महामारीमा स्वास्थ्य सचेतना : आफ्नो जीवनशैलीलाई यसरी बनाउनुस् स्वस्थ

  • चेतनारायण पौडेल

Advertisement

बन्दाबन्दीमा घरमै बसिरहेको समयमा आफन्त, साथीभाइ र प्रियजनहरूको कोभिडकै कारण दु:खद् निधन भएका खबरहरूले त आहत बनाएकै थिए, त्यसैमा एउटा गैरकोभिडको पीडादायी घटना घट्यो । जेठ १८ गते बेलुकीपख बाग्लुङ, निसीखोला-५ झिम्पाका चेतराम पौडेल (मेरी आमाका मावली भाइ) मामालाई बेहोश भएर अस्पताल पुर्‍याइएको खबर आयो ।


Advertisement

शुरूमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाले निको भैहाल्ला भन्ने सोचिनु स्वाभाविकै थियो । कोभिडको बन्दाबन्दीले अस्पताल पुगिहाल्न पनि सहज थिएन । हिजो बिहान उहाँलाई मस्तिष्क घात भएको जानकारी भयो । अस्पताल पुर्‍याइएको लगभग २४ घण्टामा उहाँलाई हिजो साँझपख मृत घोषित गरियो । नातामा मामा भए पनि उमेरमा मभन्दा ४-५ वर्ष कान्छै हुनुहुन्थ्यो । २०४४-४५ सालदेखि काठमाडौंलाई नै कर्मथलो बनाउनुभएकाले हाम्रो निरन्तर भेट भइरहन्थ्यो । नाममा झुक्किएर उहाँलाई चेतनारायण र मलाई चेतराम सम्झनेहरूको पनि कमी थिएन । भेटमा अरूअरू कुरा हुन्थे तर केही स्वास्थ्य समस्या भएन/भएको कुरा हुँदैन्थ्यो । जिउडाल अलि बाक्लै हो, हजुरबा’को पनि त्यस्तै थियो । उहाँका दाजुले भेन्टिलेटर हटाउन मञ्जुरी दिनुभएको कागज हेरेपछि म स्तब्ध भएँ । withdrawl concent भनेर लेखाइएको कागजले उहाँको देहावसान भइसकेको जनाउ मात्र दिएको छैन, उहाँलाई ब्रेन ह्यामरेज (मस्तिष्कघात) भएर जीवन गुमेको कुरा पनि उल्लेख छ । अचानक हाम्रो अब भेट नहुने भयो ।

त्यसपछि मैले यही रोगबारे धेरै बेर मनन् गरेर बिताएँ । राति खासै निन्द्रा लागेन । म आफैं पनि कोलोस्ट्रोलका समस्यामा एकपटक परेको थिएँ । बिहान यसैबारे नेटतिर एकछिन घोत्लिएँ । नेपाली भाषामै पनि सामग्रीहरू पाइने रहेछन् । यो लेखको म विज्ञ होइन, टिपनटापन हो । तर, पाठकलाई उपयोगी नै हुने ठानेर यत्तिको मेहनत गरेको छु । एकजनाले मात्रै पनि यसलाई पढेर जोखिमबाट बँच्नुभयो भने मेरा मामाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।


Advertisement

यस्ता व्यक्तिलाई हुनसक्छ मस्तिष्क घात भनेर तयार गरिएको एउटा सामग्रीले मलाई तान्यो । त्यसमा नेपालमा गरिएको एक अध्ययनका अनुसार हरेक वर्ष कुल जनसङ्ख्याको डेढदेखि दुई प्रतिशत मानिसलाई मस्तिष्कघात हुने गरेको उल्लेख छ । तीमध्ये एक तिहाइको मृत्यु, एक तिहाइ अपाङ्ग जीवन बिताउन बाध्य छन् भने एक तिहाइ समयमा उपचार पाएको खण्डमा सक्रिय जीवनमा फर्कन सक्छन् भनिएको छ ।

