०९ असार २०८३, मंगलबार
लकडाउन डायरी - भाग ४

विमल केडियाको लकडाउन डायरी: घरमा बस्दा फुर्सद हुन्छ भन्छन्, तर मैले त समय नै पाएको छैन !

विमल केडियाको लकडाउन डायरी: घरमा बस्दा फुर्सद हुन्छ भन्छन्, तर मैले त समय नै पाएको छैन !

‘घरमा बसिरहने भएपछि त अहिले सबैको समय खाली खाली बित्छ भन्ने हामीलाई लाग्छ । तर मैले समय नै पाएको छैन जस्तो महशुस भइरहेको छ,’  प्रतिष्ठित उद्यमी, पूर्व सांसद एवं सामाजिक अभियान्ता विमल केडियाको भनाइ हो यो । निषेधाज्ञाको अहिलेको समय उनले घरमै परिवारसँग बिताइरहेका छन् । 

उनी निषेधाज्ञाको अहिलेको समयमा पनि आफू निकै व्यस्त भएको सुनाउँछन् । उनी भन्छन्, ‘संसारै मेरो हो, मानव जगत नै मेरो हो, हामी सबै जिम्मेवार हुनुपर्छ भन्ने कुरा मनमा आएपछि सबैलाई सुरक्षित बनाउन लागिन्छ । म यसमै केन्द्रित भएर विभिन्न किसिमका कामहरू गरिरहेको छु ।’

प्रस्तुत छ, लकडाउन डायरीका लागि प्रतिष्ठित उद्यमी एवं पूर्व सांसद विमल केडियासँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

म निषेधाज्ञाको अवधिमा घरमा नै बसिरहेको छु । कोरोना महामारीको न्यूनीकरण तथा रोकथामका लागि घरमा बस्ने वा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नु नै महत्त्वपूर्ण कुरा हो, हामी सबैका लागि । त्यसैले पनि यस समयमा म बाहिर निस्किएको छैन । स्वयं पनि अनुशासित भएर समाजलाई अनुशासित बनाउनेतर्फ म घरबाटै अग्रसर भएको छु ।   

घरमा बसिरहने भएपछि त अहिले सबैको समय खालीखाली बित्छ भन्ने हामीलाई लाग्छ, तर मैले समय नै पाएको छैन जस्तो महशुस भइरहेको छ ।

संसारै मेरो हो, मानव जगत नै मेरो हो, हामी सबै जिम्मेवार हुनुपर्छ भन्ने कुरा मनमा आएपछि सबैलाई सुरक्षित बनाउन लागिन्छ । म यसमै केन्द्रित भएर म विभिन्न किसिमका कामहरू गरिरहेको छु । 

घरमै बसेको अहिलेको अहिलेको समयमा मैले आफ्नो स्वास्थ्य, मन र चिन्तनलाई पवित्र, व्यवस्थित र सकारात्मक बनाउनका लागि जेजे आवश्यक पर्छ, खानपानका विधिदेखि योगध्यानका विधिहरू समेतमा आफूलाई इन्गेज गराइरहेको छु । तन र मनलाई सन्तुलित बनाएर राखिरहेको छु ।

योग, ध्यान, प्रणायाममा मेरो रुचि पहिलेदेखि नै थियो । तर निषेधाज्ञामा मैले यसलाई अझै गहिरो गरी बुझ्ने अवसर पाएँ । अहिले मैले दैनिक बिहान–बिहान आधा घन्टा र साँझ आधा घन्टा ध्यान गर्ने गरेको छु । घरमै छु र ध्यान आवश्यक हो भन्ने चिन्तन छ, यसले झन् सहज बनायो ।  

निषेधाज्ञाअगाडि मैले जति खुलेर परिवारलाई समय दिन सक्नुपथ्र्यो, त्यति दिन सकेको थिइनँ । तर अहिले यस बीचमा मैले परिवारको महत्त्व कति हुन्छ भन्ने कुरा झन् गहिराइमा बुझ्न पाएको छु । परिवारमा बसेपछि ससाना कुराहरूमा पनि रमाउन सक्नुपर्छ भन्ने लाग्छ । 

मेरो झुकाव प्रकृति, अध्यात्म तथा सामाजिक गतिविधितिर अलि बढी छ । चलचित्र हेर्ने, केही सामान्य खेल खेल्ने, गीत सुन्ने जस्ता विषयमा म समय बिताउँछु । 

खेलकै कुरा गर्दा म कटान खेल खेल्न रुचाउँछु । यो मलाई निकै रमाइलो लाग्छ । संयोगले हामी चारजना म, श्रीमती, छोरा र छोरीले नै खेल्छौं यो ।

