
पछिल्लो समय वाणिज्य बैंकहरूमा ब्याजदर घटाउन होडबाजी चलेको छ । कतिपय बैंकले मुद्दती खातामा ब्याजदर घटाउँदै एक वर्षभन्दा तलको निक्षेपको ब्याजदर ४ प्रतिशतमा सीमित गरेका छन् ।
एक वर्षभन्दा कम समयका लागि गरिने मुद्दती निक्षेपको ब्याजदर ७.५० प्रतिशतभन्दा बढी कुनै बैंकले पनि दिएका छैनन् ।
भदौ महिनामा मात्रै ८ प्रतिशत ब्याज दिएका बैंकहरूले पनि अहिले ब्याजदर घटाइसकेका छन् । बैंकहरूले निक्षेपमा धमाधम ब्याजदर घटाउन थालेपछि उपभोक्ताहरू निराश हुन थालेका छन् ।
कोरोना महामारीका बीचमा केही रकम बचाएर जम्मा गर्दा पनि ब्याजदर घट्न थालेपछि उपभोक्ताहरू निराश बनेका हुन् ।
कुन बैंकले कति दिन्छन् ब्याजदर ?
अगाडि कायम गरिएको ब्याजदरलाई संशोधन गर्दै वाणिज्य बैंकहरूले गत पुस १ गते मुद्दती निक्षेपमा नयाँ ब्याजदर लागू गरेका छन् ।
जसअनुसार, २७ वाणिज्य बैंकमध्ये नेपाल एसबीआई बैंकले मुद्दती निक्षेपमा एक वर्षसम्मको अवधिमा सबैभन्दा कम ब्याज दिने गरेको छ ।
यस बैंकले मुद्दतीमा १ वर्षभन्दा कम समयका लागि ४ प्रतिशत ब्याजदर कार्यान्वयनमा ल्याएको छ ।
एसबीआईले १ वर्षदेखि २ वर्ष, २ वर्षदेखि ३ वर्ष र ३ वर्षदेखि १० वर्षसम्मका लागि क्रमशः ५ प्रतिशत, ५.५० प्रतिशत र ६.५० प्रतिशत ब्याजदर कार्यान्वयनमा ल्याएको छ ।
यस्तै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले १ वर्षसम्मको मुद्दती निक्षेपमा ५.५० प्रतिशत ब्याज दिन थालेको छ । बैंकले १ वर्षभन्दा बढी समयका लागि भने ७ प्रतिशत ब्याजदर घोषणा गरेको छ ।
कृषि विकास बैंकले १ वर्षसम्मको मुद्दती निक्षेपमा ७.२५ प्रतिशत ब्याजदर लागू गरेको छ । १ वर्षभन्दा बढी समयका लागि पनि बैंकले सोही ब्याजदर कायम गरेको छ ।
एनएमबी बैंकले १ वर्षसम्मको मुद्दती निक्षेपमा ६.५० प्रतिशत र १ वर्षभन्दा बढी समयका लागि ७.७५ प्रतिशत ब्याजदर लागू गरेको छ ।
एनआईसी एशिया बैंकले १ वर्षसम्म र सोभन्दा बढी दुवै प्रकारको मुद्दती निक्षेपमा ६.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
यस्तै, एनसीसी बैंकले १ वर्षभन्दा कम समयका लागि ६.२५ प्रतिशत ब्याजदर तोकेको छ भने १ वर्षभन्दा बढी समयका लागि ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कोरोना महामारीका कारण अर्थतन्त्र सुस्त भएको र बैंकमा कर्जाको माग कम भएका कारण निक्षेपमा ब्याजदर कम हुन गएको बैंकरहरू बताउँछन् ।
बैंकर्स भन्छन् : अझै केही घट्न सक्छ
पूर्व बैंकर अनलराज भट्टराई बैंकमा कर्जाको माग नहुँदा त्यसको असर निक्षेपमा समेत परेको बताउँछन् ।
‘बचतको दर बढ्दो क्रममा रहेको अहिलेको अवस्थामा कर्जाको माग भने निकै कम भएको देखिन्छ, त्यसैकारण पनि निक्षेपको ब्याजदर घटाएको पाइन्छ,’ लोकान्तरसँग उनले भने ।
उनले कर्जाको माग अझै बढिनसकेको बताउँदै यसो हुँदा मुद्दतीमा ब्याजदर अझै घट्नसक्ने बताए । अझै केही समय अर्थतन्त्र चलायमान हुन समय लाग्ने र कर्जा प्रवाह पनि कम मात्रामा हुने सुनाउँदै यसको प्रभाव मुद्दती निक्षेपमा पर्न जाने उनले सुनाए ।
यता वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल केही बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाए पनि सानिमा बैंकले भने बढाएको बताउँछन् । लोकान्तरसँग उनले भने, ‘केही बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदर घटाए पनि हाम्रोमा भने बढाइएको छ ।
बचतको ब्याजदर अझ अली बढी होस् भन्ने बैंकर्सहरूको चाहना भएको बताउँदै उनले भने, ‘उपभोक्तालाई नकारात्मक ब्याजदर कायम नहोस् भन्ने कुरामा हामी सचेत छौं ।
‘कर्जाको माग बढी भएमा निक्षेपको ब्याजदर बढी हुने र कर्जाको माग कम भएमा मुद्दती निक्षेपको ब्याजदर पनि कम हुने हो,’ उनले भने, ‘अहिले कर्जाको ब्याजदर पनि घटिरहेको छ ।’
के भन्छ राष्ट्र बैंक ?
नेपाल राष्ट्र बैंकका अनुसार, पछिल्लो समय बैंकहरूमा तरलता २ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ ।
बैंकमा ४२ खर्ब ४३ अर्ब बचत भएको छ भने ३५ खर्ब ६४ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले बताएको छ ।
बजारमा कर्जा प्रवाहको अवस्थामा सुधार हुन नसक्दा बचतको ब्याजदर बैंकहरूले केही समयका लागि मात्रै घटाएको भन्दै विस्तारै यो समस्या समाधान हुँदै जाने राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।
लोकान्तरसँग उनले भने, ‘यो केही समयका लागि मात्रै हो, विस्तारै अटो करेक्सनतर्फ जान्छ ।’
मौद्रिक नीतिको पहिलो त्रैसामिक समीक्षा गर्दै राष्ट्र बैंकले मुद्दती र बचत खातामा ब्याजअन्तर ५ प्रतिशतभन्दा बढी गर्न नपाउने व्यवस्था गरेको थियो ।
बचतमा बैंकहरूले ग्राहकहरूलाई दिने ब्याजदर बढोस् भनेर राष्ट्र बैंकले त्यस्तो नीति लिए पनि यसले प्रभाव पार्न भने सकेन ।
बैंकहरूले त्यसअघि नै मुद्दतीमा दिने ब्याजदर घटाउँदा बचतको ब्याज बढाउनु नपरेको हो ।
सह–प्रवक्ता पोखरेल बिस्तारै कर्जा प्रवाह बढ्दै जाने बताउँदै बैंकहरूले केही समयमा मुद्दतीमा ब्याज बढाउनुपर्ने बताउँछन् ।
उनले भने, ‘कर्जा प्रवाह बढ्नेबित्तिकै बैंकहरूले मुद्दतीमा ब्याज बढाउनुपर्छ, निक्षेपकर्ताहरूले चिन्ता मान्नु पर्दैन ।’
कुन बैंकको कति ब्याजदर ?