सामान्य भाषामा भन्ने हो भने घात भनेको ड्यामेज हुनु हो । तर मस्तिष्कघात चोटपटक लागेर भएको घात होइन । हाम्रो शरीरमा रक्तनलीहरू रहेका छन् । मुटुले रक्तनलीबाट शरीरको सबै भागमा रगतको माध्यमबाट खानेकुराहरू पुर्‍याइरहेको हुन्छ । रक्तनली ब्लक भयो भने हाम्रो ब्रेन ब्लक हुन्छ ।  मुटुको रक्तनली ब्लक भयो भने हृदयाघात भनिन्छ भने त्यही कुरा ब्रेनमा भयो भने मस्तिष्कको घात भनिन्छ । ब्रेनमा अर्को पनि एउटा तरिकाबाट मस्तिष्को घात हुन्छ; रक्तनली कहिलेकाहीँ फुट्छ, मामाको यही भयो । मुटुमा रक्तनली फुट्ने सम्भावना खासै हुँदैन ।

मस्तिष्कघात भएका अधिकांश बिरामीलाई पक्षघात पनि हुने हुँदा यो रोगलाई पक्षघात, प्यारालाइसिस, लकुवा जस्ता नामले पनि सम्बोधन गरिन्छ। जेहोस् मस्तिष्कमा रक्त प्रवाहमा अवरोध भएपछि उत्पन्न हुने समस्या मस्तिष्कघात हो । रगत प्रवाह रोकिनेबित्तिकै मस्तिष्कका कोशिकाहरूमा अक्सिजन प्रवाह हुन सक्दैन र मस्तिष्कका तन्तुहरू मर्न थाल्छन् । समयमै उपचार गरिएन भने बिरामीको मृत्यु हुने गर्छ भनिन्छ तर मस्तिष्कमा आघात भइसक्यो भने यो पीडादायी नै हुने डेटा रहेछ, अर्थात् मृत्यु बरू सहज रहेछ । मस्तिष्कघात जीवनमा अप्रत्याशित रुपमा हुने र तत्कालै ज्यान जान सक्ने समस्या हो । समयमै उपचार पाएकाहरू सामान्य जीवनमा फर्कन सके पनि ढिलो गरी उपचारमा पुग्नेहरूमा शरीरको कुनै भागमा खोट रहने या पक्षघातजस्तो समस्याले सताउने भएकाले अरुको भरमा बाँच्नुपर्ने अवस्था आइरहेको छ ।
 

रक्तनली फुट्ने कारण :  ब्लड प्रेसर हाई छ भने रगत नली जतिखेर पनि बम जस्तै फुट्न सक्छ, कसैको जन्मजात रक्तनली ठाउँठाउँमा कमजोर हुन्छ । कसैको पहिला रगत बाक्लो थियो भने पछि पातलो हुने हुन्छ । जस्तै पहिला मस्तिष्कको घात भएको बिरामीले औषधि प्रयोगबाट रगत पातलो बनाइरहेको हुन्छ, त्यस्ता मान्छेहरूको रगत धेरै पालतो भएको कारण ब्रेनमा समस्या हुनसक्छ । चिकित्सकीय हिसाबमा मस्तिष्क घातलाई दुई भागमा विभाजन गरिएको रहेछ । रगतका नशा बन्द भएर हुने मस्तिष्कघातलाई इन्फेक्सन र रगतका नशा फुटेर हुनेलाई ब्रेन ह्यामरेज भनिंदो रहेछ ।
 

रगतका नशा बन्द भएर हुने मस्तिष्कघात : अधिकांश व्यक्तिहरूमा यो समस्या अस्वस्थकर जीवनशैलीका कारण नै निम्तिने समस्या रहेछ । यो समस्या आएको व्यक्ति काम गर्दागर्दै ढल्छ । धुमपान, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक तनाव, बढी चिल्लो नुनिलो र तारेको खानेकुराको प्रयोग, व्यायाम नगर्नेहरूमा यो रोग लाग्ने सम्भावना अत्यधिक हुने रहेछ । रगतको नशामा चिल्लो पदार्थ तथा बोसो जमेपछि मस्तिष्कसम्म पुग्ने रक्तप्रवाहमा अवरोध भई  मस्तिष्कघात हुन पुग्दोरहेछ ।

