
बालिका बलात्कारको आरोपमा उदयपुर र मोरङमा ६ जना पक्राउ पक्राउ परेका छन् ।
१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ डाँडा टोल बस्ने ३४ वर्षीय तोयाहाङ राई पक्राउ परेका हुन् ।
उनलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । तोयाहाङले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, मोरङमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुनवर्षी नगरपालिका-९ बस्ने २१ वर्षीय सुमन कुमार साह समेत ५ जना पक्राउ परेका छन् ।
उनीहरूलाई पनि प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।