
३२ वर्षको सम्बन्धपछि एइको तोयामा आफ्ना श्रीमाननसँग अलग भइन् । जापानमा बस्ने उनले वैवाहिक जीवनको लामो कालखण्ड घरधन्दा, बच्चाको हेरचाह र परिवारको आर्थिक व्यवस्थापनमा बिताइन्।
श्रीमानको नियन्त्रणमुखी स्वभावका कारण उकुसमुकुस महसुस गरे पनि छोराछोरीका लागि उनी सम्बन्धमै बसिरहिन्। तर, ६० वर्षको उमेरमा पुगेपछि जब छोराहरू वयस्क भए र श्रीमानलाई तत्काल स्याहारको खाँचो परेन, उनले डिभोर्स (पारपाचुके) रोजिन्। अहिले ६३ वर्षकी तोयामा भन्छिन्, 'डिभर्सपछि म यति खुसी भएँ कि म जताततै दौडिन चाहन्थेँ, मलाई मात्र स्वतन्त्रताको महसुस भयो।'
तोयामाको यो कथा अहिले एसियाली मुलुकहरूमा बढ्दो 'ग्रे डिभर्स' (५० वर्ष वा सोभन्दा माथिको उमेरमा हुने पारपाचुके) को एक प्रतिनिधि उदाहरण मात्र हो। जापान, दक्षिण कोरिया, हङकङ, ताइवान र चीन जस्ता परम्परागत समाजमा अचेल ५० र ६० को दशकमा पुगेका महिलाहरूले दशकौं लामो वैवाहिक सम्बन्ध तोडेर नयाँ जीवन सुरु गर्ने क्रम ह्वात्तै बढेको छ।
जापानमा मात्रै सन् २०२४ को तथ्याङ्क अनुसार लामो समयको विवाहपछि पारपाचुकेका लागि निवेदन दिनेमा पुरुषको तुलनामा महिलाको संख्या दोब्बर छ।
विगतमा एसियाली समाजमा पारपाचुकेलाई सामाजिक कलंक र शर्मको विषय मानिन्थ्यो। तर, समयसँगै परिवर्तन भएका कानुनी प्रावधानहरूले महिलाहरूलाई यो कदम चाल्न मद्दत पुर्याएका छन्।
दक्षिण कोरिया र जापानमा भएका नयाँ कानुनी सुधारले गृहिणीहरूलाई पनि श्रीमानको पेन्सन र सम्पत्तिमा अधिकार दिएको छ। यसले गर्दा आर्थिक रूपमा श्रीमानमाथि निर्भर हुनुपर्ने बाध्यता हटेको छ र महिलाहरूले बुढ्यौलीमा एक्लै बस्ने आँट गर्न थालेका छन्।
समाजशास्त्रीहरूका अनुसार मानिसको औसत आयु बढ्नु पनि यसको एक प्रमुख कारण हो। पहिलेको तुलनामा मानिसहरू अहिले अवकाशपछि पनि थप २० देखि ३० वर्ष सक्रिय जीवन बाँच्छन्। यस्तो अवस्थामा बाँकी जीवन दुःख र तनावपूर्ण सम्बन्धमा बिताउनुको साटो नयाँ ढंगले सुरु गर्ने चाहना महिलाहरूमा देखिएको छ।
विशेष गरी 'जेनेरेसन एक्स' (सन् १९६५-१९८० बीच जन्मेका) समूहमा पश्चिमी संस्कृति र व्यक्तिगत छनोटको प्रभाव बढी देखिन्छ, जसले पारिवारिक दायित्वभन्दा व्यक्तिगत खुसीलाई प्राथमिकता दिन थालेका छन्।
हङकङकी ५० वर्षीया इमान लाउको अनुभव पनि तोयामाको जस्तै छ। १४ वर्षको वैवाहिक जीवन र श्रीमानको धोकापछि सुरुमा उनी विक्षिप्त बनेकी थिइन्। तर, डिभर्सपछि उनले आफ्नो हराएको पहिचान पुनः फेला पारेको महसुस गरिन्। अहिले उनी हाइकिङ, पौडी, पियानो सिक्ने र नयाँ साथीहरूसँग यात्रा गर्नमा व्यस्त छिन्। उनी भन्छिन्, 'एक्लै जीवन यति शानदार हुन्छ भन्ने मलाई थाहै थिएन।'
एसियाली समाजमा पहिले डिभर्सलाई 'जीवनको अन्त्य' मानिन्थ्यो भने अहिले यसलाई 'नयाँ अध्यायको सुरुवात' का रूपमा हेर्न थालिएको सीएनएनको एउटा रिपोर्टमा भनिएको छ ।