एउटा रमाइलो माहोल सिर्जना हुन्छ खेल्दा । समय मिल्दा म चलचित्रहरू पनि हेर्ने गर्छु । मैले अस्तिमात्रै हिन्दी चलचित्र ‘गुरु’ हेरें । धेरै पहिले हेरेको थिएँ, यसलाई फेरि हेर्न मन लाग्यो । धिरुभाई अम्बानीको जीवनीमा बनाइएको चलचित्र हो यो । उहाँ कसरी अगाडि बढ्नुभयो, कस्ता कस्ता अप्ठ्यारा आए भन्ने कुरा देखाइएको छ यस चलचित्रमा । मलाई यो चलचित्र मन पर्छ पनि ।

एउटा कुरा भन्न मन लाग्यो, यतिखेर हामी शोकमा छौं । केडिया अर्गानाइजेसनकै २ जना सदस्य कोरोना संक्रमणकै कारण (मेरा आफ्नै काका र अर्को काकाका नाति) हामीले गुमाउनुपर्‍यो । हामी अहिले पीडामा त छौं, तर पीडाबाट बाहिर निस्कन केही गतिविधिमा संलग्न हुनुपर्छ भनेर हामी अहिले दुःखद् पक्ष भुल्ने प्रयास गरिरहेका छौं ।  

यसका साथसाथै पुस्तक पनि पढ्न सकिन्थ्यो । तर मोटामोटा पुस्तक देखेपछि मलाई त्यो पढेर कहिले सकिएला र भन्ने जस्तो लाग्छ, एकातिर व्यस्त जीवन, अर्कातिर त्यति धेरै शोख नभएको जस्तो लाग्छ मलाई पुस्तक पढ्न ।

पुस्तक पढ्नु राम्रो पक्ष हो, त्यसलाई मैले आत्मसाथ गर्न सकिनँ । तर इन्टरनेटमा गएर मैले जलवायु परिवर्तनदेखि हरेक किसिमका कुराहरूमा के गर्न सकिन्छ ? यस्ता कुराहरूमा मैले व्यापक अध्ययनहरू थालेको छु । यो मेरो इन्ट्रेस्टकै विषय पनि रहेको छ । 

एउटा रमाइलो कुरा अहिले परिवारमा चल्न थालेको छ । मैले आजसम्म पकाउने काम जानेको छैन र गरेको पनि छैन । तर ठट्टाठट्टामा श्रीमतीले कहिलेकाहीँ त केही पकाउनुपर्‍यो, केही बनाइदिनुपर्‍यो तपाईंले भन्छिन् । हाम्रोमा स्टाफ पनि छन्  । श्रीमती र छोरीले पनि मिलेर गरिरहेका छन् । अब मैले पनि जानेको छु, मैले पनि बनाउँछु है भन्नका लागि पनि पकाउन सिक्छु भन्ने सोच छ । निषेधाज्ञाले मलाई पकाउन पनि सिकाउँछ जस्तो छ ।

अहिले एउटा चुनौती थपिएको छ । यो मेरो लागि वा मेरो परिवारको लागि मात्र हैन सबैको लागि हो । साधारण समयमा पनि मोबाइल र इन्टरनेटको प्रयोग बढी हुने गरेको थियो । अहिले पनि त्यस्तै पाएको छु । मेरो कुरा गर्ने हो भने, मैले मोबाइल तथा इन्टरनेट एकदम सदुपयोग गरेको छु । इन्टरनेटमा नमस्ते, गुड मर्निङ जस्ता कुराहरू गरेर नै समय बित्ने भएकाले मैले यस्ता कुराहरू निषेध नै गरेको छु । 

यही बीचमा मैले २/३ वटा ग्रुप बनाएको छु । जुन ग्रुप सकारात्मक व्यक्तित्वहरूको हो । मुलुकलाई सही सल्लाह दिँदै हरेक क्षेत्रमा सेवा कसरी पुर्‍याउने र सेवा पाउन सहज कसरी बनाउने भन्ने विषयमा काम गर्छौं । 

कोरोनाबाट हामीले केही पाठ सिक्नुपर्ने देखिन्छ । भौतिक र अभौतिक दुवै रूपमा नै हामी बलियो बन्नुपर्ने हुन्छ । भनिन्छ नि, बलियो मान्छे कमजोर मन भयो भने ढलिन्छ तर कमजोर मान्छे बलियो मन भयो भने पनि अगाडि बढिन्छ । त्यसकारण तन र मनलाई नै बलियो बनाउनुपर्छ । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने तथा आफ्नो सरसफाइमा बढी ख्याल गर्नुपर्ने हुन्छ ।

यस्तै खानपान तथा शारीरिक अभ्यासमा विषेश ध्यान तथा अनुशासन कायम राख्नुपर्ने रहेछ । यो मैले सिकेको कुरा हो र अरूले पनि यो सिक्नुपर्छ जस्तो लाग्छ । 


salt training

कमेन्ट गर्नुहोस्