२७ असार २०८३, शनिबार

मान्छेको रगत हालेको शैतानी जुत्ता बिक्रीमा राखिएपछि हंगामा

चैत १७, २०७७
मान्छेको रगत हालेको शैतानी जुत्ता बिक्रीमा राखिएपछि हंगामा

शैतानी जुत्ता बिक्रीमा राखिएपछि विश्वविख्यात जुत्ता कम्पनी नाइकले आर्ट कलेक्टिभ कम्पनीमाथि मुद्दा चलाउने भएको छ । 

सोमवार दायर गरिएको मुद्दामा नाइकले एमएससीएचएफ प्रोडक्ट स्टुडियो इन्कविरुद्ध आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरिएको आरोप लगाएको छ । उक्त संस्थाले नाइकका जुत्तालाई परिवर्तन गरेर ६६६ जोडा जुत्ता बिक्रीमा राखेको थियो । ती सबै जुत्ता सोमवार बिक्री भए । 

एमएससीएचएफले मुद्दाका विषयमा टिप्पणी गर्न मानेको छैन । 

मुद्दामा नाइकले अदालतलाई लिल नास एक्स शैतान जुत्ताको अनधिकारिक बिक्रीलाई स्थायी रोक लगाउन मागदाबी गरेको छ । यो विवादास्पद जुत्ताका कारण आफूले सामाजिक सञ्जालमा खप्की खानु परिरहेको नाइकको भनाइ छ । 

लिल नास एक्स गायक हुन् र उनी शैतानी जुत्ताका प्रवर्द्धक हुन् । नाइकले उनीविरुद्ध चाहिँ मुद्दा लगाएको छैन । 

नाइकको कालो र रातो एयर म्याक्स ९७ जुत्तामा तामाको पेन्टाग्राम (शैतानको चिह्न) जडान गरिएको छ अनि तलुवा (सोल) को बीचमा मानिसको रगत राखिएको छ । नाइकको जुत्तालाई आफैं तोडमरोड गरेर एमएससीएचएफले बिक्रीमा राखेको हो । 

यही कम्पनीले सन् २०१९ मा जिसस जुत्ता पनि निकालेको थियो । 

मुद्दाको फिरादपत्रमा नाइकले शैतान जुत्तामा नाइकको प्रसिद्ध लोगो उपयोग गरिएको बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्