३१ जेठ २०८३, आइतबार

निरुता सिंहलाई २५ वर्षदेखि नछाडेको त्यो प्रश्न

माघ २४, २०७७
निरुता सिंहलाई २५ वर्षदेखि नछाडेको त्यो प्रश्न

एक समयकी चर्चित अभिनेत्री निरुता सिंहको लोकप्रियता नेपाली फिल्म उद्योगमा अहिले पनि लोभलाग्दो छ । 

विवादमा कम आउने, गसिपबाट सधैं टाढा रहने, पाको पुस्ताकी सुन्दर र भलादमी अभिनेत्री निरुताले त्यसबेला चलचित्रमा काम गर्दा प्रदर्शन हुने सबैभन्दा धेरै चलचित्रकी अभिनेत्रीमा उनकै नाम आउँथ्यो ।

‘नम्बर वान’ अभिनेत्रीको ‘ट्याग’ पाएकी उनै अभिनेत्री एकाएक चलचित्र क्षेत्रबाट टाढा भइन् । बीचको १० वर्ष आफूलाई चलचित्र उद्योगबाट टाढै राखिन् ।

भारतको मुम्बईमा बस्छिन् निरुता सिंह । त्यहाँ इन्टेरियर डिजाइनको काम पनि गर्दै आएकी छन् । बेला मौकामा नेपाल आउँछिन् । नेपाल आएसँगै कहिले अन्तर्वार्ता दिएर त कहिले शुभचिन्तकसँग सेल्फी खिचेर उनको समय बित्छ ।

‘नेपाली चलचित्र मेरो परिवार जस्तै हो,’ उनी भन्छिन्, ‘नेपाल आएका बेला मेरा नजिकका साथीभाइहरू, चलचित्रकर्मी, सहकर्मीहरूसँग भेट हुन्छ । मेरो परिवार उता भए तापनि यता पनि मेरा धेरै आफन्त हुनुहुन्छ ।’

निरुताको तन भारतमा छ तर मन नेपालमा छ । उनको परिचय पनि यहीँ हो नेपाली अभिनेत्री ।

त्यसबेलाका धेरै फिल्ममा उनको उपस्थिति अनिवार्य जस्तै थियो । उनी १ दशक बढी समय पहिलो नम्बरमा टिक्ने सफल अभिनेत्री हुन् ।

२०६४ सालमा ‘इन्टेरियर डिजाइनिङ’ सिक्न भनेर मुम्बई हानिएकी उनी त्यसपछि बिस्तारै हराइन् । काम राम्रै थियो, काम गरेर दाम पनि राम्रै थियो तर एकाएक चलचित्र उद्योगबाट टाढा हुँदा उनका शुभचिन्तकमा निराशा छायो ।

पुरानो सन्दर्भ सुनाउँदै निरुताले भनिन्, ‘इन्टेरियर डिजाइनिङ सिक्ने र मुम्बई फिल्म क्षेत्रसँग नजिक भई काम सिक्ने सोच बोकेर गएकी थिएँ । इन्टेरियर डिजाइनिङको कोर्स त पूरा भएन तर धेरथोर ज्ञान बटुल्न सफल भएँ । यता छोड्दा धेरैथोरै नराम्रो फिल चाहिँ भयो ।’

मुम्बई गएसँगै निरुता चलचित्र उद्योगबाट पलायन भएको चर्चा चल्थ्यो । ‘मुम्बई जानु कला क्षेत्रबाट पलायन थिएन, विश्राम पक्कै थियो,’ निरुता भन्छिन्, ‘तर म यो उद्योगबाट कहिल्यै टाढा त हुन सकिनँ । यस उद्योगसँग निकट रहेर त नियालिरहेकी थिएँ नि !’

