनामा १०/१२ प्रतिशत कारोबार हुने गरेको बताए ।
सौराहामा मात्र नभएर पोखरामा पनि होटल व्यवसाय बिस्तारै लय समात्दै छन् । पोखराका लेकसाइड लगायतका अन्य पर्यटकीय स्थानका होटलहरू बिस्तारै सञ्चालनमा आउन थालेको होटल व्यवसायीहरू बताउँछन् ।
लेकसाइइड होटल इन प्रालिका कर्मचारी सम्राट गुरुङ विस्तारै पोखरामा पनि होटल क्षेत्र चलायमान हुन थालेको बताउँछन् ।
लोकान्तरसँग उनले भने, ‘पहिलेको अवस्थासँग तुलना त नगरौं तर अब केही आशा देखिएको छ ।’
सौराहामा जस्तै पोखरामा पनि हप्ताको अन्तिम दिन वा शुक्रवार र शनिवार बढी मात्रामा कारोबार हुने गरेको छ । उनले भने, ‘वीकेन्डमा कारोबार बढी हुन्छ, अरू बेला त त्यति धेरै हुँदैन ।’
उनले अहिले होटलमा बास बस्न पनि ग्राहक आउन थालेको सुनाउँदै भने, ‘होटलमा बास बस्न पनि केही गेस्टहरू आउन थाल्नुभएको छ ।’
पछिल्ला दिनहरूमा कोरोना महामारीकै बीचमा पनि सुरक्षाका उपाय बताउँदै होटल चलाउनुपर्छ भन्ने मानसिकतामा व्यवसायी पुगेको होटल व्यवसायी महासंघका बाग्मती प्रदेश महासचिव दामोदर नेपाल बताउँछन् ।
आन्तरिक पर्यटनको चहलपहल न्युन मात्रामा भएपनि शुरू भएको देखिएको उनले बताए ।
उनले रसुवामा रहेका होटल व्यवसायीहरूले पनि अब केही सहज भएको, आन्तरिक पर्यटन बढेको सुनाउने गरेको बताए ।
उनले भने, ‘रसुवामा मात्र नभई पोखरा, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रहरूमा अहिले आन्तरिक पर्यटकहरू जान थालेको र होटल व्यवसायमा केही चहलपहल देखिन्छ ।’
उनले होटलहरूमा केही मात्रामा ग्राहकहरू आउने गरेपनि कारोवार न्यून हुने गरेको जानकारी दिए ।
‘२० प्रतिशत मात्रै कारोवार !’
कोरोना महामारीकै बीचमा अहिले होटलहरू सञ्चालनमा आउन थालेको होटल व्यवसायी महासंघका उप महासचिव शेरबहादुर थापाले बताए ।
लोकान्तरसँग उनले भने, ‘अहिले काठमाडौं र काठमाडौंबाहिर दुवैतर्फ व्यावसाय उस्तै देखिएको पायौं ।’
उनले अहिले होटलहरू केही मात्रामा सञ्चालनमा आएपनि कारोवार विगतको तुलनामा २० प्रतिशत मात्रै हुने गरेको बताए ।
उनले भने, ‘होटलमा आउने मानिसहरू पनि कतिपय त आफ्नै खाना/खाजा बोकेर आउने र खाने गरेका छन्, यसो हुँदा कारोवार चाहिँ बढ्न सकेको छैन ।’
उनले मनमा कोरोना संक्रमणको त्रास रहिरहेको भन्दै मानिसहरू अहिले पनि होटलमा आउन मन नगर्ने पाइएको बताए ।
सरकारले लकडाउन र निषेधाज्ञा हटाएपछि बिस्तारै होटल क्षेत्र अगाडि बढ्ने प्रयासमा रहेको होटल एसोसिएसन नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । लोकान्तरसँग उनले भने, ‘कारोवारको स्वरूप विस्तारै अगाडि आउने प्रयास भइरहेको छ ।’
उनले अहिले केही मात्रामा कारोबार भएको भन्दै यसैलाई कारोवार बढेको भन्न नमिल्ने बताए ।
उनले होटल व्यवसाय बचाउनका लागि सरोकारवालाले पनि साथ दिनुपर्ने बताए ।
‘पर्यटन आजको आजै सक्रिय भन्ने हुँदैन, सरकारले अन्तर्राष्ट्रिय उडान पनि खुलाएपछि भने केही समयमा विस्तारै चलायमान हुन सकिन्छ,’ उनले भने ।
उनले पर्यटनलाई पनि प्राथमिकतामा राखेर अगाडि बढ्ने र यहाँ आउनेलाई सुरक्षाको अनुभूति दिलाउन सक्ने अवस्था बनाउनतर्फ जोड दिए ।