
अमेरिकामा एसियाली मूलका मानिसमाथि जातिविभेद गर्दै आक्रमणका घटनामा वृद्धि भएको छ ।
न्युयोर्क सबवेमा एक गोरा युवकले एसियाली मूलकी महिलामाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ । घटना शनिवार भएको हो ।
२५ वर्षीया ती महिला क्वीन्स जानका लागि ट्रेनमा गइरहेकी थिइन् । पूरै कालो कपडा लगाएका अनि स्की मास्क लगाएका एक व्यक्ति ट्रेनको कोचमा आएर आफूनजिक उभिएको उनले बताइन् ।
त्यसपछि त्यस गोरा जातिवादीले महिलाको झोला र कपडामा पिसाब फेरिदिए ।
ट्रेनमा अन्य यात्रु पनि भएको तर कसैले पनि सहायता नगरेको महिलाको भनाइ छ । उल्टो केही मानिसले घटनाको भिडियोे बनाएका थिए ।
आरोपित व्यक्ति लगभग ६० वर्षको जस्तो देखिने गोरा भएको महिलाको भनाइ छ । उसको ज्याकेटमा अमेरिकाको झण्डाको प्याच लगाएका थिए र तलदेखि माथिसम्म कालो कपडा लगाएका थिए ।
आरोपित ७५औं एभेन्यु स्टेसनमा ओर्लिंदा उसको तस्वीर खिचेको महिलाले बताइन् । तत्कालै प्रहरीलाई घटनाको बारेमा बताउन खोजेको तर एक्लो भएकाले डराएको उनको भनाइ छ ।
अहिले आएर महिलाले प्रहरीसमक्ष उजुरी दिएकी छन् । प्रहरीले आरोपितको खोजी गरिरहेको छ तर कसैलाई पक्राउ गरेको छैन ।