
अमेरिकाको टेक्ससमा रहेको ३९४औं डिस्ट्रिक्ट कोर्टमा एक वकिल अचानक बिरालोमा परिणत भएपछि केही समयका लागि सुनुवाइ रोकिएको छ ।
जूम भिडियो कलमार्फत मंगलवार भएको सुनुवाइका क्रममा रड पोन्टन नाम गरेका ती वकिलले बहस गर्दा गर्दै बिरालोको चित्र भएको फिल्टर राख्न पुगे । उनलाई त्यो फिल्टर हटाउनै आएन ।
न्यायाधीश रोय फर्गुसनले उनलाई फिल्टर हटाउन लगाए । ‘हटाउने कोशिश गरिरहेका छौं,’ उनले भने । ‘म यहाँ लाइभ छु, म बिरालो हैन,’ उनले थपे । अनि उनले आँखा घुमाउँदा बिरालोको आँखा घुम्यो ।
‘हो, तपाईं बिरालो हैन,’ अर्का वकिल एच गिब्स बावरले बताए ।
आफ्नो इजलासमा कसैले पनि फिल्टर प्रयोग नगर्न न्यायाधीश फर्गुसनले चेतावनी दिए ।
यस्तो घटना भए पनि सबैले मर्यादा कायम गरेको भनी फर्गुसनले बताए पनि भिडियो हेरेर मानिस मरीमरी हाँसे ।