रगतका नशा फुटेर हुने ब्रेन ह्यामरेज : नशा फुटेर हुने एट्याकको प्रमुख कारण ब्लडप्रेसरको औषधिमा गरिने लापरबाही नै रहेछ । यस्तो समस्या विशेषगरी युवामा देखिने गरेको पाइन्छ । हृदयाघातभन्दा ब्रेन एट्याक झन् बढी खतरनाक समस्या मानिने रहेछ । हृदयाघातको समयमै अस्पताल पुर्‍याएर उपचार गर्न सकियो भने मानिस पुरानै अवस्थाको जीवन बाँच्न सक्ने तर ब्रेन एट्याकमा शल्यक्रियापछि पनि पुरानै अवस्थामा फर्किन नसकिने र केही न केही खोट भएको जीवन बिताउनुपर्ने हुँदो रहेछ । ब्रेन एट्याकमा शरीरको निश्चित पाटो कमजोर रहने सम्भावना रहिरहन्छ । ब्रेन एट्याकले प्यारालाइसिसको सम्भावना समेत बढी हुन्छ । ब्रेन एट्याक भएकाहरूमा मुख बांगो हुने, हातगोडा नचल्ने, आँखा देख्न नसक्ने, बोल्न नसक्ने जस्ता समस्या देखिने रहेछ ।

मस्तिष्कघात हुँदा ५० प्रतिशत मानिसको मृत्यु तुरून्तै हुँदोरहेछ भने ५० प्रतिशत अस्पताल आइपुग्दा रहेछन् । अस्पताल आइपुगेकामध्ये ५० प्रतिशतलाई बचाउन सकिने रहेछ । यो संख्या कूल ब्रेन एट्याक हुने सख्याको २५ प्रतिशत भयो । बाँच्न सफल भएकाहरूको पनि ५० प्रतिशत कुनै भाग वा पाटो प्यारालाइसिस (पक्षघात) हुने नै रहेछ । यो ब्रेन एट्याक क्यान्सर र मुटुरोगपछि मृत्युको तेस्रो ठूलो कारण हो भनिन्छ । गरीब देशमा ब्रेन एट्याकको प्रमुख कारण अस्वथकर जीवनशैली नै रहेछ । ब्लडप्रेसर भएका ३० देखि ३५ प्रतिशतलाई ब्रेन एट्याक हुनसक्दो रहेछ ।

यस मामलामा मेरो आफ्नै अनुभव पनि छ । २१-२२ वर्षजति पहिलाको कुरा हो, मेरो भाइ गणेशलाई अचानक मधुमेह भयो । ऊ मभन्दा साढे ७ वर्ष कान्छो हो । उसको उमेर २८ वा २९ हुँदा मधुमेह । शुरूमा हामीलाई ज्ञान नै थिएन । उसको रोगको निदान र उपचारका सिलसिलामा हामीलाई हाम्रो खानेशैली अस्वस्थकर छ भन्ने जानकारी भएको हो ।  त्यतिखेर  धेरै खान सक्नु वा मानिसलाई बाहुबलले कायम बनाउन सक्नुलाई बडो गर्वको विषय मानिन्थ्यो । म ८६ केजी तौलको थिएँ भने भाइ ९० केजी तौलको थियो । म १६६ सेन्टिमिटर उचाइको हुँ भनें ऊ१७३ जति होला । पोहोरसम्ममा मैले घटाएर ७० बनाएको थिएँ लकडाउनले अहिले ७१-७२ पुगेको छ; भाइलाई बाल्टिमोरमा फोन गरी सोधेको ७५ केजी भएको रहेछ । औषधि त छोडेकै छैन तर, ऊ पूर्ण स्वस्थ छ ।

अब तौल कसरी घटाइयो भन्ने कुरा चाखलाग्दो छ । जीवनशैली पूरै परिवर्तन भन्दा फरक पर्दैन । शुरूमा बिस्तारै शाकाहार अपनाइयो । ४-५ महिनापछि म पूरै शाकाहारी बनें । यो मैले ६ वर्षसम्म निरन्तर कायम राखें । त्यसपछि म माछातिर लागेको छु । घिउतेलमा नियन्त्रण र मरमसलामा औषधीय प्रयोगसम्ममा सीमित भइयो । हामी त अभ्यस्त भयौं, आउनेजाने पाहुनाहरू पनि प्रभावित भएको कुरा अरूले त किन भन्थे र मेरै दाजुको छोरा किरणले जुन अनुभव बतायो त्यो उसकै शब्दमा –

