२६ जेठ २०८३, मंगलबार

पश्चाताप !

चैत २१, २०७७
पश्चाताप !

हामीहरूमध्ये धेरैले वास्ता गर्दैनौं कि समय आफैंमा अवसर हो । जीवनमा थुप्रै अवसरहरू समयले ल्याउने गर्दछ तर समयको गति र बेगलाई पछ्याउन नसक्दा उपलब्धि शून्य हुन्छौं । समयको गति समाउन नसकेकोमा पछुताउँछौं, निराश हुन्छौं । तर समय चिन्न, पछ्याउन र उपयोग गर्न नसकेपछि पछुताउनुको के अर्थ ?  

अवसर ढोल पिटेर कहिल्यै आउँदैन । न चाँदीको प्लेटमा सजिएर नै आउँछ । हामीमध्ये धेरै समयलाई पछ्याउन जान्दनौं, समयको उपयोग गर्न पनि जान्दैनौं र पनि उपलब्धिको आशा गर्छौं । अरुको प्रयास र परिश्रमको ख्याल गर्दैनौं तर उनीहरूको प्रगतिको गणना गर्छौं । जतिबेला बुझ्छौं, समय धेरै पर पुगिसकेको हुन्छ । त्यसपछि थकथकिएर के गर्नु ? 

अवसर र मानिसको सम्बन्ध ट्राफिक बत्ती र सवारी यात्री जस्तै हो । जो एक सेकेण्डले अघि बढ्यो, उसले यात्राभरि रातो बत्तीको सामना गर्नुपर्दैन, लगातार अघि बढ्छ, लगातारको सफलतामा रहन्छ । जो एक सेकेण्डले पछि पर्‍यो, उ जति नै रफ्तारमा गए पनि अघिल्लोलाई भेट्टाउन सक्दैन । समय छुट्यो त छुट्यो छुट्यो, सधैंका लागि छुट्यो । चुनावमा १ मतले हारे पनि १ मतले हारेको कसले भन्छ र ? 

हतारिएर पनि अवसर पाइँदैन । मानिसहरू अवसर लिन पनि हतारिन्छन्, वृत्ति चयन गर्न पनि औंधी हतारिन्छन् । आफ्नो स्वभाव, रुचि र सामथ्र्य अनुरूपको पेशावृत्ति अवलम्बन गर्न नसक्दा जीवनभर चुक्चुकाउँछन् । अरुको पेशा देखेर लोभिन्छन् – मैले त्यो पेशामा जान पाएको भए हुने । आफ्नो स्वभाव र सामथ्र्यको जानकार आफूभन्दा अरु को हुन सक्छ ? तर हेक्का नराखी अघिल्तिरको अवसर लिन अधीर हुने र पछि बेकार यता आइएछ भनेर निराश हुन्छन् । जीवनमा सही निर्णय, सही वृत्ति चयन र सही अध्ययन गर्न नसक्दा न वृत्ति फस्टाउँछ र न संगठन । जीवनभर व्यक्ति पनि ठगिन्छ, वृत्ति पनि ठगिन्छ, दुवैले गुमाउने सिवाय केही रहँदैन ।

वृत्ति उत्साह हो, उत्साहको जरुवा फुटेन भने वृत्ति व्यवसाय सधैं कटमरिन्छ । उत्साहका तहहरू थपिँदै गए भने वृत्ति पनि समृद्ध बन्छ, व्यवसाय पनि समृद्ध । वृत्तिमा प्रवेश गर्दा रहने खुशी वृत्तिको अन्तिम दिनसम्म रहन सकेमा मात्र वृत्ति विकास हुन्छ, सही वृत्ति चयन गरेको मानिन्छ । त्यसैले सोची–समझी वृत्ति अवलम्बन गर्नेहरू सगरमाथा चुमिरहेका हुन्छन् । हतारमा हौसिनेहरू जीवनभर पछुताएका छन् । एउटा गन्तव्य पूरा नगरी अर्को हात नहाल्ने मानिसहरू पनि छन्, धेरै वृत्तिहरू एकसाथ अपनाउने पनि छन् । सामथ्र्य र स्वभावले साथ दिए बहुवृत्ति पनि उपलब्धिमूलक हुनसक्छ, नभए एउटै वृत्ति पनि उपलब्धिविहीन ।

एकजना साथी निकै अब्बल कवि थिए, आफूभित्रको कवित्वभित्र तत्कालको शक्तिशान देखेनन्, प्रशासनमा पसे । न प्रशासनले उनलाई स्वीकार्‍यो, न कविमन कर्मचारीतन्त्रभित्र रमायो । परिणाम कवित्व पनि कठ्यांग्रियो, प्रशासन पनि मुर्झायो । कविता कर्ममा मात्र रहेको भए साहित्य वाङ्मय कति गुल्जार हुने थियो । 

