१७ असार २०८३, बुधबार

१२ कक्षाको नतिजा सार्वजनिक भएपछि स्नातकको भर्नातिर विश्वविद्यालयहरू

माघ २१, २०७७
१२ कक्षाको नतिजा सार्वजनिक भएपछि स्नातकको भर्नातिर विश्वविद्यालयहरू

राष्ट्रिय परीक्षा बोर्डले सोमवार १२ कक्षाको नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ ।

सार्वजनिक नतिजाबाट झण्डै ४ लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च शिक्षामा ढोका खुलेपछि विश्वविद्यालयहरूले भर्ना कार्यक्रम शुरू गर्ने भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र फागुनमा गर्ने निर्णय गरेको छ । शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा प्रारम्भ गर्ने निचोडमा विश्वविद्यालय पुगेको जानकारी दिए । विश्वविद्यालयले ३ महिनापछि सारेर भर्ना कार्यक्रम शुरू गर्ने भएको हो । यसअघि मंसिरमा स्नातक तहको पहिलो वर्षको भर्ना गर्ने गरिएको थियो ।

पोखरा विश्वविद्यालयले १२ कक्षाको नतिजा सार्वजनिक भएलगत्तै भर्ना शुरू गरिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले जानकारी दिए । विश्वविद्यालय मातहतका कलेजले भर्ना कार्यक्रम जारी राखेको र अब नतिजा आएलगत्तै आङ्गिक क्याम्पसमा समेत भर्ना खोलिने जनाइएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले माघबाट स्नातक तहको भर्ना कार्यक्रम शुरू गर्ने निर्णय गरेको छ । संस्कृत विश्वविद्यालयमा शैक्षिक सत्र कहिलेबाट प्रारम्भ गर्ने भन्ने निर्णय विश्वविद्यालयको सभाबाट गर्ने परम्परा छ ।

विश्वविद्यालयका कूलसचिव माधव अधिकारीले माघबाटै स्नातक तहको पठनपाठन शुरू गरिने जानकारी दिए । विश्वविद्यालयले प्राकशास्त्री तह उत्तीर्ण गरेका विद्यार्थीलाई पुस महिनामै स्नातक तहमा भर्ना गरिसकेको छ ।

संस्कृत बाहेकका अन्य विषय अध्ययन गरेका ११ र १२ कक्षाका विद्यार्थीलाई ६ महिना संस्कृत अध्यापन गराएर स्नातक तहमा अध्ययनका लागि बाटो खुला गर्ने गरिएको छ । यसलाई प्राकशास्त्री तह भन्ने गरिएको छ । अब १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई समेत भर्ना गरी माघबाटै पठनपाठन प्रारम्भ गरिने जनाइएको छ ।

१२ कक्षाको नतिजा सार्वजनिक भएलगत्तै मध्यपश्चिम विश्वविद्यालयले स्नातक तहका लागि भर्ना आह्वान गर्दैछ । विश्वविद्यालयका कूलपति प्रा.डा. नन्दबहादुर सिंहले स्नातक तहका कार्यक्रम माघबाटै प्रारम्भ गरिने जानकारी दिए । विश्वविद्यालयले स्नातक तहका सबै कार्यक्रम सेमेस्टर प्रणालीमा शुरू गर्ने गरेको छ ।

फागुनबाट स्नातक तहको शैक्षिक सत्र प्रारम्भ गरिने छ । कोरोना भाइरसको प्रभावका कारण केही महिना ढिला गरेर भर्ना कार्यक्रम शुरू गरिने भएको हो ।

आगामी ४ वर्षभित्र हाल बिग्रेको स्नातक तहको शैक्षिक सत्र मिलाउने योजना विश्वविद्यालयले बनाएको छ । गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्