निरुतालाई नेपालमा मात्रै होइन, मुम्बईमा पनि नेपालकी स्टार भनेर प्रशंसा गर्नेहरू भेटिन्छन् । यसले आफूलाई नेपालकी चलचित्रकर्मी हुनुमा गर्व अनुभूति हुने बताउँछिन् ।

नेपालमा यस्तो लोभलाग्दो चर्चा, बलिउडमा उनलाई किन काम मिलेन ? निरुता हाँस्दै भन्छिन्, ‘म यताको स्टार डममै विश्वास गर्थें । उता शून्यबाट करिअर किन शुरू गर्नु ?’ तर उनी १ दशकसम्म किन चलचित्र उद्योगसँग जोडिन सकिनन् ? त्यो उनले खुलाउन मानिनन् । तर भनिन्, ‘समयभन्दा धेरै पावरफुल यो संसारमा केही हुँदैन ।’ 

मुम्बईमा फ्याट्टफुट्ट बलिउडकर्मीलाई भेट्ने, केही बलिउड फिल्म कम्पनीमा विभिन्न भूमिकामा रहेर काम गर्ने र भोजपुरी चलचित्रसँगै विभिन्न विज्ञापनमा उनी काम गरिरहिन् ।

उनी बेला–बेला नेपाल आउँछिन् । उनलाई त्यसबेला नेपाल छाड्नुअघि जस्तो माया मिल्थ्यो, अहिले पनि त्यस्तै माया पाएकोमा खुशी लाग्छ ।

उनी सम्भव भएसम्म नेपाल एयरलाइन्सको टिकट काट्छिन् । किनभने नेपाल एयरलाइन्समा धेरैजसो नेपालीहरू भेट्न पाइन्छ । एयरलाइन्समा चढेका नेपाली चलचित्रका फ्यानहरूले देखाएको मायाले उनी मख्ख पर्छिन् । एयर होस्टेजले ‘निरुता दिदी’ भन्दै दिएको ‘ट्रिट’ उनलाई असाध्यै देश प्रेम लाग्ने सुनाउँछिन् ।

एउटा कलाकारले देश छाडेपछि बाहिरबाट पाउने प्रेम असाध्यै पावरफुल हुन्छ । उनले भनिन्, ‘भारतमा भेटिने धेरै नेपालीहरूले अहो तपाईं, देशको स्टार ! फिल्ममा आउनुपर्‍यो भन्नुहुन्छ । यसले मलाई चलचित्र क्षेत्रमा निरन्तर काम गरिरहुँ भन्ने हुन्छ ।’

निरुताले नेपाली चलचित्र उद्योगबाट पाएको मायालाई कहिल्यै नभुल्ने बताउँछिन् । ‘म बेला–बेला नेपाल आउँदा यहाँबाट पाउने व्यवहार, नेपालका गाउँ र कुना काप्चा पुग्दा पाउने व्यवहारले नेपाल र नेपालीहरूबाट पाएको मायाबाट कहिल्यै टाढा पुग्न दिइनँ,’ उनले भनिन्, ‘मैले जीवनमा जे पाएँ त्यो नेपालबाटै पाएकी हुँ । कसरी यो क्षेत्रबाट टाढा हुन सक्छु ?’

निरुता फेरि अघिको प्रसंगमा फर्किइन् । उनले भनिन्, ‘त्यसबेला काम त पाइरहेकी थिएँ तर इन्टेरियर डिजाइनिङ सिक्न र केही सम्भावना खोज्दै त्यहाँ पुगेकी थिएँ तर यो उद्योगबाट पलायन भएको थिइनँ ।’

निरुता अब चलचित्र उद्योगमा निरन्तर काम गर्ने गरी योजना बनाइरहेकी छन् । लामो समयपछिको ‘ग्याप’पछि उनी पछिल्लो समय चलचित्र उद्योगसँग अरु धेरै निकट हुँदै गएकी छन् । 

