०१ साउन २०८३, शुक्रबार
लुम्बिनीमा नयाँ जोडघटाउ

मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी संकटमा, ३ सांसद चाहिँदा पाइएला जसपाको टेको ?

फागुन २५, २०७७
मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी संकटमा, ३ सांसद चाहिँदा पाइएला जसपाको टेको ?

सर्वोच्च अदातलले नेकपा एकता बदर हुने गरी आइतवार दिएको फैसलाको झड्का लुम्बिनी प्रदेशमा समेत परेको छ ।

फैसला अगाडिसम्म पूर्व माओवादीका सांसद आफूतर्फ तानेर सरकारलाई खतरामुक्त बनाएका मुख्यमन्त्री शंकर पोखरेल नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि फेरि प्रदेश सभाको सत्ता समीकरणमा अल्पमतमा पर्ने देखिएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र पूर्व हैसियतमा फर्किएपछि अब पोखरेल नेतृत्वको सरकारलाई माओवादीले समर्थन गर्ने सम्भावना नरहन सक्छ ।

सत्ता समीकरणको लागि मुख्यमन्त्रीले जनता समाजवादी पार्टीलाई सरकारमा ल्याएर सत्ता टिकाउने कदम चाल्न सक्ने देखिएको छ । त्यसको लागि सरकारका टोली र जसपाका नेताबीच छलफल अगाडि बढेको छ । जसपाले शंकर पोखरेल सरकारलाई साथ दिने आकलन गरिँदैछ ।

प्रदेश सभामा एमालेका ४१ सांसद छन् । सरकार टिकाउन थप ३ सांसद आवश्यक पर्छन् । पार्टी एकीकरणपछि बनेको समीकरणमा तत्कालीन नेकपाको संसदीय दलको नेता पोखरेल र उपनेता आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसी थिए ।

सर्वोच्चले एमाले र माओवादीलाई छुट्टाछुट्टै दल भनेर फैसला गरेपछि मुख्यमन्त्री पोखरेलको प्रदेश सरकार समेत अल्पमतमा पर्ने देखिएको छ । आवश्यक कदम चाल्नुअघि माओवादी पक्ष केन्द्रको आदेश हेरेर बसेको छ ।

८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री हुन ४४ मत आवश्यक पर्छ । माओवादीले समर्थन नगरे त्यो मत अहिले पोखरेलसँग पुग्ने देखिँदैन । नेकपा एमालेबाहेक माओवादी केन्द्रका २०, कांग्रेस १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद प्रदेश सभामा छन् ।

नेकपा एमालेबाहेक कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले बहुमत पुर्‍याएर छुट्टै सरकार बनाउन सक्ने अवस्थामा छन् भने मुख्यमन्त्रीले सत्ता बचाउन ३ पार्टीमध्ये एउटाको साथ पाए पनि हुन्छ । 
 
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर पनि सरकार बनाउन सक्ने अवस्था छ । 

फैसलाले अहिलेको प्रदेश सरकारमा माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई पनि अप्ठ्यारो आइलागेको छ । प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराल माओवादी तर्फका मन्त्री छन् । 

जसपासँग सत्ता समीकरणबारे छलफल भएको छ : सरकारका प्रवक्ता  

सरकारका प्रवक्ता, भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले अहिलेको सरकार कुनै हालतमा अप्ठ्यारोमा नपर्ने बताए । ‘अब कानूनी रूपमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ,’ प्रवक्ता चौधरीले भने, ‘माओवादीले समर्थन गरे ठीकै भयो । नत्र हामीलाई ३ सांसद जरूरत छ । हामीले सत्ता समीकरणको लागि जनता समाजवादी पार्टीसँग छलफल अगाडि बढाएका छौं । उहाँहरूबाट पनि साथ दिन सकिने आश्वासन आएको छ ।’

चौधरीले थपे, ‘यहीँ सरकार अझै २ वर्ष टिक्छ । तलमाथि हुँदैन । हामी ढुक्कका साथ अगाडि बढेका छौं ।’ 

सरकारमा जानेबारे छलफल अगाडि बढेको छ : प्रमुख सचेतक पाण्डेय  

जनता समाजवादी पार्टीले पनि सरकारमा जाने तयारी गरेको छ । जनता समाजवादी पार्टीका प्रदेशसभा प्रमुख सचेतक सन्तोषकुमार पाण्डेय सत्ता समीकरणका लागि सत्तापक्षसँग छलफल अगाडि बढाएको बताए । उनले भने, ‘मुख्यमन्त्री, प्रमुख सचेतक भूमिश्वर ढकाल लगायत नेताहरूसँग छलफल अगाडि बढेको छ । हामी सरकार ढलाउने र बनाउने खेलमा भन्दा एउटै सरकार ५ वर्ष टिकाउ होस् भन्ने उद्देश्य हो । सरकारलाई अप्ठ्यारो पर्‍यो भने साथ दिएर सरकारमा जाने तयारीमा छौं ।’ 

केन्द्रको समीकरण अनुसार अगाडि बढ्छौं : कनौडिया

कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरन्द्र कनौडियाले केन्द्रमा बन्ने समीकरण अनुसार अगाडि बढ्ने बताएका छन् । उनले एमालेबाहेक कांग्रेस, माओवादी र जसपा मिलेर पनि सरकार बनाउन विकल्प पनि रहेको भन्दै छलफल अगाडि बढेको बताए । 

‘परिस्थित अझै क्लीयर भएको छैन,’ कनौडियाले लोकान्तरसँग भने, ‘केन्द्रमा कुन–कुन दलको समीकरणले सरकार बन्छ । प्रदेशमा पनि त्यहीँ अनुसारको समीकरण अनुसार अगाडि बढ्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्