
गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे । विद्यार्थी सङ्ख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै सङ्कटमा पर्यो ।
काठेखोला गाउँपालिका–७ रेशस्थित सो विद्यालय बन्द हुने स्थितिमा पुग्यो । अर्को विद्यालयमा गाभिनुपर्ने भयो । गाउँछिमेकको विद्यालय हट्ने कुराले स्थानीयवासीको मन कुँडियो । अघिल्लो पुस्ताको मेहनत र योगदान खेर जाने देखेर गाउँले निराश बने ।
दैलोको विद्यालय नचलेपछि पढ्न टाढा जान बाध्य बालबालिकाको पीडाले छोयो । अभिभावकको पनि मर्का बुझे । अझैपनि विद्यालय जोगाउन सकिन्छ की भनेर स्थानीयवासी लागिपरे । विद्यालय बचाउने जुक्ति निकाले । गाउँको सर्वपक्षीय भेला बस्यो ।
बन्दको मुखमा पुगेको विद्यालयलाई हरहालतमा जोगाउनेतिर भेलामा एकमत बन्यो । विद्यालयको दिगो व्यवस्थापन र पढाइको गुणस्तर सुधारमा स्थानीयवासी कस्सिए । जनप्रतिनिधिलगायत सामाजिक अगुवाले स्थानीयवासीको प्रयासमा आड र ढाडस दिए ।
एक वर्षको अन्तरालमा अहिले विद्यालयको मुहार बदलिएको छ । यसअघि कक्षा पाँचसम्म चलेको विद्यालयको स्तर घटाएर कक्षा तीनसम्म मात्र सञ्चालन गरिएपनि शून्यतिर ओरालो लागेको विद्यार्थी सङ्ख्या बढेर ४७ पुगेको छ ।
विद्यार्थीले अङ्ग्रेजी माध्यममा पढ्न पाएका छन् । “विद्यालय बन्दै हुन आँटेको थियो, विद्यार्थी नै नभएपछि नचाहेर पनि अन्य विद्यालयसँग एकीकरण गर्नै पथ्र्यो”, प्रधानाध्यापक भीमबहादुर थापाले भने, “समुदायको पहलमा विद्यालय जोगिएको छ ।”
अङ्ग्रेजी माध्यमसँगै विद्यालयले सिकाइमैत्री वातावरण दिएपछि पढ्न अन्यत्र गएका बालबालिका पनि सोही विद्यालयमा पुनः फर्केका छन् । अभिभावकको चाहना बुझेर विद्यालयको भौतिकसँगै शैक्षिक सुधारमा व्यवस्थापन समिति र शिक्षक खटिएका छन् ।