अरब भन्नेबित्तिकै नाक खुम्च्याउनेहरूलाई अक्सिजन उपहार !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

असरफ फायदानलाई साउदी अरब सरकारले ईश्वरविरोधी कविता लेखेको आरोप लगाएर मृत्युदण्ड दिएको थियो। यो लेख लेख्दै गर्दा धेरै पहिले समाजिक सञ्जालमा पुरुषोत्तम खतिवडा नामका प्रयोगकर्ताले लेखेको एउटा कविताको याद आयो। जुन कविता ईश्वरविरोधी त थिएन तर कता-कता जीवनविरोधी भने पक्कै थियो। 

सदरमुकाम धाएँ,


Advertisement

नागरिकता पाएँ,

पासपोर्ट बनाएँ,

'दलाल'कोमा धाएँ,

काठमाडौं आएँ,

म्यानपावर धाएँ,

ऋण कमाएँ,

अनि मरुभूमि आएँ,

देश गुमाएँ,

दाजुभाइ गुमाएँ,

साथी गुमाएँ,

जवानी गुमाएँ,

उनको साथ गुमाएँ,

अन्त्यमा,

केही 'नोट कमाएँ',

कागजी टुक्राका लागि

मैले पूरै 'जिन्दगी गुमाएँ' ।

आखिर खै त मैले के पाएँ ?

आफ्नै जीवनको विरोध गरेरै सही, मास्टर डिग्रीले भन्दा अरबको नब्बे डिग्रीले देशलाई पालेको, धानेको, बचाएको अनि सघाएको छ । तर रेमिट्यान्सले धानेको देशको उपमा पाएको यो राज्यका मेहनती नौजवानहरूले राज्यबाट एकथान नागरिकताबाहेक केही पाएनन्। नागरिकस्तरबाट सम्मान पनि खासै पाएका छैनन् ।

अरू कुरा किन गर्नु, विमानस्थलका कर्मचारीहरूले समेत युरोप-अमेरिका जाने र मध्यपूर्व अरब जाने नेपालीहरूलाई फरक व्यवहार गरेको प्रस्टै देखिन्छ ।

कतार जाने नेपालीहरूलाई 'ए त्यो लाइनमा उता नजाऊ, यता हो, यता आ' भनेर झण्डैझण्डै तँ शब्द नै उच्चारण गरेर उसकै घरकै सदस्यलाई जस्तो थर्काएको मेरै कानले सुनेको हो। अमेरिका जानेहरूलाई भने मसिनो वान्की मिलाएको स्वरले हजुर तपाईं र उस्तै परे आइस्योस्, गैस्योस् गरेको मेरै आँखाले देखेको छ । हरियो डाँडाकाँडालाई बिदा मागेर बालुवामा सुन फलाउने हाम्रा महान श्रमजीवीहरूलाई राज्यले नै अपमान गर्छ ।

एउटा प्रहरी रिपोर्ट बनाउन दिनभरी घाममा खडा गराउँछ, दूतावासको गेटमा १० दिन सुतेपनि गाह्रोसाह्रो हेर्दैन, बरु उल्टै म्यानपावरका दलालहरूसँग मिलेर दु:ख दिने, मानसिक तनाव दिने कुकर्म गर्छ । हाम्रा हाकिमहरू तस्कर जस्ता छन्, तस्करहरू हाकिम जस्ता छन् । 

अरबका अस्पतालमा रहेका शवहरू नेपाल ल्याउन राज्य इच्छुक हुँदैन । तर नेताहरू भने अरबबाट आएको आँसु पसिना मिश्रित पैसामा विदेश उपचार गर्न जान लाज मान्दैनन् । 

ओठमा दूध निस्किँदै गरेका कलिला युवा युवतीहरूको हातमा अरबको भिषा थमाइदिए पछि समाजवादी सपना पूरा भएको उनीहरूको ठम्याइ हुन सक्छ । तर यो २१ औं शताब्दीको सबैभन्दा ठूलो मानव अपराध हो ।

दासप्रथाको आधुनिकीकरण हो। युवाको सपना बेचेर राज्य चिल्ला गाडी किनिरहेछ, चुनावको मनोनयन दर्ता गर्न जाँदा हेलिकप्टरमा उठिरहेछ। हरेक काम गिनिजबूकमा लेख्न लायक जस्तै गरिरहेछ । अनौठो- अनौठो रेकर्ड राखिरहेको छ। अक्सिजन खरिदमा कमिसनको खेल चल्दैछ । संसारमा यो भन्दा आश्चर्यजनक कुरा अरू केही हुन सक्दैन। 

खैर, पीडा जेसुकै होस् संकटको घडीमा भने तिनै अरबमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सदैव काम लाग्ने गरेका छन् । युरोप अमेरिकातिर बस्नेहरू रमिता हेरेर बस्दै गर्दा अरबमा रहनेहरू पीडामा मलम लगाउन सधैँ आतुर रहेको पाइन्छ ।

