मेक्सिकोमा पुरातत्त्ववेत्ताहरूले प्राचीन एज्टेक समुदायका दर्जनौं पुरुष, महिला तथा बालबालिकाको टाउकोको टावर उत्खनन गरेका छन् ।
पन्ध्रौं शताब्दीको मन्दिरमा ११९ वटा टाउकोहरू रहेको नेसनल इन्स्टिच्युट अफ एन्थ्रोपोलोजी यान्ड हिस्ट्रीले जानकारी दिएको छ ।
राजधानी मेक्सिको सिटीको एक भवनको जीर्णोद्धारका क्रममा पाँच मिटर अग्लो टावर पत्ता लागेको थियो । एज्टेकहरूले पूजा गर्ने सूर्य, युद्ध तथा मानवबलिका भगवानको मन्दिरमा चढाइएका शिरहरूको संकलन भएको विश्वास पुरातत्त्वविद्हरूले गरेका छन् ।
उक्त शहर कब्जा गर्न गएका स्पेनी आक्रमणकारीहरूको मुटु कँपाउने गरी बनाइएको खप्परको टावर हुएइ त्जोमपान्तलीको एक हिस्सा भएको विश्वास गरिएको छ ।
टाउको तथा भौतिक अवशेष धेरैजसो चाहिँ बन्दी बनाइएका योद्धाको भएको हुन सक्ने अनि अन्य चाहिँ देवतालाई प्रसन्न बनाउनका लागि दिइएको बलि हुनसक्ने विज्ञहरूको कथन छ ।
अहिलेसम्म उक्त स्थानबाट ६५० वटा खप्पर र शरीरका टुक्राटाक्री फेला परेका छन् । यो निकै महत्त्वपूर्ण पुरातात्त्विक जानकारी भएको बताइएको छ ।
एज्टेकको राजधानी टेनोकटिटलनमा रहेको मुख्य मन्दिर टेम्प्लो मेयर क्षेत्रमा खप्परहरूको यो टावर रहेको छ ।