“कुरो वि.सं २०६८ सालतिरको हो, । म २६ वर्षको, पेशाले शिक्षक, देविस्थान उच्च मा.वि.को प्रधानाध्यापकसमेत थिएँ । म ५ फिट ९ इन्च उचाईको मानिस मोटै थिएँ । एक दिन तौल लिँदा १०० के.जी. पुगेछु । म खुसीले गदगद् भएँ । मेरो उचाई र उमेर अनुसार सबैभन्दा धेरै तौल भएको मानिस मै भनेर साथीहरूलाई खुशियाली बाँड्न १ दिनको खाजा मेरो तर्फबाट खुवाएँ । खानामा सधैँ घिउ, चिल्लो तरकारी, मरमसला, मासु टन्न हुन्थ्यो । त्यही बानी नियमित परिसकेको थियो । वि..२०६८ माघ महिनातिर मेरी श्रीमती बिरामी भएर बागलुङबाट काठमाडौं गएको थिएँ । काठमाडौंमा मेरो अङ्कल चेतनारायण पौडेलको घर भएकाले त्यहीँ बसी उपचार गर्ने नै भइयो । बस्न सुत्न आनन्दै थियो । तर खानेकुरा चाहीँ अचम्मैको लाग्यो । चिया रातो, त्यही पनि चिनी कम भएको, तरकारीमा चिल्लोको मात्रा निक्कै कम, मरमसला केही छैन । हामी त घरमा पाहुना आउदा घिउ सोध्यौं, मासु ल्याउथ्यौँ, अत्तोपत्तो केही छैन । बल्ल बल्ल ८/१० छाक टारेँ  । यता गाउँतिर उहाँलाई ‘१ धार्नी मासु एक्लै खान्थ्यो, एक माना घिउ एक्लै पचाउथ्यो’ भन्ने  सुनेको थिएँ, फेरि पैसाको कमी पनि होइन । किन यति छुच्चा रहेछन् भन्ने सोचें, तर भन्नचाहिँ केही भनिनँ । जसोतसो दिन कटाएर फर्किएँ र टन्न चिल्लो चाप्लो खाएँ । ४/५ वर्षपछि शरिर अझैँ बढ्यो कपडा बजारमै नपाइने भयो । साथै एकैछिन हिँड्न पनि नसकिने भैयो । तब तौल घटाउनुपर्ने ज्ञान भयो । उपायहरू खोज्दै विभिन्न पुस्तकमा पढेँ, युट्युब हेरेँ, जिममा भर्ना भएँ । १०२ के.जी.तौललाई अहिले ८२ के.जी.मा झारेको छु, खानपानको पनि ज्ञान भयो । ४/५ वर्ष अगाडि काठमाडौंमा अङ्कलकोमा बस्दाको याद आयो । यतिखेर मेरो खानपान त्यस्तै भइसकेको छ । अङ्कललाई हेर्ने दृष्टिकोण पनि बदलें । एकदिन म पुन: काठमाडौं गएँ र अंकलकोमा बसें, मेरो खानपान मिल्यो । अनि ४/५ वर्ष अगाडिको घटना उहाँलाई सुनाएँ, मलाई खाना सारै नमीठो भएको र तपाईंलाई साह्रै छुच्चो स्वभावको सम्झेको भनेर सुनाएँ: हामी मज्जाले हाँस्यौं । अहिले मलाई थाहा भयो, उहाँ त्यतिखेर नै स्वास्थ्यका लागि धेरै सचेत भइसकेको हुनुहुँदो रहेछ ।"

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष एक करोड ५० लाख मानिस मस्तिष्कघातको शिकार हुन्छन् । जसमध्ये ५० लाख मानिसको मृत्यु हुने गरेको छ । ५० लाखभन्दा बढी पक्षघातका कारण शरीरको एउटा वा त्योभन्दा बढी भाग चलाउन नसक्ने अवस्थामा पुगेका छन् । तथ्यांकअनुसार बाँकी रहेका ५० लाखमध्ये १५ लाखभन्दा बढी उपचारपश्चात सामान्य जीवनमा फर्कन सफल भएका छन् । यस्तै, ३५ लाख हाराहारीका बिरामी भने सामान्य विकलांगताका साथ बाँचिरहेका छन् ।