जस्तो कि भूकम्पको बेलामा पनि मध्यपूर्वमा रहेका नेपालीहरूको धेरै योगदान रहेको थियो।

धुर्मुस-सुन्तलीलाई रंगशाला बनाउन होस् वा कर्णालीतिर अस्पताल, सदैव अरबको सहयोग प्रधान देखिएको छ ।

हालसालै कोरोनाको यो महामारीमा अक्सिजन समेत अरबले नै पठाएर फेरि एकपटक देशप्रेमको परिभाषालाई पुनर्जीवित गरेका छन्।

अरब भन्नेबित्तिकै नाक खुम्च्याउनेलाई अक्सिजनको उपचार मिलेको छ । संकटको यस अवस्थामा आफ्नो छाक काटेर मध्यपूर्वी मुलुकमा रहेका श्रमजीवी नेपालीहरूले ६०० थानभन्दा बढी अक्सिजन सिलिन्डर स्वदेश पठाएका छन् । पहलकदमीका लागि ओमानको एनआरएन र दूतावास धन्यवादका लागि सर्वथा योग्य छन् । 

एउटा अण्डा चोर्दैमा कुखुरालाई फरक पर्दैन भने जस्तै अरबमा नेपाली दाजुभाइहरूको दु:ख बेदनाले राज्यलाई फरक पर्दैन होला, किनकी सरकारका सन्ततीहरूको गन्तव्यस्थल यो हैन । 

'सवा अरब की ताकत है जो सवा अरब का मान है, इस धरती पर वह केवल धरतीपुत्र किसान है।' भारतीय कवि सन्तलाल सिंहको कविता जस्तै हाम्रो नाम मात्रको कृषिप्रधान देशको धरतीपुत्र मध्यपूर्व खाडी मुलुकमा रहेका श्रमजीवीहरू हुन् । परिवारसहित युरोप अमेरिकाको राहदानी लिएर बसेकाहरूलाई देशको माया अलिकति कमै हुन्छ कि क्या हो भन्ने परेको छ । 

विदेशमा बसेर धेरै नभुक भन्नेहरूलाई अरबका श्रमजीवीहरूले अक्सिजन पठाइदिएका छन्। शायद यो कुराभन्दा देशमा बसिरहेका महान राष्ट्रवादीहरूको चित्त दुख्न सक्छ। अरबका दाजुभाइहरूले यो संकटमा नेपालमा अक्सिजन पठाउँदा पश्चिम दिशातिर कोट पाइन्ट लगाएर, साडी घुमाएर उडिरहने सर मेडमहरूको पनि चित्त बुझेको त छैन होला ।

तर यो कुरा साँचो कुरा हो कि जति अरबमा रहेका नेपालीहरूलाई देशको माया छ, त्यति अरूलाई छैन । मैलै यो अमूर्त कुरा गरेर मानवीय संवेदनाको छिनोफानो गरेको, ज्योतिषी बनेको त पक्कै हैन। तर घटनाक्रमहरूले, तथ्यहरूले यहीँ देखाउँछ । किनकी देशको हालत यतिखेर सारै नै खराब छ।

भूकम्पको समयमा युरोप र अमेरिकाका धेरै अभियान्ताहरूले सहयोग अभियान चलाएर त्यो पैसा नेपाल नपठाई मिलिभगतमा रेस्टुरेन्ट किनेका थिए रे भन्ने सुनिन्छ । अहिले त त्यसो गर्न पनि गाह्रो छ । लकडाउन छ । शायद यही कारणले पनि पश्चिमतिर परोपकारी अभियान नचलेको हुन सक्छ । तर बैंकको जमानामा यसो हुन त नपर्ने हो ।

भियतनाम युद्धमा अमेरिकाले २५० मि.वर्ग क्षेत्रभित्र जीव नबाँच्ने गरि अक्सिजन खिच्न सक्ने 'डिफोलिएज बम' प्रहार गरेको थियो । कोरोनाभाइरस बम त हैन तर बमभन्दा पनि खतरनाक बनेर विश्वभरी नै अक्सिजनको अभाव बनाइदिएको छ । यस्तो लाग्छ यो एक प्रकारको प्राकृतिक निर्मित जैविक बम हो । र अक्सिजन खिचिरहेछ ।

नेपालको हालत एकदमै खराब रहेको, विश्व स्वास्थ्य संघले घोषणा गरेको छ । सरकारले यो वा त्यो बाहनामा सहयोगको अपिल पनि गरेको छ।