केही वर्षअघि निर्माण भएको चलचित्र नाई नभन्नु ल– ५ मा सानो भूमिकामा काम गरेसँगै चलचित्र उद्योगमा ‘कम ब्याक’ गरेकी निरुताले त्यसपछि दाल भात तरकारी, क्याप्टेन लगायत चलचित्रमा काम गरिन् । यी चलचित्रमा निरुताले राम्रै पारिश्रमिक पाइन् ।

राम्रै भूूमिका र आकर्षक पारिश्रमिकमा निरुतालाई काम गराउन खोज्ने निर्माता निर्देशकको लिस्ट अहिले पनि उस्तै रहेछ । निरुताले भनिन्, ‘मलाई अब कुनै चलचित्रमा काम गरेर हिट हुनु छैन । जुनसुकै चलचित्रमा काम गरुँ, फरक स्वाद दिन सकुँ भन्ने लाग्छ । अब स्क्रिप्ट र चलचित्र निर्माण गर्ने टीम हेरेर निर्णय लिन सक्छु ।’

... ...

तुलसी घिमिरेले सन् १९९३ मा निर्देशन गरेको चलचित्र ‘दक्षिणा’बाट नेपाली चलचित्रमा प्रवेश गरेकी निरुताले त्यसपछिका १ दशक नेपाली चलचित्रमा एकछत्र राज गरिन् । सबैभन्दा धेरै व्यस्त अभिनेत्रीको रूपमा निरुताको नाम आउँथ्यो । अभिनयबाट सबैलाई रुवाउन सक्ने खुबी भएकी अभिनेत्री निरुताले चलचित्रको पर्दामा पाएको दुःख, संघर्ष देखेर दर्शक भक्कानो छोडेर रोए । रंगीनदेखि ‘ब्ल्याक एण्ड ह्वाइट’ टेलिभिजनमा निरुतालाई हेर्नेले उनको दुःख सहेनन् । गहभरि आँसु पारे । 

उनी भन्छिन्, ‘त्यसबेला समाजमा नारीलाई हेप्ने, सधैं नारी दोस्रो दर्जामा राख्ने, नारीमाथि कुटपिट गर्नेजस्ता कथा समाजमा व्याप्त थिए । ती कथा पर्दामा देख्दा सबैले आफ्नो पीडा जस्तै भान हुन्थ्यो । जसको प्रतिनिधित्व गर्दा मलाई सबैले रुचाउनुभयो । अब मैले गर्ने र मैले उठाउने भूमिका पनि त्यस्तै रियल कथासँग निकट हुनुपर्छ ।’

निरुतालाई अहिले प्र्राविधिक, अभिनय र स्तरीय हलका हिसाबले नेपालको चलचित्र उद्योग अघि बढ्दा खुशी लागेको छ । तर विगतमा जस्तो गतिला कथाको भने अभाव महसूस भएको छ ।

... ...

उनले अभिनय गरेका मनमन्दिर, दर्पण छायाँ, बन्धकी, दुई किनारा, दुःख, आमाको काख, आफन्त, माइती, माइली, सन्तान थरिथरिका, लहना लगायतका २ दर्जन बढी चलचित्रहरू सुपरहिट छन् ।

पछिल्लो समय नेपाली चलचित्रमा प्राविधिक रूपमा निकै राम्रा चलचित्र बनिरहेको निरुताको भनाई छ । नेपाली चलचित्र क्षेत्रमा केही सकारात्मक परिवर्तन आएको बताउँछिन् उनी । ‘व्यावसायिक र गुणस्तरीय दुवै हिसाबले राम्रा र सफल फिल्म पनि बन्न थालेका छन्,’ उनले भनिन्, ‘यो निकै राम्रो कुरा हो । अब हामी स्टोरीबाट छलाङ मार्नुपर्छ ।’

