०८ असार २०८३, सोमबार
परिकार

नेपाली सेफका पकवानमा विकसित हुँदैछ आकर्षक कला

बैशाख २५, २०७८
नेपाली सेफका पकवानमा विकसित हुँदैछ आकर्षक कला

सामान्य सोचाइमा खानामा कसरी हुन्छ कला भन्नु स्वाभाविक हो तर सुन्दा अचम्म लागे पनि खाना तथा पकवान क्षेत्रमा पनि विशिष्ट खालका कला प्रयोग गरिन्छ ।

पकवान कलामा नेपालीहरू निकै खप्पिस देखिएका छन् । सबैको सोचमा कला भन्ने बित्तिकै पकवानमा जाँदैन । कसरी हुन्छ पाक शिक्षामा कला ? तर पाक शिक्षामा पनि गहिरो अनि व्यावसायिक रूपमा कलाकारिता प्रस्तुत हुन्छ ।

यसमा पनि तपाईंलाई पूर्ण ज्ञान छ भने चाहेको वस्तु विभिन्न फलफूल तथा तरकारीमा यावत बुट्टा कुदेर बनाउन सक्नुहुन्छ । यो क्षेत्रमा पनि आफ्नो अमूर्त कला व्यक्त गर्न सकिन्छ ।

सबैको सोचमा खाना भन्ने बित्तिकै मिठो र स्वादिलो हुनुपर्छ भन्ने मात्र हुन्छ तर यो धेरै पुरानो मान्यता हो । अहिले खाना मिठो र स्वादिलो भएर मात्रै पुग्दैन, हेर्दा खाउँ–खाउँ लाग्ने आकर्षक, हेर्दा नै मुखबाट पानी झर्ने खालको हुनुपर्छ । 

लामो समयदेखि कार्यरत वरिष्ठ भान्से अधिकृत तथा फ्रेन्च खानाका विशेषज्ञ कृष्ण कार्की र अर्का नेपाली सेफ रामबहादुर लामाको भनाइमा खाना सामान्यतया सबैले बनाउन सक्छन् तर यसलाई कसरी आकर्षक तरिकाबाट पस्कने कमैलाई थाहा हुन्छ । यसमा निकै खप्पिस देखिएका छन् नेपाली सेफहरू ।

अर्की नेपाली महिला सेफ मिना थापा पनि लामो समयदेखि पकवान पेशामा हुनुहुन्छ । उहाँले कुबेत टावचदेखि विभिन्न ५ तारे होटलसम्मको यात्रामा धेरै पकवान कला देख्नुभयो र नेपालमा यो कला नसिके सेफमा काम पाउन नै गाह्रो छ । उहाँ जुनसुकै खानालाई आकर्षक तरिकाबाट पस्कन सक्नुहुन्छ । 

विशेषगरी तारे होटलका विभिन्न समारोह तथा पार्टीमा पकवान कलाको ठूलो महत्त्व छ । मिठो, स्वादिलो खानासहित विभिन्न कला झल्कने खालका चित्रहरू कोर्नका लागि फर्सी, खर्बुजा, स्वीट मेलन, गाजर, काक्रो, चुकन्दरदेखि लिएर भूइँकटहर, भन्टा र मुछेको पिठो समेत प्रयोग गरिन्छ । आधुनिक पकवान कलामा बटर, आइस, मैन समेत प्रयोग गरेको पाइन्छ । 

यसरी प्रयोगमा ल्याउने पकवान कलामा सजाउने कामको लागि चाहिने कार्भिङ सामानहरू प्याकेजको रूपमा बक्समा उपलब्ध हुन्छ । यसमा साना–साना चक्कुदेखि लिएर सम्पूर्ण कार्भिङका सामानहरू उपलब्ध हुन्छ । जसको प्रयोग गरेर विभिन्न माछा, सर्प, कुखुरा, खरायो, हाँस, विभिन्न प्रकारका फूलदेखि लिएर यावत कुराहरू कोर्न सकिन्छ । अहिले त कम्पनीको नाम र विशेष व्यक्तिको फोटो समेत उतार्ने फेसन चलेको छ ।

पकवानमा कला प्राचीनकालदेखि चल्दै आए पनि विशेष गरी पश्चिमी देशले सर्वप्रथम प्रयोगमा ल्याएको भन्ने प्रमाणहरू भेटिन्छन् । कागजमा कोरिने कला, ढुंगा काठ हुँदै पकवान कलामा पनि बिस्तारै विकसित हुँदै गएको विज्ञको भनाइ छ । 

समयसँगै यसको विकास पनि तीव्र हुँदै गएको छ । प्रतिस्पर्धाको जमानामा यसले पनि विकसित रूप लिँदै गएको छ । फलस्वरूप समय–समयमा यसका विभिन्न देशहरूबीच पकवान कला प्रतिस्पर्धा प्रदर्शन हुन थालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्