‘मेरो बिरामीले अक्सिजन नपाएर अस्पतालमा मृत्यु भएमा जवाफदेही कोही पनि हुने छैन,’ भन्ने पत्रमा मृत्युको कबुलियतनामा गर्नु परेको छ । विगतमा यस्तो कबुलियतनामा मेजर अपरेसनहरूमा हुन्थ्यो। अक्सिजन नभएका कारण हामी बिरामी उपचार गर्न सक्दैनौं भन्ने अस्पतालको आत्मसमर्पणवादी सूचना जारी हुँदै आएको छ। नेपालको हेल्थ सिस्टम कोल्याप्स भयो भन्दै डाक्टरहरू रुवाबासी गर्न थालेका छन्। 

यस्तो त्राहीमामको अवस्थामा पनि कुनै कमनसेन्सको प्रयोग नगरी रुखले मान्छेलाई कार्बनडाइक्साइड दिने र मान्छेले रुख बिरुवालाई अक्सिजन दिने दाबी गरेका नेपालका प्रख्यात वैज्ञानिक एवं वनमन्त्री 'डा.' प्रेम आलेले पशुपति आर्यघाटमा दाउराको अभाव हुन नदिन आदेश दिएका छन् । उनको आदेशले ३ करोड नेपाली जनताको मानसपटलमा बिजुलीको झट्का लागेको छ । हुन त उनी मन्त्री हुन्, काठ सम्बन्धी । विभागीय कुरो नै बताएका होलान् ।

दोलखाको भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आएका कारण यो देश अझै ठूलो अस्थीरता र अनिष्टको भूमरीमा फस्ने ज्योतिषीहरूले अनुमान गरेपनि प्रधानमन्त्री केपी ओलीज्यूलाई त्यसको कुनै प्रभाव छैन । कम्तिमा ७० वर्ष नेपालीको औसत आयु तोकिएको छ, तर प्रधानमन्त्रीले खै किन हो नेपालीहरूको इम्यून सिस्टम एकदम राम्रो छ भन्दै आएका छन् ।

उनको नजरमा बेडको पनि कुनै अभाव छैन । अक्सिजन प्रयाप्त छ । चारैतिर रामराज्य छ ।

यस्तो संकटको घडीमा युरोप अमेरिका लगायत कैयौं विकसित देशमा बस्ने नेपाली संघ-संस्थाहरूले आजको मितिसम्म रमिता हेरेर बसेका छन् । हामीले पत्रिकामा धनाढ्य भनेर पढ्दै आएकाहरू शायद यतिखेर गुप्तवासमा छन् । कतारमा काम गर्ने श्रमजीवीले एक महिनाको पूरै तलब सहयोग गरेका छन् । धन हुनेको मन हुँदैन भन्ने उखान यहाँनेर परिभाषा भएको छ।

यो संकटको घडीमा मैले देशहरूको तुलना गर्न यो लेखेको हैन, तर मानिसहरूको मानसिकताबारे पनि संकटको बेलामा थाहा हुने रहेछ । अरब नाम सुन्नेबित्तिकै नाक खुम्चाउनेहरूलाई अक्सिजन उपहार दिएका छन् । यो मानिसका लागि दिन सकिने सबैभन्दा मूल्यवान उपहार हो । व्याख्या गर्नतिर लाग्दिनँ । 

अरबमा नक्कली म्यानपावरहरूको जालझेलले धेरै नेपालीले दु:ख पाएका छन् । उनीहरू दुर्घटनामा परे नेपाल शव ल्याउन निकै गाह्रो हुन्छ, तर सरकार केही गर्दैन। 

देशमा सुझबुझ नभएको गलत नेतृत्वले गर्दा उनीहरूले धेरै दु:ख पाएका छन्। अरबमा लाखौँ नेपाली रगतसरी'आँसु' र 'पसिना' बगाइरहेका छन्, त्यसमा राज्यको चिन्ता छैन । शासकहरूले, जनताहरूले अब आफ्नो सोच बदल्नुपर्ने बेला आएको छ । अरबका श्रमजीवीहरूको हकहितका लागि कानून बनाउने बेला आएको छ । 

विदेशमा मृत्यु भएका नेपाली जनताको लाससँगै साटिएको रेमिट्यान्स खर्च गरेर नेताहरूले आफ्नो उपचार गर्छन् । नेताले विदेशमै उपचार गराउने भए राष्ट्रको ढुकुटीबाट नभई आफ्नै निजी खर्चले गर्नुपर्ने थियो। तर यस्तो कुरा त भालुलाई पुराण सुनाए जस्तो हुन्छ। तर पनि अरबका श्रमजीविहरूले नेतादेखि केटासम्म सबैको रहर पूरा गरिदिएकै छन् । 

जीविका चलाउन अरबको मरुभूमि र मलायाको जंगल जानुपर्ने बाध्यता देशलाई फाइदाजनक भएपनि नौजवानहरूलाई धोका जस्तो भएको छ । यसबारे गरीबका लागि संघर्ष गरेको भनेका हाम्रा नेताजीहरूले कहिले सोच्ने ?

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्