अर्का साथी कलाकार थिए । कलाकारिता पनि जम्दैथियो, प्रशासनले हातमुखको गर्जो पनि टारेको थियो । सोचे प्रशासनले कलाकारितालाई बाँध्न शुरू गर्‍यो र सोचे यस्तै हो भने प्रशासनले कलाकारिता मार्न बेर लाउँदैन । समयमै जागिर छाडे, कलाकारिताले शिखर चुम्यो । 

कतिपय मानिस देखासिखीले पनि अरुजस्तो बन्न तम्सिन्छन् । उसले यस्तो गर्‍यो, मैले त्यसो गर्न सकिनँ, मेरो जन्म नै बेकार भयो आदि । देखासिखी र प्रदर्शन प्रभावले अरु जस्तो बन्न खोज्नेहरू पनि पछुताउँछन् । प्रत्येकका स्वभाव र सम्भावना अरु अर्कोभन्दा नितान्त भिन्न हुन्छन् । कोही संघर्ष र परिश्रममा रमाउँछन्, कोही सरल जीवन जिउन मन पराउँछन् । असजिलोसँग जुध्नु, आगोसँग खेल्नु, एडभेन्चरमा रमाउनु पनि मौलिकता हो । विपरीतमा सरल जीवन, सरल सोच र सामान्य प्राप्तिमा रमाउनु पनि जीवनको अर्थ हो । दुवैथरि जीवनशैली महान् छन् । दुवैले अन्तरात्माको साहसमा र आत्मिक उत्सर्गमा काम गर्छन्, आनन्द प्राप्ति गर्छन् तर अन्तरात्माले स्वीकृति नदिएको र स्वभावले सम्मति नदिएको काम गर्नेहरू पश्चातापमा जलिरहन्छन् र जीवनभर पछुताउँछन् । 

वृत्तिसँग रमाउन नसक्नेहरू त्यसको क्षतिपूर्तिका लागि अतिरिक्त काम गर्छन् र स्थापित हुने मनसुवा राख्छन् । प्रशासकहरूले दोहोरी गीत सम्मेलन गर्नु वा राजनेताहरू कवि सम्मेलनमा अतिथि बन्नुको मजा के कति हो ? तर समाजले भने यसबाट गुमाउने मात्र हो । प्रत्येक पेशाले छुट्टै आदर्श र आचरणको माग गर्छ । त्यो आदर्श र आचरण नभएपछि पेशा नै फेक बन्छ, गरिने काम फगत औपचारिकताका नाटक । 

अवसर पाउनेले पनि अवसरको सदुपयोग गर्न सक्नुपर्छ । समयसँग अवसर चिप्लिएर कुद्छ । राष्ट्रसेवकहरू कामप्रति आक्रामक नभई यो भोलि गरौंला भनेर पन्छ्याउँछन्, बकबास गर्न मन पराउँछन् । त्यो भोलिसँग उनीहरूको भेट कहिल्यै नहुन सक्छ र पछि आफूले शुरू गरेको काम पूरा गर्न सकिनँ भन्ने पश्चाताप गर्न पुग्छन् । वर्तमानका जिम्मेवारप्रति कटु आलोचना गर्न समेत पछि पर्दैनन् । तर जिम्मेवारीमा रहँदा कहिल्यै सोचेनन् कि आफूहरू पनि कुनै दिन पूर्व हुन्छु भनेर । वर्तमानमा जिम्मेवारी लिनेहरू पनि वर्तमान बित्थामा भुलेर विगतकै बिडो थाम्ने क्रममा रहन मन पराउँछन् ।

कहिले त व्यक्ति जिम्मेवारीले चेपिएर पनि चाहे जति गर्न सक्दैन । उसले शुरू गरेका काम उसपछि निरन्तर नहुँदा, त्यही रूपमा निरन्तर नहुँदा पनि चुकचुकाउने अवस्था आउँछ । सार्वजनिक ओहोदाधारीहरू जिम्मेवारीबाट पर पुगेपछि चाहेर पनि गर्न सक्ने सामथ्र्य राख्दैनन् । आवधिक पदले त्यो पहुँच, अधिकार र विश्वास सबै गुमिसकेको हुन्छ । जिम्मेवारीमा रहँदा पूरा गर्न नपाएका कामले उसलाई जीवनभरि कोक्याइरहन्छ । आफ्ना काम र नकामले व्यक्तिलाई कहिल्यै कोक्याउनु हुँदैन । 