निरुतालाई चलचित्र निर्माण र निर्देशनमा पनि प्रेम छ । उनको अभिनयमा सबैभन्दा बढी रुचाइएको चलचित्र ‘दर्पणछायाँ’ हो । यसका पुरानै कलाकार दीलिप रायमाझी, उत्तम श्रेष्ठ र निर्देशक तुलसी घिमिरेसँग मिलेर निर्माण हुन लागेको नयाँ चलचित्रमार्फत निरुता छिट्टै दर्शकमाझ देखिँदै छिन् । जुन चलचित्रको नाम ‘दर्पण छायाँ फेरि’ हुने सम्भावना छ । ‘ढिलोचाँडो यो प्रोजेक्ट अघि बढ्छ । दर्पणछायाँको कथा जहाँ सकिएको छ, त्यहीँबाट नयाँ कथा अघि बढ्छ,’ उनले भनिन् ।

... ...

भर्खरैकी सुन्दर केटी । २२–२५ वर्षकै उमेरबाट बिहेबारे थोरैधेरै कुरा उठिरहन्थे । त्यसबेला उनले यो प्रश्नको सहजै सामना गरिन् । सबैले २५ वर्षको हाराहारीको समयदेखि सधैं सोधिरहने एउटा प्रश्न यसबेला पनि तेर्सियो ।

४८ वर्षको उमेरसम्म बिहे नगर्ने ? निरुताले हाँस्दै भनिन्, ‘बिहे नगर्ने निर्णय गरेको होइन । जन्म, मृत्यु र बिहे भन्ने कुरा माथिबाट लेखेर आएको हुन्छ ।’ उनले फेरि भनिन्, ‘जुन समयमा जन्मिनु छ, त्यो समयमा जन्मिइन्छ । जुन समयमा मर्नु छ त्यो समयमा मरिन्छ । जुन समयमा बिहे हुने हो, त्यो त्यहीँ समयमा हुन्छ ।’

निरुताको जीवनमा बिहे नलेखेकै हो त ? निरुताले हाँस्दै थपिन्, ‘मन मिल्नुपर्छ बिहे नहुने सम्भावना छैन ।’

निरुताले आफूलाई बुझ्ने केटा भेटेको खण्डमा जुनसुकै समयमा आफू बिहे गर्न तयार रहेको प्रतिक्रिया दिइन् । निरुताको रोजाइको श्रीमान कस्तो खालको होलान् ? कुन क्षेत्रमा काम गर्ने युवा रोजाइमा छ होला ? यी सबै प्रश्नको जवाफ उनले एकैपटकमा दिने प्रयास गरिन् । भनिन्, ‘पैसाभन्दा पनि संस्कार जानेको केटा भए पुग्छ । पैसा कमाएको तर संस्कार नभएको केटा भयो भने बर्बाद हुन्छ ।’

निरुताले आफ्नो बढ्दो उमेरले बिहेका लागि कुनै फरक नपर्ने प्रतिक्रिया दिएकी छन् । ‘बिहेका लागि उमेर भनेको नम्बर मात्रै हो,’ निरुताले थपिन् ।

उनलाई साथीभाइ, घरपरिवार, आफन्तले बिहे गर्न सुझाव त दिइरहेका छन्, दिइरहेका थिए । उनी भन्छिन्, ‘तर मलाई कसैले बिहेका लागि दबाब दिएन । सबैले यस विषयमा मलाई नितान्त निर्णय गर्ने अधिकार छोडिदिनुभयो । परिवारमा पनि जहिले जोसँग बिहे गर्छिस् गर, कोही आयो, राम्रो भेटियो भने गर । यो तेरो निर्णय भन्नुभएको छ ।’

निरुताले संस्कारी व्यक्ति भेटियो भने जुनसुकै जात, धर्म मान्ने, जुनसुकै देशको भए पनि मतलब नहुने कुरा खुलाइन् । तर निरुताले अन्तिममा भनिन्, ‘२५ वर्षदेखि नछाडेको यो प्रश्नको जवाफ अब समयले दिनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्