१३ असार २०८३, शनिबार

ट्रायल सेन्टरमा थोत्रा गाडी : कुनैमा ब्रेक लाग्दैन, कुनै गेर हान्दा पूरै थर्किन्छ !

चैत ९, २०७७
ट्रायल सेन्टरमा थोत्रा गाडी : कुनैमा ब्रेक लाग्दैन, कुनै गेर हान्दा पूरै थर्किन्छ !

यातायात व्यवस्था कार्यालय कैलालीमार्फत् सवारी चालकको लाइसेन्स लिन ट्रायल दिँदा सास्ती खेप्नुपरेको गुनासो सेवाग्राहीहरूले गरेका छन् ।

त्यहीँका थोत्रा गाडीबाट ट्रायल दिन लगाउने अनि शुल्क असुल्ने गरिएको गुनासो सेवाग्राहीहरूको छ ।

यातायात व्यवस्था कार्यालय कैलालीले धनगढीको फाप्लामा ट्रायल परीक्षा सञ्चालन गरिरहेको छ । बिहान ट्रायल परीक्षा केन्द्रमा सेवाग्राहीको भीड हुन्छ । 

ड्राइभिङ सेन्टर भाडामा लिएर यातायात व्यवस्था कार्यालय कैलालीले त्यहाँ परीक्षा सञ्चालन गरिरहेको हो ।

थोत्रा गाडीबाट ट्रायल दिन लगाएर पनि प्रत्येक सेवाग्राहीबाट एक हजारका दरले रकम लिइने गरेको सेवाग्राही कुमार खड्काले गुनासो गरे । 

‘गाडीहरू पुराना छन्,’ उनले भने, ‘हामीहरूलाई आफ्नो गाडी लिन अनुमति छैन । एकपटक गाडी प्रयोग गरेको एक हजारका दरले तिर्नुपर्ने बाध्यता छ ।’

सेवाग्राहीले शुल्क मात्र तिरिरहेका छैनन्, ड्राइभिङ सेन्टरमा रहेका गाडीहरूको कन्डिसन राम्रो नरहेको गुनासो समेत गरिरहेका छन् । 

बिग्रिएका गाडी राखेर जतिसक्दो धेरै सेवाग्राहीलाई फेल बनाउने गरिएको आरोप धनगढी बोराडाँडीका नरेन्द्रप्रसाद अवस्थीको छ ।

‘थोत्रा बसले ट्रायल परीक्षा दिनु परिरहेको छ,’ उनले भने, ‘गेर हान्दा बस पूरै हल्लिरहेको छ । भीडभाड छ, समयमा परीक्षा दिन पाएका छैनौं । यातायात कार्यालय पनि भ्रष्टाचारको अखडा बन्दै गइरहेको छ ।’

यातायात कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले भने आरोप खण्डन गरे । 

‘आफ्नै गाडी लिएर आएको खण्डमा हामीले रोकावट लगाएका छैनौँ,’ उनले भने, ‘गाडीको कन्डिसनको सन्दर्भमा यातायात कार्यालयसँग गाडी छैन हामीले ड्राइभिङ सेन्टर भाडामा लिएर परीक्षा सञ्चालन गरिरहेका छौं । गाडीको कन्डिसन हेरेरै हामीले तयार पारेका हौँ यदि अझै पनि कन्डिसन ठीक नभएको खण्डमा हामीले मर्मत गर्छाैं ।’

त्यहाँ राखिएका गाडीहरूको कसैमा ब्रेक नलाग्ने, कसैको क्लोज तल त माथि पारिएको कसैमा इन्डिकेटरले नै काम नगर्ने त कसैमा ब्रेक समेत बिगारिएको सेवाग्राहीहरूको आरोप छ ।

 

कमेन्ट गर्नुहोस्