१७ असार २०८३, बुधबार

माविमा स्तरवृद्धि भएको १० वर्ष बित्दा पनि शिक्षक दरबन्दीविहीन

माघ १३, २०७७
माविमा स्तरवृद्धि भएको १० वर्ष बित्दा पनि शिक्षक दरबन्दीविहीन
प्रतिकात्मक तस्वीर

माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दा समेत बागलुङको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ ।

जैमिनी नगरपालिका–९ पैंयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन ।

१० कक्षासम्म पढाइ हुने सो विद्यालयको आधारभूत तहमा ६ दरबन्दी र १ राहत शिक्षक छन् । बाँकी ६ शिक्षक निजी स्रोतका छन् ।

दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ । शिक्षकलाई तलब खुवाउनै धौधौको स्थिति छ । निजी स्रोतबाट राखिएका शिक्षक टिकाउन गाह्रो भइरहेको प्रधानाध्यापक सतीदेवी थापाले बताइन् । ‘न्यून तलब सुविधा दिएर राख्नुपर्ने अवस्था छ, अन्यत्र राम्रो अवसर आउँदासाथ शिक्षकहरू जानुहुन्छ,’ उनले भनिन्, ‘हामीले रोकेर राख्न पनि मिलेन ।’

हालसम्म २०–२२ शिक्षकले विद्यालय छाडेको प्रअ थापाले सुनाइन् । ‘दरबन्दी नहुँदा एकदमै समस्या छ, स्थानीय स्रोत र अभिभावकबाट चन्दा सहयोग जुटाएर खर्च धानेका छौं,’ उनले भनिन् । स्थायी दरबन्दीमा योग्य शिक्षक नहुँदा पढाइको गुणस्तरमा भनेजस्तो सुधार ल्याउन नसकिएको विद्यालयले जनाएको छ ।

आधारभूत तहको दरबन्दीमा रहेका शिक्षकले मावि तहलाई समेत हेर्नुपर्ने हुँदा तल्लो कक्षामा पढ्ने बालबालिकाको पढाइ समेत प्रभावित हुने गरेको छ ।

‘विद्यार्थी संख्या पनि राम्रो छ, भौतिक पूर्वाधार पनि छ, दरबन्दी नपाएका कारण हामी समस्यामा पर्‍यौं,’ विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरि शर्मा आचार्यले भने । स्थानीयको ठूलो दुःख, कष्ट र मेहनत विद्यालयमा परेको उनको भनाइ छ ।

विद्यालयको भौतिक र शैक्षिक सुधारका योजनामा स्थानीयवासीले स्वतःस्फूर्त सहयोग गर्दै आएका छन् । दरबन्दी व्यवस्थापनका लागि नगरपालिकाको शिक्षा शाखा लगायतका निकायमा धेरैपटक माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको प्रअ थापाको गुनासो छ ।

शून्य दरबन्दी भएका विद्यालयले पाउने गरेको शिक्षण सहयोग अनुदानसमेत गत वर्षदेखि रोकिएपछि विद्यालय थप मारमा छ । अनुदानबाट शिक्षकको तलब खर्चमा धेरथोर भरथेग हुँदै आएको थियो । शिक्षा शाखा प्रमुख खेम आचार्यले नगरभित्र शिक्षक दरबन्दी मिलानको प्रक्रिया थालिएको बताए ।

‘विभागको कार्यविधिअनुसार दरबन्दी मिलानको तयारीमा छौं, शून्य दरबन्दी रहेका विद्यालयको समस्या अब हल हुन्छ,’ उनले भने । विद्यार्थी संख्या र भूगोल दुवैलाई आधार मानेर दरबन्दी मिलान गर्ने योजनामा नगरपालिका छ ।

दरबन्दी मिलानमा ढिलाइ हुँदा कुनै विद्यालयमा शिक्षक कम, विद्यार्थी बढी त कतै विद्यार्थी कम, शिक्षक बढी भएको स्थिति छ । 

salt training

कमेन्ट गर्नुहोस्