सामान्यतया मस्तिष्कघातले एकै पटक मानिसलाई आक्रमण गर्छ । तर, त्यो भन्दा पहिला मानिसले केही समय एउटा आँखा देख्न छाड्छ र केही समयपछि फेरि देख्ने हुन्छ । त्यसैगरी केही समयका लागि एउटा पाटो नचल्ने हुन्छ र क्रमशः फेरि चल्न थाल्छ । केही समयसम्म यस्तो प्रक्रिया दोहोरिरहन्छ भने त्यो ब्रेन एट्याकको स्पष्ट पूर्व संकेत रहेछ । यस्तै अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु, रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखापर्नु, होश हराउनु, एकाएक दृष्टि धमिलो हुनु, बोली लटपटिनु वा बोल्न नसक्नु, वान्ता हुनु, बेहोस हुनु, प्यारालाइसिस हुनु मस्तिष्कघातका लक्षण हुन् ।

सावधानी : ४० वर्ष उमेर पुगेपछि नियमित रक्तचाप, मधुमेह, कोलेस्टेरोलको जाँच गराउनु पर्छ । जोखिम भएको पाइएमा जीवनशैली परिवर्तन गर्नुपर्छ । औषधि सेवन गरी यी रोग नियन्त्रित भए पनि आफूखुसी औषधि खान छाड्ने गर्नु भएन । धुमपान, मद्यपान, सूर्ती र नशालु पदार्थ सेवन गर्नुभएन । शरीरको तौललाई आफ्नो कदअनुसार नियन्त्रणमा राख्नुपर्‍यो।  नियमित हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्‍यो । तर जोखिममा परेकाले कठिन व्यायाम गर्नुहुँदैन। खस्रो मोटो खाना, हरियो सागसब्जी, फलफूल, रेसा र चोकरयुक्त भोजनलाई प्रश्रय दिनुपर्‍यो । तेल, घिउ, बोसोजस्ता चिल्लोपदार्थ कम खाने। भिटामिन युक्त पदार्थलाई खानामा अवश्य समावेश गर्ने। तनाव लिनु भएन, विश्राम गर्नुपर्‍यो । जोखिमपूर्ण जीवनशैली र व्यक्तित्व भएकाहरूले जीवनशैली परिवर्तन गर्नुपर्छ । चिसोमा रक्तनलीहरू साँघुरिएर रक्तचाप बढ्न गई मस्तिष्क घातको समस्या ज्यादा देखिने हुँदा चिसोबाट जोगिनुपर्छ । रक्तश्रावसम्बन्धी समस्या, जस्तै– घाउ हुँदा रगत बगेकोबग्यै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरू, गर्भ निरोधक औषधि खाने महिलाहरू, परिवारमा मस्तिष्क घातका इतिहास भएकाहरू, हालसालै अथवा पुरानो मस्तिष्क संक्रमणले ग्रस्त रोगीहरूमा मस्तिष्क घात ज्यादा देखिने हुँदा सावधानी आवस्यक हुन्छ ।

मस्तिष्कघातपछि प्यारालाइसिस भएकाहरूलाई कहिलै पनि निको नहुने सम्झेर घरमा थन्क्याएर राख्न हुँदैन, जतिसक्दो चाँडो पुन:स्थापना केन्द्रमा लगेर उपचार गराउनुपर्छ। केन्द्रमा चिकित्सकहरूले रोगीको सम्पूर्ण अवस्था जाँच गरी मस्तिष्क घातले ल्याएको विकलाङ्गतालाई राम्रोसँग केलाएर त्यसको निवारणका लागि आवश्यक उपचार गर्छन् ।

सचेतनता अपनाई स्वस्थजीवन बाँचौं ।

चेतराम मामाप्रति हार्दिक श्रद्धासुमन !!!

कमेन्ट गर्नुहोस्