समाज र राष्ट्रप्रति भावनात्मक लगाव राख्ने निष्ठामा समर्पित हुनेहरू अहोरात्र खटेर पनि थकाइको अनुभव गर्दैनन् । फगत खटिरहन्छन् । लगातार खटिरहन आन्तरिक ऊर्जा र आत्मिक प्रेरणाले तानिरहेको हुन्छ । परिवेशका व्यवधान र उभयपक्षका बाधालाई रत्ति पनि पर्वाह गर्दैनन् । उनीहरूकै कर्ममा समाजले प्रजननशीलता र राष्ट्रले समृद्धि पाउने हो । उनीहरू महान् हुन् । उनीहरू वर्तमानमा एक्स्क्यूज पनि माग्दैनन्, त्यसैले भविष्यमा पश्चाताप पनि गर्दैनन् । 

एक जना ठूला राजनीतिज्ञ समक्ष राउटेका मुखियाले भेटेछन् र समूहका तर्फबाट आफूहरूका लागि केही गर्न माग राखेछन् । राउटेका मुखियासँग राजनीतिज्ञले भनेका थिए रे, ‘मलाई तपाईंहरूका लागि थुप्रै सहयोग गर्न त मन थियो, कर्मचारीतन्त्रले दिएन’ । गर्न नसक्नेहरू यसरी नै दोष अरुतिर पन्छ्याउँछन्, रमाउँछन्, गर्नेहरू गर्नमा नै रमाउँछन् । सफल नेतृत्व जसजति अरुलाई दिएर अपजस लिनुपर्ने प्रणाली सुधार्न लाग्छ ।  

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा मन्त्रीहरूबाट समस्या सिर्जना हुने देखेपछि आप्mना मन्त्रीहरूप्रति हात जोडेरै अनुनय गरेका थिए, ‘मेरो अनुरोध छ, संविधान नबनेसम्म विवाद नगरौंं । असल राजनीतिक संस्कार बनाऔं । यो नै हाम्रो अहिलेको दायित्व हो ।’

जसका लागि हात जोरिएका थिए, पछिसम्म उनीहरूको स्वर ठूलै सुनियो तर अनुनयकर्ता पश्चातापको आगोमा कहिल्यै जलेनन् र नेपालको संविधानका पिता बने । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उनलाई रोल मोडेल नै मानेर भनेको सुनियो, ‘नेता त सुशील कोइरालाजस्तो पो हुनुपर्छ । म उहाँको जीवनशैली अपनाउँछु ।’

एकताका जापानी रेस्टुराहरूमा एकैखाले संगीतको मधुर धुन बजिरहन्थ्यो । मैले उत्सुकतावश सोधेको थिए, ‘किन सबैजसो रेस्टुराँमा यही धुन बज्छ ?’ जापानी साथी नाकायामाले उत्तर दिए, ‘मैनाली यो धुनलाई हाम्रा प्रधानमन्त्री जुनिचिरो कोइजुमीले धेरै मन पराएका छन् ।’ राजनेताको लोकप्रियता यसरी नै देखिने हो ।  जनताको सम्मति यसरी नै देखिने हो । त्यो सेतै फुलेको कपाल, चाउरी परेको चेहराको ताप्रो तर हँसिलो व्यक्तिले आफ्नो २ पटकको प्रधानमन्त्रित्वमा जापानलाई निकै माथि उठाएका थिए । थुप्रै सुधारका कामबाट जापानीहरू उनको आनीबानी समेत मन पराउन थालेका थिए । राजनेताहरू नागरिकलाई त्यस देशको नागरिक हुनुको गर्वबोध गराउन हर तरहले लागिरहन्छन् । 

धेरैजसो मानिसहरू अरुबाट लिन चाहन्छन् । लिएर कहिल्यै अघाउँदैनन् । दिएर रमाउनेहरू कहिल्यै पश्चातापमा पर्दैनन् । मानव सेवा आश्रमका रामराजहरू कति मनकारी छन् । उनीहरूको कामबाट जो कुनैको आँखाबाट आँसु आउँछ । उनीहरूको समाजसेवा देखाउन होइन, गर्न हो । बेसहारालाई जीवन दिने काम आफैंमा स्वर्गीय अनुष्ठान हो । अटिज्म स्कूल कि सविता, आमा घरकी दिलशोभा, स्नेही काखकी नेहाहरू मानव सेवामा आत्मिक आनन्द लिइरहेका छन् । प्राप्तिमा बरु पीडा होला, दिँदाको स्वर्गीय आनन्द दिनेहरूलाई नै थाहा होला । नत्र मनकारी हातहरू मानव सेवामा किन लागिरहन्थे, ज्ञानीहरू किन ज्ञान बाँड्थे र आमाहरू प्रसव पीडामा पनि किन रमाउथे ! उनीहरू कहिल्यै पश्चातापमा पर्दैनन् । 

