
अस्ट्रेलियाको मेलबोर्नमा उपनगरीय क्षेत्रमा रहेको एक घरमा भारतीय महिलालाई आठ वर्षदेखि दासी बनाएर राखिएको अवस्थामा पाइएको छ ।
उनी आफ्नै पिसाबको आहालमा डुबेर बसेकी थिइन् र उनको तौल जम्मा ४० किलो थियो ।
उनलाई त्यस्तो अवस्थामा राख्ने एक जोडीले उनका बारेमा झूटो बोलेको एक अदालतको सुनुवाइमा पत्ता लागेको छ ।
ती महिलालाई सन् २०१५ को जुलाई महिनामा गम्भीर अवस्थामा अस्पताल लगिँदा शरीरको तापक्रम जम्मा २८.५ सेल्सियस थियो र उनलाई सेप्सिस रोग लागेको थियो ।
निकै गम्भीर स्वास्थ्य समस्या बेहोरेकी महिला अस्पतालमा दुई महिनाभन्दा बढी अवधि निको हुनका लागि बसेकी थिइन् । त्यस अवधिभरि उनको वास्तविक पहिचानका बारेमा धेरैलाई थाहा थिएन ।
उनलाई घरमा दासी बनाएर राख्ने पतिपत्नीको जोडीविरुद्ध गैरकानूनी रूपमा बन्धक बनाएको आरोप छ । उनीहरूले सन् २००७ देखि २०१५ सम्म महिलालाई बन्धक बनाएका थिए ।
अभियोजनकर्ता रिचर्ड मेडमेन्टले ती महिला तमिलनाडुस्थित घरबाट दुईपटक मेलबर्न आएको र जोडीका तीन बालबालिकाको स्याहार गरेको बताए ।
सन् २००७ मा उनलाई तिनीहरूले बन्धक बनाएर राखेको आठ वर्षपछि उनी निकै दुब्लो अवस्थामा रहेको र सेप्सिसका साथै टाइप टु डायबिटिज पनि लागेको स्वास्थ्यकर्मीहरूले पाए ।
ती महिलाको कुनै खबर नआएपछि उनको परिवारले बन्धक बनाउने जोडीलाई सम्पर्क गर्दा अश्लील भाषा प्रयोग गर्दै जोडीले गालीगलौज गरेको थियो । त्यसपछि परिवारले अस्ट्रेलियाका अधिकारीहरूलाई सम्पर्क गरे अनि अनुसन्धान शुरू भयो ।