मेरो वृत्तियात्राका प्रिय साथी राम थापा साथी भनेपछि मरिहत्ते गथ्र्यो । लाग्थ्यो ऊ अरुको सहयोगको लागि नै जन्मेको हो । मेरा दुःखको पहिलो साछी उही हुन्थ्यो, उसका दुःखको पहिलो साथी पनि म नै हुन्थे । एकअर्कामा हृदय पूरै खोलिएको थियो । जागिर छाड्यो र थुप्रै हैरानी पनि व्यहोर्‍यो विचराले । घरायसी दुःख पोख्न पनि मलाई भेट्थ्यो । एकदिन फोन गर्‍यो, ‘तिमीसँग मन पोख्नु छ, म घर आउँछु ।’ व्यस्त भएकाले आज तिमी नआऊ भन्न बाध्य भएँ । उसले आग्रह गर्‍यो, ‘उसो भए मेरो घरबाट फोन आएमा यता आएको छैन भन्देऊ ।’

विचराले कीर्तिपुरतिर रुखमुनि बसेर एक्लै दिन बिताएछ, दुःख पोख्न साथी नपाएर सायद प्रकृतिलाई पोख्यो होला । केही दिनपछि फेरि फोन गर्‍यो, ‘रेस्टुराँ खोल्दैछु, भोलि बेलुकी तिमी भाउजुसाथ आउनु, शुभारम्भमा हामी खुबै रमाउनुपर्छ ।’ ठूला एकादशी परेकाले आउन नसक्ने जवाफ दिएँ । अब उसको स्वर सुन्न पाउँदिनँ । राम थापा अब स्मृतिमा मात्र बाँकी छ । उ कतै दुर्घटनामा बितेछ । म उसकोमा नजानुको पश्चाताप जीवनभरि रहने भो । गएर नखाएको भए पनि हुनेथ्यो नि ! सानो कुरामा कति ठूलो गल्ती गरे छु !  

ठूला जिम्मेवारी, ठूला ओहोदा र ठूला व्यक्तित्वका पश्चाताप पनि ठूला हुन्छन् । अक्सर राजनीतिज्ञहरू प्रभावका जिम्मेवारीमा रहेर पनि पटक–पटक गल्ती गरिरहन्छन् । नबुझीकन पनि थुप्रै गर्छन्, आफूलाई सर्वज्ञाता सम्झिन्छन् । बुझेर पनि गल्ती गर्छन् । दम्भ र हठले पनि थुप्रै गर्छन् । अर्थहीन संवाद र भाषणमा समय बिताउँछन् । कामहरूको निरन्तरताले समाज र राष्ट्रले लगातार गुमाइरहेको छ । तर पनि सोच्दैनन् आफूहरूले नैतिक अपराध गरिरहेका छौं भनेर । क्षमाशील र विनयता देखाउँदैनन्, जनभावना नबुझिकन जनताका लागि गरेको नाटक गर्छन् । विद्वता र बौद्धिकता विना नै दार्शनिक बन्न रमाउँछन्, बदलाले बदला नै फैलाइरहन्छन् । रिसको आगोमा घिउ थप्छन् । तर पश्चाताप कहिल्यै गर्र्दैनन् । राजनेताहरू त वीपी, मण्डेला र गान्धीजस्ता पो हुनुपर्ने । नीति निष्ठाको नेतृत्वमा पो हुनुपर्ने । नीति निष्ठा कुल्चेर नेता बनेकाहरू पश्चातापको भुंग्रोमा त पर्छन् तर त्यतिखेर युग गुमिसकेको हुन्छ । त्यसपछि पश्चातापको के अर्थ ? 

जीवन गर्नका लागि हो, कर्मका लागि हो । कर्म अवसर हो । यो संसार कर्मको सिर्जना हो । कर्म सानो ठूलो हुँदैन, सामथ्र्य र समर्पणले सबै कर्मलाई ठूलो मान्छ । कर्मलाई प्रधानता दिनेहरू नै खुशी हुन्छन्, कहिल्यै पश्चातापको भुंग्रोमा परेर मरिचझैं चाउरिँदैनन् । स्वच्छ मन, स्वच्छ विचार र सभ्य व्यवहारले संसारको सेवा गर्छन् । लालसा र लोभमा पर्दैनन् । हो, महाकवि देवकोटाले ठीकै भनेका थिए, ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले ।’

salt training

कमेन्ट गर्नुहोस्